arrow

दुई दिनमा १५ ट्याक्सीमा बिलिङ सिस्टम, सबैमा गर्न साउन नै कुर्नुपर्ने

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
taxi-computer-billing-660x330.jpeg
काठमाडौं । उपत्यकामा गुड्ने मिटर ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर जडान) सुरु गरेको दुई दिनमा (आइतबार रसोमबार) १५ ट्याक्सीले मात्र प्रणाली जडान गरेका छन् । यो साता (पुस १७ देखि २३ सम्म) बा २ज ३००० देखि बा२ज ३२०० सम्मका दुई सयवटा ट्याक्सीलाई बिलिङ प्रणाली जडान गर्ने समय तोकिएको छ । 
 
उद्योग मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभागले आइतबारदेखि प्रिन्टर जडान सुरु गरेको हो । ‘आइतबार तीन र सोमबार १२ वटा गरी जम्मा १५ वटा ट्याक्सीले बिलिङ प्रणाली (प्रिन्टर) जडान गरेका छन्,’ नेपाल गुणस्तर तथा नापतौल विभाग ट्याक्सी टेम्पो इकाइका प्रमुख विकास ध्वजूले भने । 
 
आगामी दिनमा प्रणाली जडान गर्ने ट्याक्सीको संख्यामा वृद्धि हुने उनको भनाइ छ । यसअघि सरकारले कम्प्युटर बिलिङ प्रणाली थाल्नुअघि नै २२ वटा ट्याक्सीले प्रणाली जडान गरिसकेका थिए । 
 
अहिलेसम्म कुल ३७ वटा ट्याक्सीमा बिलिङ प्रणाली जडान भएको छ । ट्याक्सी चढ्दा उपभोक्तालाई ठगिनबाट बचाउन र ट्याक्सी सञ्चालनलाई विश्वसनीय बनाउन सरकारले आइतबारदेखि कम्प्युटर बिलिङ प्रणाली जडान गर्न सुरु गरेको हो ।
 
साउनसम्ममा उपत्यकाका सबै ट्याक्सीमा कम्प्युटर बिलिङ
काठमाडौं उपत्यकामा हाल करिब आठ हजार पाँच सयवटा मिटर ट्याक्सी सञ्चालनमा छन् । ती सबै ट्याक्सीलाई आगामी ७ साउनभित्र कम्प्युटर बिलिङमा ल्याइसक्ने सरकारको योजना छ । 
 
त्यसका लागि ‘ट्याक्सीको लट’ अनुसार ट्याक्सी नम्बर विभाजन गरिएको छ । एक लटको ट्याक्सीलाई एक साताको समय तोकिएको छ । जसअनुसार उक्त अवधिमा ट्याक्सीधनीले अनिवार्य रूपमा ट्याक्सीको मिटरसँगै प्रिन्टर जडान गर्नुपर्नेछ ।
 
 ‘२३ पुसपछि क्रमशः सातामा पाँच सयवटा ट्याक्सीमा प्रिन्टर जडान गरिनेछ,’ ध्वजूले भने । एकैचोटि सबैलाई बिलिङ प्रणालीमा ल्याउन नसकिने भएकाले दैनिक पाँच सयवटामा मात्र प्रिन्टर जडान गर्ने तयारी गरिएको उनको भनाइ छ ।
 
प्रिन्टर जडानमा आठ हजारसम्म खर्च
ट्याक्सी सञ्चालकले हालको मिटरमा प्रिन्टर जडान गर्दा आठ हजार रुपैयाँसम्म खर्च लाग्ने भएको छ । 
 
कतिपय ट्याक्सी ड्राइभरले आर्थिक अभाव देखाएर प्रिन्टर जडान गर्न ढिलाइ गर्नसक्ने नेपाल गुणस्तर तथा नापतौल विभाग ट्याक्सी टेम्पो इकाइका प्रमुख विकास ध्वजूले बताए । ‘आर्थिक अभावकै कारण प्रिन्टर जडानमा ढिलाइ भएको अवस्थामा ट्याक्सी सञ्चालकलाई तत्काल कारबाही गरिनेछैन,’ उनले भने, ‘तोकिएको समयभित्रै प्रणाली जडान गर्न प्रोत्साहित गरिनेछ ।’
 
उपभोक्ता र ट्याक्सी सञ्चालक दुवैलाई फाइदा – मन्त्री जोशी
सरकारले कार्यान्वयनमा ल्याएको नयाँ व्यवस्थाले ट्याक्सी उपभोक्ता र ट्याक्सी सञ्चालक दुवैलाई फाइदा हुने उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताए । ‘सर्वसाधारणले मिटरअनुसार ट्याक्सी चढ्न पाउनुपर्‍यो र ट्याक्सी सञ्चालकले पनि ट्याक्सी चलाएअनुसार पारिश्रमिक लिनुपर्‍यो भनेर यो नियम लागू गरिएको हो,’ उनले भने ।
 
यसका लागि उपभोक्ता जागरुक हुनुपर्ने र बोलकबोल गरेरभन्दा नियमले तोकेको मिटरअनुसारको भाडामा सर्वसाधारणले ट्याक्सी चढ्न पाउनुपर्ने उनको भनाइ छ ।
 
नयाँ प्रणालीका फाइदा
ट्याक्सीमा यो प्रणाली लागू भएपछि उपभोक्ताले आफू चढेको भाडाअनुसारको बिलमा आधारित भएर पारदर्शी कारोबार हुनेछ भने अर्कोतिर कसैको सामान ट्याक्सीमा छुट्यो भने बिलका आधारमा खोज्न सहज हुनेछ । 
 
प्रिन्टरबाट आउने बिलमा उपभोक्ता चढ्दा र ओर्लंदाको मिटर नम्बर, तिर्नुपर्ने रकम, ट्याक्सीको नम्बरलगायत वितरण हुनेछ । यो प्रणाली लागू भएपछि मिटरमा बदमासी गर्ने र मिटरअनुसार ट्याक्सी चलाउन आनाकानी गर्ने प्रवृत्ति नियन्त्रण हुने विश्वास छ ।
 
उपत्यकामा पुसभित्रै यातायातका चार कार्यालय सञ्चालनमा
सरकारले पुसभित्रै काठमाडौं उपत्यकामा चारवटा सवारीचालक अनुमतिपत्र कार्यालय सञ्चालनमा ल्याउने भएको छ । 
 
यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० प्राप्ति, नवीकरण र अन्य सेवालाई सहज बनाउने उद्देश्यले ती कार्यालय सञ्चालनमा ल्याउन लागेको हो । 
 
२७ पुसमा भक्तपुरको सल्लाघारी र काठमाडौंको चाबहिलमा नयाँ कार्यालय सञ्चालनमा ल्याउने तयारी छ । आइतबारदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले स्वयम्भूस्थित सानो भर्‍याङमा सवारीचालक अनुमतिपत्र कार्यालय सञ्चालनमा ल्याएको छ । 
 
कार्यालय सञ्चालनको सुरुवात गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले उपभोक्तालाई एक घन्टाभित्र सेवा उपलब्ध गराउने सरकारको योजना रहेको घोषणा गरे । सल्लाघारी र चाबहिलमा नयाँ कार्यालय सञ्चालनमा आएपछि काठमाडौं उपत्यकामा सञ्चालनमा आएका यातायात कार्यालयको संख्या चार पुग्नेछ । 
 
सवारीचालक अनुमतिपत्र बागमती रहेको एकान्तकुनास्थित कार्यालय भने पहिलेदेखि नै सञ्चालनमा छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ