arrow

प्रधानमन्त्रीले मन्त्री र सचिवसँग भने – इन्जिन मात्र कुदेजस्तो, डिब्बा छुटेजस्तो

आयोजनाको नियमित अनुगमन तथा निरीक्षण गर्न निर्देशन

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
PM-ra-sachib.jpeg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मन्त्रालयका मन्त्री र सचिवहरुलाई राष्ट्रिय गौरवका आयोजना र अन्य ठूला आयोजनाहरुको नियमित अनुगमन तथा निरीक्षण गर्न निर्देशन दिएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सोमबार प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन् ।

बैठकमा प्रधानमन्त्री दाहालले भने, ‘मैले ३७औँ बैठकमा निर्देशित गरेको थिए, हामी सबैले आफ्नो मातहतका आयोजनाहरुको निरन्तर अनुगमन र निरीक्षण गरौं र विकासका काममा लक्षित प्रतिफल हासिल गरौं । तर, यस बीचमा प्रधानमन्त्री एक्लै दौडे जस्तो भएको छ । इन्जिन मात्र कुदेजस्तो, डिब्बा छुटेजस्तो । यो राम्रो भएन । त्यसैले म गम्भीरतापूर्वक निर्देशित गर्छु, सबैले आफ्ना मातहतका आयोजनाहरुको अनुगमन गरौं, निरीक्षण गरौं । राम्रो काम गर्नेलाई पुरस्कृत गरौं, नराम्रो गर्नेलाई दण्डित गरौं ।’

पूँजीगत खर्चको सामथ्र्य बढाएर कम्तिमा ८० प्रतिशतसम्म बढाउन निर्देशन दिँदै प्रधानमन्त्रीले भने, ‘अहिले पनि पूँजीगत खर्चको स्तर सन्तोषजनक छैन । मैले अघिल्लो बैठकमा पनि भनेको छु, पूँजीगत खर्चको सामथ्र्य बढाउँ । कम्तिमा ८० प्रतिशतसम्म बढाऔं । त्यसका लागि मेहेनतपूर्वक काम गरौं । बरु, विकासशीलबाट विकसित देशमा फड्को मारेका देशहरुको अध्ययन गरौं, सिकौं र हाम्रो प्रशासनिक र आर्थिक स्तर उकास्न कोशिस गरौं ।’

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रको अवस्था, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति अवस्था र राष्ट्रिय स्तरका समस्याहरुबारे जानकारी र समाधानका उपायबारे चर्चा गरे ।

बैठकमा मन्त्रीहरु दलजित श्रीपाइली, जयदेव जोशी, हितराज पाण्डे, जीवनबहादुर शाही, प्रकाशशरण महत, हृदयराम थामी, धनीराम पौडेल, गौरीशंकर चौधरी, सीतादेवी यादव, नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदी लगायतले आ–आफ्ना विषयगत जिम्मेवारीबारे धारणा राखे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ