अन्तर्राष्ट्रिय घटनाक्रममा सन् २०१६: हाबी हुँदै अतिवाद

प्रकाशित मिति : २०७३ पौष १६ शनिबार
काठमाडौं । सन् २०१६ लाई फर्केर हेर्दा यो वर्ष विश्व राजनीतिमा दक्षिणपन्थ तथा चर्को राष्ट्रवाद हाबी हुने क्रम तीव्र भएको देखिन्छ । यद्यपि यो क्रम वर्ष सुरु नहुँदै एसिया र युरोपबाट थालिइसकेको थियो । 
 
 युरोपेली महासंघबाट बेलायत छुट्टिने निर्णय (ब्रेक्जिट) र अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन डोनाल्ड ट्रम्पको विजय यस वर्षका ठूला दुई घटना रहे । सिरियामा जारी युद्ध र शरणार्थीको बिजोग पनि चर्चामा रहे । घटनाहरू अलग अलग भए पनि यी सबै दक्षिणपन्थतिरको झुकाव, राष्ट्रवाद र अतिवाद प्रेरित थिए । 
 
 
सन् १९४५ तिर आरम्भ भएको उदारवादी अन्तर्राष्ट्रिय व्यवस्था असफल हुँदै गएजस्तो देखियो । फ्रान्सिस फुकोयामाले सन् १९८९ मा ‘इन्ड अफ दि हिस्ट्री’ मा ‘अब उदारवादको जमाना’ आयो भन्ने टिप्पणी गरेका थिए । तर २०१६ का घटनाक्रमहरूले उदारवादकै ‘इन्ड अफ दि हिस्ट्री’ जस्तो अवस्था पो देखियो । 
 
यतिबेला संसारका विभिन्न मुलुकमा राष्ट्रियता र कट्टरपन्थको लहरै छाएजस्तो देखिन थालेको छ । औपचारिक मञ्चहरूमा ‘क्षेत्रीय सहकार्य’, ‘आपसी साझेदारी’ वा ‘विकासमा सहकार्य’ जस्ता नारा दोहोर्‍याइए पनि यथार्थमा मुलुकहरू एक्लाएक्लै अघि बढ्न थालेजस्ता देखिन्छन् । 
 
‘विश्वमै अनौठो किसिमको घटनाक्रम देखा परेको छ । यो देखिनु भनेको विश्व नेतृत्वमा विचारको रिक्तता आउनु हो । एक सय वर्षअघिको विश्वलाई मूल्यांकन गरेर अहिले अघि बढ्न सकिँदैन,’ पूर्वराजदूत डा. दिनेश भट्टराई भन्छन्, ‘तर अहिले त्यही भइरहेको छ । विश्व राजनीतिमा कूटनीतिक विश्वास हराउँदै गएको छ । स्थापित संस्थाहरू पंगु हुँदै गएका छन् । यसले गर्दा त्यस्ता संस्थाहरूले गर्ने काम जनमत संग्रहबाटै निर्णय लिनुपर्ने अवस्था आइपरेको छ ।’ 
 
विश्लेषकहरू ब्रेक्जिटलाई यस्तै घटनाका रूपमा लिन्छन् । किनभने संसद्ले गर्ने कामलाई पहिल्यै जनतामा लगियो । तर पछि अदालतले पुन: संसद्मै पठायो जसलाई अन्तिम रूप संसद्ले नै नदिई धरै छैन । 
 
अल्पसंख्यक र आप्रवासीप्रति अनुदार मानिएका उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिमा पाएको विजयलाई पनि राष्ट्रवाद हाबीको अर्को एउटा उदाहरण मानिएको छ । अर्का पूर्वराजदूत डा. शम्भुराम सिम्खडा अहिलेको विश्वको राजनीति अमेरिकी नीतिमा निर्भर हुने भन्दै ट्रम्प कुन रूपमा अघि बढ्छन्, त्यसले आगामी दिनको विश्व राजनीतिको आकार निर्माण गर्ने बताउँछन् । ‘पूर्वराष्ट्रपति र आफ्नै दलले समेत नपत्याएका व्यक्तिको उदयले विश्वलाई चकित पारेको अवस्थामा अहिले नै भविष्यको अडल कसरी गर्ने ?’ उनले प्रश्न गरे । 
मध्यपूर्वमा चर्किएको द्वन्द्वको असर युरोपमा पर्‍यो । युरोपेली सहरमा डरलाग्दा आतंककारी हमला यो वर्ष भए । फ्रान्सका पेरिस र निस सहरमा आक्रमण भए । बेल्जियमको ब्रसेल्स हुँदै जर्मनीको बर्लिनमा पनि आक्रमण भयो । त्यस्तै, मध्यपूर्वमा फैलिएको अशान्ति र युरोपमा बढेको शरणार्थी समस्या पनि यो वर्ष चर्चाको शिखरमा पुगे तर त्यसको समाधान निकाल्न विश्वले अझै सकेको छैन या चाहेन । यस्तै, कारणबाट राष्ट्रवाद हाबी हँ‘दै गएको हो । 
 
त्रिवीका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्रमुख डा. खड्ग केसीले विश्व शक्ति सन्तुलनमा द्वन्द्व हुन सक्ने बताउँदै भने, ‘त्यस्तो सम्भावना अहिले विकसित विश्व राजनीतिमा देखा परेको छ ।’ यसले नेपालजस्तो सानो मुलुकको आन्तरिक राजनीतिलाई समेत असर गर्नेछ । नेपालको राजनीतिक घटनाक्रम नै आन्तरिक नीतिभन्दा बाह्य नीतिमा अडेकाले आगामी दिनमा थप सोचविचार गर्नुपर्ने दक्षिण एसियाली अध्ययन केन्द्रका प्रमुख निश्चलनाथ पाण्डे बताउँछन् । उनी भन्छन्, ‘विश्वमै अहिले राष्ट्रवाद हाबी छ । यसले अनुदारवादको वकालत गर्न थाले विश्व राजनीतिको परिस्थिति झन् बिग्रनेछ । विश्व राजनीतिको प्याराडाइम नै परिवर्तन भएको छ । क्षेत्रीय अवधारणामा विश्व कमजोर हुँदै गएको छ । यसको उदाहरण दक्षिण एसिया पनि हो ।’ 
 
उदारवादी नीतिलाई लिएर राष्ट्रसंघ, विश्व बैंक, आईएमएफजस्ता क्षेत्रीय संगठनहरूमार्फत सहकार्य चलिरहेको विश्वमा यतिबेला आफ्नो ‘पहिचान’ खोज्न थाल्नु आफंैमा अपत्यारिलो देखिएको छ । 
 
यो वर्ष ‘पानामा पेपर्स लिक’ ले पनि विश्वलाई हल्लायो । विश्वका हस्तीहरूले लुकाएका काला धन उजागर हुने भन्दै यसको निकै ठूलो चर्चा विश्व राजनीतिमा भएको थियो । परिचित विद्वान्, राजनीतिज्ञ, शक्तिशाली व्यक्तिहरूले कालो धन लुकाएको पानामा पेपर्स लिकले सार्वजनिक गरेको थियो । 
 
ब्राजिलकी पहिलो महिला राष्ट्रपति डिल्मा रुसेफ बर्खास्त हुनु पनि यो वर्षको चर्चित घटनामा पर्‍यो । यस्तै, दक्षिण कोरियाकी पहिलो महिला राष्ट्रपति पार्क गेउन हाइ पनि त्यही कोटीमा परिन् । दुवै राष्ट्रपतिले महाअभियोग लागेर हट्नु परेको थियो । डिसेम्बर १९ मा टर्कीका लागि रसियाका राजदूत एन्ड्रेइ कार्लोभको सार्वजनिक स्थानमा गोली हानी हत्या भयो । सोही दिन जर्मनीको बर्लिनमा लरीले किचेर एक दर्जनभन्दा बढीको मृत्यु भयो । यी सबै घटनाले कसैको आत्मसम्मानमा ठेस पुग्ने काम कुनै मुलुकले गर्न नहुने भन्ने विषयलाई उदाहरणका रूपमा व्याख्या गरेको छ । (कान्तिपुर)

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ