arrow

माओवादी शान्ति प्रक्रियामा आएको दश वर्षमा बल्ल सशस्त्र द्धन्द्धमा लुटेका चार सय हतियार बरामद

logo
प्रकाशित २०७३ पुष १४ बिहिबार
weapons.jpeg
काठमाडौं । सुरक्षा निकायले १० वर्षे सशस्त्र द्वन्द्वकालमा माओवादीले ‘लुटेर लगेका’ ४ सय थान हतियार फेला पारेका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछिको १० वर्षको अवधिमा उक्त परिमाणमा हतियार बरामद गरिएका हुन् । 
 
पछिल्लो आठ वर्षको अवधिमा तीनवटै सुरक्षा निकायले सक्रियता बढाएसँगै ती हतियार भेटिन थालेको जनाइएको छ । 
 
सशस्त्र द्वन्द्वका बेला माओवादी लडाकुले ब्यारेक, चौकी, गस्ती टोलीमाथि आक्रमण गरी हतियार खोसेर लगेका थिए । 
 
त्यसरी खोसिएका ३ हजारभन्दा बढी हतियार अझै फेला पर्न नसकेको प्रहरीले जनाएको छ । अन्य हतियार खोला किनार, ओढार, बारी, घर तथा गोठबाट बरामद गरिएको हो ।
 
गृह मन्त्रालयका अनुसार माओवादीले सैनिक ब्यारेक, प्रहरी कार्यालय÷चौकी तथा बैंक सुरक्षार्थ टोलीमाथि आक्रमण गरी ३ हजार ४ सय ६७ थान अत्याधुनिक हतियार लगेका थिए । प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्य विभाग प्रमुख एआईजी केदारप्रकाश साउदले त्यस बेला लुटिएका हतियार खोजी कार्य अगाडि बढाइएको जानकारी दिए । 
 
“अपराध अनुसन्धान तथा नियन्त्रण र सुरक्षा कारबाहीका क्रममा कतिपय स्थानबाट लुटिएका हतियार पनि बरामद गरेका छौं”, एआईजी साउदले भने, “यस्ता हतियार अझै ठूलो संख्यामा सशस्त्र तथा आपराधिक व्यक्ति तथा समूहले अपराधजन्य गतिविधि सञ्चालनका लागि लुकाइराखेको आशंका छ ।”
 
२०६२÷६३ को जनआन्दोलनपछि शान्ति प्रक्रियामा आएसँगै माओवादीले ३ हजार ४ सय ७५ थान हतियार सरकारलाई बुझाएको थियो । त्यसमध्ये अत्याधुनिक हतियार नबुझाएपछि माओवादीको आलोचना भएको थियो । 
 
साउदले संरक्षित वन्यजन्तु तथा यार्सागुम्बा तस्करी, लुटपाट, अपहरण तथा फिरौती असुल, विभिन्न आवरणमा सक्रिय सशस्त्र तथा अर्ध भूमिगत समूहलगायतले त्यस्ता हतियार प्रयोग गर्ने गरेको पाइएको खुलाए । भने, “यी हतियार नियन्त्रणमा नआएसम्म शान्ति–सुरक्षा कायम गर्न चुनौती रहिरहन्छ ।” 
 
सैनिक प्रवक्ता ताराबहादुर कार्कीले द्वन्द्वकालमा लुटिएका हतियारको खोजी जारी रहेको बताए । ती हतियार नभेटिएसम्म सेनाको चासो र चिन्ता कायम रहिरहने प्रवक्ता कार्कीको भनाइ छ । भने, “अन्य सुरक्षा निकायको सक्रियतामा पनि त्यस्ता हतियार फेला परेका छन् ।”
 
जुम्लाको गज्र्याङकोट जंगल तथा नजिकैको खेतबाट सोमबार मात्र प्रहरीले १२ थान एसएलआर, स्वचालित पेस्तोल, रिभल्बर, कटुवा पेस्तोल, म्यागजिन तथा गोलीगठ्ठा बरामद गरेको थियो । 
 
भदौमा पनि जुम्लाबाटै २ थान एसएलआरसहित गोलीगठ्ठा बरामद भएको थियो । २०७० कात्तिकमा प्रहरीले जाजरकोट सदरमुकाम खलंगाबाट ६ थान थ्री नट थ्री, टु–इन्च मोर्टार र ४४ थान एसएलआरसहित अत्याधुनिक हतियार बरामद गरेको थियो ।
 
सशस्त्र द्वन्द्वका बेला माओवादीले अछामको मंगलसेन, सोलुखुम्बुको सल्लेरी, दाङको घोराही, अर्घाखाँचीको सन्धिखर्कलगायत जिल्ला सदरमुकाम, सैनिक ब्यारेक, चौकीलगायतमा आक्रमण गरी हतियार लुटेको सुरक्षा निकायको अभिलेखमा उल्लेख छ । (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ