arrow

कुष्ठरोग अरुलाई सर्छ भन्ने अन्धविश्वासः ४० वर्षदेखि खोला किनारमा बास

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
kusht-rog.jpeg
रुकुम । कुष्ठरोग लागेपछि अरुलाई पनि सर्छ भन्ने अन्धविश्वासका कारण रुकुमको बाँफीकोटकी एक महिला ४० वर्षदेखि खोलाको किनारमा बस्दै आएकी छिन् । बाँफीकोट–८ की ६० वर्षीया तुलसा केसी कुष्ठरोगकै कारण ४० वर्षदेखि स्थानीय ढार्नेखोलाको छेउमा बस्न बाध्य भएकी हुन् । 
 
सानै उम्मेरमा कुष्ठरोग भएपछि उनलाई आफन्त र गाउँलेले खोलाको किनारमा बनाइदिएको सानो छाप्रोमा बस्दै आएकी छिन् । १३ वर्षको उम्मेरमै कुष्ठरोग लागेको र त्यस बेलादेखि आफू एक्लै बस्दै आएको केसीले बताइन् । 
 
लामो समयदेखि कुष्ठरोगले पीडित बनेकी केसीलाई अहिले भने सञ्चो भइसकेको छ । रोग सञ्चो भए पनि गाउँमा आफूलाई हेर्ने दृष्टिकोण नफेरिएको उनको गुनासो छ ।
 
“अहिले पनि गाउँमा कतै म जाँदा कुष्ठरोगी आई भन्दै सबै टाढा भाग्छन्, केसीले भनिन्, त्यही भएर पनि म यही कटेरोमा बस्छु ।” उनी अहिले अपाङ्ग बनेकी छिन् । 
 
केसीका हात, खुट्टाका औँला छैनन् भने शरीरमा गाठागुठी परेका छन् । सुनसान खोलाको छेउमा रहेको सानो छाप्रोमा बस्ने केसीले गाउँमा मागेर छाक टार्ने गरेको बताइन् । बस्ने बास, खाने गाँसका साथै रात काट्नको लागि कपडा समेत नभएपछि अहिले चिसोमा निकै समस्या भएको उनले बताइन् । 
 
“चिसोको समयमा त रातभरि आगो बालेरै बस्छु, चिसोले सुत्न सक्दिन उनले भनिन्, मलाई सहयोग गर्ने कोही भए कपडा र यो मेरा घर बनाइदियोस् ।” रोग लागेपछि औषधि उपचार गर्ने ठाउँ नहुँदा धामीझाँक्रीको कारणले गर्दा आफू अपाङ्ग भएको केसीको भनाइ छ । 
 
उनी अहिले लट्ठीको सहाराले गाउँघरमा जानआउन सक्छिन् । अहिले पनि केसीलाई कसैले घरभित्र जान भने दिँदैनन् । गाउँ घरमा गए पनि आँगनभन्दा टाढाबाटै खानेकुरा माग्ने गरेको उनले बताइन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ