arrow

बर्दिवास र आसपासमा बाँदरले आतंक मच्चाउँदै

धपाउन खोज्दा जाइलाग्ने

logo
प्रकाशित २०७३ पुष १९ मंगलबार
monkeys.jpeg
बर्दिवास । महोत्तरी जिल्लाको सुदूरउत्तरवर्तीे बर्दिवास नगरपालिका र आसपासका ग्रामीण क्षेत्रका बासिन्दा बाँदरको उद्धुम मच्चाइले आजित भएका छन् । घरघरै पसेर सामान उधिन्ने, ससाना नानीलाई झम्टेर टोक्ने र धपाउन खोज्दा जाइलाग्ने बाँदरको उल्याइँले सर्वसाधारण आजित भएका हुन् । 
 
बर्दिवास नपाको गौरीडाँडा, पाटु, कालापानी, रजवास, पर्साहीधाप, माइस्थान, टुटेश्वर, गणन्ता, वरडाँडा र चेरुलगायतका बस्ती र छिमेकका हाथीलेट, खयरमारा, बेलगाछी र लक्ष्मीनियाँ गाविस बस्तीमा बाँदरले घरघरै पसेर खानेकुरा, अन्नपात र अन्य सामान नोक्सान पारेर उधुम मच्चाउँदा सर्वसाधारण आजित भएका हुन् । 
 
बर्दिवास–१ को मुख्यचोक नजिकैको बस्तीमा पसेको बाँदरले त आफ्नो छ वर्षीय छोरा शिवमसहित पाँच÷सात जना ससाना नानीलाई टोकी, चिथोरी घाइते बनाएको बस्तीकी सविता बस्नेतले बताइन् । घाइते नानीहरुलाई बर्दिवास अस्पतालमा एन्टीरेबिज भ्याक्सिन लगाइ राखिएको छ । 
 
बर्दिवास नपा क्षेत्रकै नेवारडाँडा र कामीडाँडा सामुदायिक वनबाट गाउँबस्ती पस्ने गरेका बाँदरले थांग्रामा राखेका मकैका झुत्ता उधिनेर दिनहुँ दुःख दिने गरेको बर्दिवास–४ गौरीडाँडाकी गीता खतिवडाको गुनासो छ । 
 
आफ्नो बस्तीका घरघरै पस्न थालेको बाँदरले मान्छेका आँखा छलेर भान्साबाटै पनि खानेकुरा लिएर भाग्ने गरेको सोही बस्तीकी यशोदा बस्नेतले बताइन् । 
 
घरघरै समूहमा पस्न लागेका बाँदरलाई सामान नष्ट गर्नबाट रोक्न खोज्दा आक्रमणनै गर्ने गरेको पीडितको भनाइ छ । आफ्नो बस्तीमा बाँदरको झम्टाइमा परेर ससाना नानीमात्र नभई कामकाजी महिला र बटुवासमेत तर्सन र घाइतेसमेत हुने गरेका बर्दिवास–६ रजवासका सामाजिक कार्यकर्ता रामबहादुर थापाले बताए । 
 
वन क्षेत्रमा डढेलो लाग्नुसँगै मानव चहलपहल बढ्नाले, वन क्षेत्र अतिक्रमण हुनसँगै वनमा खानेकुराको अभाव भएपछि मान्छेसँग पहिलेदेखि नै मज्जाले रत्तिँदै आएका बाँदर खानाको खोजीमा गाउँ पस्न लागेको जिल्ला वन कार्यालय महोत्तरीका सहायक वन अधिकृत चन्देश्वर यादव बताउँछन् । 
 
कार्यालयले बस्ती पसेका बाँदर र अन्य वन्यजन्तुसँग सामान्य र सहज ब्यबहार गर्न आग्रह गरेको छ । बाँदरलाई हिर्काउँदा, जिस्क्याउँदा र लखेट्न खोज्दा उ झन् छुचो हुनेहुँदा त्यस्तो ब्यबहार नगर्न बिज्ञले आग्रह गरेका छन् । 
 
यसअघि गत दिपावली पर्वताका जिल्लाकै पशुपतिनगरमा जङ्गली बँदेल पसेर बालीनाली निकै नोक्सान गरेको थियो । महोत्तरीका गाउँनगर बस्तीमा यदाकदा नील गाई पनि देखिने गरेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ