काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभर मौसम बिग्रिएको छ । पुसको मध्य भइसकेकाले अब दिनानुदिन चिसो बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विगतका तुलनामा हुस्सुसमेत ह्वात्तै बढेको छ । हुस्सुकै कारण बिहीबार काठमाडौं उपत्यकामा चिसो बढेको छ । गत डिसेम्बर ९ तारिखमा यो वर्षकै सर्वाधिक कम तापक्रम ४.४ डिग्री सेन्टिग्रेड मापन गरिएकामा बिहीबार बिहान ४.६ मापन गरिएको मौसम महाशाखाले जनाएको छ ।
मौसमविद् शम्भु श्रेष्ठले अब दैनिक यो क्रम बढ्ने बतााएका छन् । हुस्सुले भिजिबिलिटी कम भएका कारण बिहीबार बिहान जहाजसमेत उड्न सकेनन् । मध्यान्हदेखि समस्या नहुने श्रेष्ठले बताएका छन् ।
बिहीबार मध्य तथा सुदूरपश्चिमका तराई भेकमा दिउँसोदेखि हुस्सु कम हुने र पूर्वी तराईमा भने दिनभरि हुस्सु रहने पनि मौसमविद् श्रेष्ठले जनाएका छन् ।
हुस्सुका कारण राजमार्गहरुमा सवारी साधनलाईसमेत समस्या भएको जनाइएको छ ।
मौसमविद् श्रेष्ठले तत्काल वर्षा हुने सम्भावना भने नरहेको जनाएका छन् ।