arrow

विश्वभरका शिख धर्मावलम्बीको चहलपहल पटनामा, विहारमा तीन दिने सार्वजनिक बिदा

logo
प्रकाशित २०७३ पुष २१ बिहिबार
sikh.jpeg
पटना । शिखहरुका दसौँ गुरु गोविन्दसिंह महाराजको ३५०औँ जन्मजयन्तीका अवसरमा भारत विहारको पटनामा विश्वभरका शिख धर्मावलम्बीको चहलपहल बढेको छ । गुरु गोविन्दसिंहको जन्मोत्सवलाई प्रकाश उत्सवका रुपमा मान्यता दिँदै विहार सरकारले मङ्गलबारदेखि राज्यमा तीनदिने र्सावजनिक बिदाको घोषणा गरेको छ । अहिले राजधानी पटनालाई बेहुली जस्तै सिँगारिएको छ । 
 
विश्वभरिबाट आएका शिख धर्मावलम्बी तथा शिख धर्ममा आस्था राख्नेका लागि सरकारले पटनाको गान्धी मैदानमा विशेष व्यवस्था मिलाएको छ । 
 
सोही कार्यक्रममा भाग लिन पुगेका नेपालको वीरगन्जस्थित गुरु नानक सेवा प्रतिष्ठान, शोध केन्द्रका अध्यक्ष जसपाल सिंहका अनुसार गान्धी मैदानमा गुरुग्रन्थको दर्शनको समेत व्यवस्था गरिएको छ । 
 
उत्सवमा विश्वभरिबाट आएका दश लाखभन्दा बढी भक्तालु तथा श्रद्धालुको भेला हुने अनुमान गरिएको आयोजकले जनाएको छ । 
 
पाहुनाको खाने–बस्ने व्यवस्था विहार सरकार र स्थानीय हरमन्द्रर गुरुद्वारा प्रबन्धक कमिटीले मिलाएको छ । गान्धी मैदानमा गुरुले तत्कालीन समयमा धर्म रक्षाका लागि प्रयोग गरेका शस्त्र र उनले तयार पारेको ग्रन्थलाई सर्वसाधारणको दर्शनका लागि प्रदर्शनमा राखिएका छन् । 
 
गान्धी मैदानमा गुरुकालीन महल र उनले बनाएका विभिन्न दरबार तथा सम्बन्धित सामग्रीको प्रतिविम्ब झल्कने वस्तु सजाइएको छ । 
 
यही पुस १७ देखि २२ गतेसम्म विविध धार्मिक गतिविधि सञ्चालन हुने उक्त उत्सवको मुख्य कार्यक्रम बिहीबार गरिनेछ । 
 
समारोहमा सहभागी हुन नेपालबाट आउनुभएका सुबोधकुमार यादवले गोविन्दसिंहले नेपालको पूर्वी भेगस्थित सुनसरीको बराह क्षेत्रमा पुगेर मानवकल्याण तथा शान्ति स्थापनाका लागि विभिन्न गतिविधि गरेको जानकारी दिए ।
 
 मुगल शासक औरङ्गन्जेबले हिन्दू मठ, मन्दिर तथा सम्पदामाथि आक्रमण गर्दा पीडित बनेका हिन्दू धर्मावलम्बीको संरक्षण र हिन्दू दर्शन जगेर्नाका लागि गोविन्दसिंहले सशस्त्र युद्ध गरेको बताइएको छ । 
 
शिखहरुका गुरु नानकले ईश्वर एक मात्र छन्, गरिबलाई नबिर्स, महिला पुरुष समान छन्, जङ्गलामा जाँदा मात्र ज्ञानोदय हुने होइन, अहङ्कार–रिस–लोभ– कामुकता र मोहबाट बच, आफ्नो गुरु आफैँ पत्ता लगाऊ, निःस्वार्थ बन, अन्धविश्वासविरुद्ध जुध, सरलता नै सौन्दर्य हो र घुमघाम गर भन्ने मुख्य सन्देश दिएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ