काठमाडौं । नेपालकै चर्चित नायिका रेखा थापाले आमा बन्ने रहर देखाएकी छन् । दाङको घोराहीमा पत्रकारहरु माझ कुरा गर्दै नायिका थापाले आफूलाई पनि सन्तानको आमा हुने रहर जागेको बताएकी हुन् । निर्माता निर्देशक छविलाल ओझासँग केही बर्ष अघि डिभोर्स गरेर एक्लै बस्दै आएकी नायिका थापाले अब विवाह गर्ने समय आएको भन्दै मिल्यो भने केही वर्षमै बैवाहिक जीवनमा बाँधिएर आमा बन्ने बताइन् । तर उनले को सँग विवाह गर्ने भन्ने चाँही खुलाइनन् ।
नायिका थापा,चर्चा र विवादमा आइरहने अभिनेत्री हुन् । हालै राप्रपामा प्रवेश गरेकी नायिका थापाले आफ्नो पहिलो तथा अन्तिम पार्टी हुने बताइन् । थापा चार वर्षअघि तत्कालीन एकीकृत माओवादी पार्टी प्रवेश गरेकी थिइन् । पार्टी प्रवेशको क्रममा उनले प्रचण्ड जस्तो राष्ट्रवादी व्यक्ति अरु नभेटेको भन्दै प्रचण्डबाट प्रभावित भएको बताएकी थिइन् । त्यस समय उनको प्रचण्डसँगको नृत्यले निकै चर्चा पाएको थियो । तर, उनको विगतको प्रवृत्ति हेरेर धेरैले त्यसमा आशंका गरेका छन् ।
छविलाल ओझासँग १० बर्षे बैबाहिक सम्बन्ध टुंग्याएपछि थापाको नाम कलिउडका केहि नायकसँग जोडिए । हिम्मतवाली चलचित्र प्रदर्शनमा आउँदा रेखा थापाले दिएको अन्तर्वार्तालाई आधार मान्ने हो भने सुदर्शन र रेखा बिहे गर्ने मनसायमा रहेको त्यस समय मिडियामा छाएको थियो । चलचित्र हिम्मतवाली सफल भएपछि सुदर्शन र रेखाले केहि महिना अमेरिकामा सँगै बिताएको बताउने गरिन्छ । सुदर्शनका दुवै हात छैनन् ।