arrow

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ “अप्रेसन महाहन्ट” अभियान

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
chitwan-national-park.jpeg
चितवन । दुर्लभ वन्यजन्तु चोरी सिकार नियन्त्रण अभियानमा सार्थक बनेको ‘अप्रेसन महाहन्ट’ चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालन गरिएको छ । 
 
गतवर्षमा माघ दोस्रो साताबाट मात्र सञ्चालन गरिने महाहन्ट यस वर्ष पुस १५ गतेबाट नै सञ्चालन गरिएको हो । माघ १४ गते दुर्लभ एकसिङ्गे गैंडा चोरी सिकार शून्य भएको एक हजार दिन पुग्दैछ । सो दिनलाई विशेष उत्सवको रुपमा मनाउन महाहन्ट एक महिना अघिदेखि सुरु गरिएको निकुञ्ज सुरक्षार्थ खटिएको श्री जङग गणका गणपति माधव थापाले बताउनुभयो । 
 
यसअन्तर्गत विभिन्न गणका सेनाले ६ वटा समूह बनाएर निकुञ्ज गस्ती र बेस क्याम्प खडा गरेका छन् । यही अभियानअन्तर्गत पाँच ठाउँमा स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम समेत गरिँदैछ । गणपति थापाका अनुसार ‘दि’ फेमस महेन्द्र दल गण भरतपुर, वरख गण वीरगन्ज, इन्द्रबक्स गण रौतहटबाट एक सयजना सेना र भैरव बहान गुल्मका कुकुर महाहन्टमा प्रयोग भएका छन् । उनीहरुले निकुञ्जका तीन संवेदनशील क्षेत्रमा क्याम्प खडा गरेका छन्, भने तीनवटा समूहमा मोबाइल हन्टिङ गरी गस्ती गरिरहेका छन् । 
 
सेनाको सुराक सञ्जाल ‘लिमिटरी इन्टलिजेन्ट सपोर्ट’ ग्रुपमा समेत जनशक्ति थप गरी सूचना सञ्जाललाई थप सशक्त बनाइएको थापाले बताउनुभयो । अभियानका क्रममा चितवनको माडी, मेघौली, जगतपुर, पूर्वी चितवन र नवलपरासीको अमलटारीमा स्वास्थ्य शिविरसँगै जनचेतनामूलक कार्यक्रम गरिने थापाले जानकारी दिनुभयो । 
 
यसबाट निकुञ्ज र जनताका बीचमा सम्बन्ध थप सुधार भई संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले विसं २०६७ बाट ‘अप्रेसन हन्ट’ सञ्चालन गर्दै आएकोमा २०७१ बाट भने महाहन्ट सञ्चालन गर्दै आएको छ । 
 
गणपति थापाका अनुसार विगतको अवस्थालाई हेर्दा मङ्सिर महिनादेखि जेठ मसान्तसम्मको समयमा ८० प्रतिशत चोरी सिकार हुने गरेको पाइएको छ । चैतदेखि जेठसम्म ६० प्रतिशत चोरी सिकारी भएको तथ्याङ्कले देखाएको उहाँले बताउनुभयो । यसैलाई मध्यनगर गरी खोलानाला घटेकोले जनावर पानीको खोजीमा टाढाटाढा जाने र पातपतिङ्गर झरेर जङ्गल सफा भएको समय पारेर चोरी सिकारी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा थप मजबुद बनाउन महाहन्ट सञ्चालन गरिएको थापाले बताउनुभयो । 
 
महाहन्ट सञ्चालनअघि पनि निकुञ्ज सुरक्षार्थ दैनिक १५० वटा गस्ती हुँदै आएको छ । जसमा पैदल, साइकल, मोटरसाइकल, गाडी, हात्ती र डुङ्गा गस्ती पर्दछन् । गस्तीमा ५५० जना सेना, निकुञ्ज कर्मचारी र समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा अभियानका प्रतिनिधि परिचालन गरिँदै आएको छ । जसले एक दिनमा एक हजार ५०० किलोमिटर गस्ती गर्ने गरेको थापाले बताउनुभयो । 
 
‘रियल टाइम पेट्रोल मनिटरिङ’ प्रणालीबाट गस्ती टोलीले गस्ती गरेको ठाउँ र दुरी हेर्न सकिन्छ । यसै प्रणालीअन्तर्गत निकुञ्जका पाँचवटा सेक्टरमा रहेका गुल्मपतिलेसमेत अनुगमन गर्ने गरेको गणपति थापाले बताउनुभयो । निकुञ्जको अमलटारी, बबई, मेघौली, सौराहा र खगेन्द्रमल्लीमा सेनाका गुल्म रहेका छन् । 
 
निकुञ्जका १० संवेदनशील ठाउँमा सिसी क्यामरासमेत जडान गरी २४ सैँ घन्टा निगरानी गरिँदै आएको छ, भने चारवटा कुकुर परिचालन गरी गस्ती गरिँदै आएको छ । त्यसैगरी निकुञ्जमा रहेका १० वटा ड्रोनमार्फत् पनि निकुञ्जको अनुगमन गरिँदै आएको छ । 
 
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले पछिल्लो समय समुदायलाई समेत समेटेर महाहन्ट सञ्चालन गर्न लागिएको भन्दै यसले निकुञ्ज र समुदायबीचको सम्बन्ध अझै नजिक हुने बताउनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ