arrow

रणनीति : प्रादेशिक संरचनाअनुसारनै पार्टी संरचना, के फुटेको माओवादी जुट्ला ?

logo
प्रकाशित २०७२ पुष ५ आइतबार
काठमाडौं । एकीकृत माओवादीले पार्टीलाई सशक्त र प्रभावकारी बनाउने भन्दै ६ महिने सङ्गठन सुदृढीकरण योजना ल्याउन लागेको छ । विभिन्न ढङ्गले छुट्टा–छुट्टै पार्टी बनाए पनि माओवादलाई मान्ने शक्तिलाई समेत एकताको प्रक्रियामा ल्याउने उद्देश्यका साथ सङ्गठन सुदृढीकरणको योजना ल्याउन लागेको नेताहरुले बताएका छन् । अहिले सम्म कतिपय समूहहरु पार्टीगत संरचनामा देखिएपनि आधिकारिक रुपमा दर्ता भएका छैनन् । एमाओवादीले जुट्ने रणनीति लिएपनि पार्टी नेतृत्व र शक्ति झगडा अन्त्यको विकल्प तयार भएको छैन । 
 
प्रारम्भिक चरणमा आगामी जेठसम्ममा पार्टीको सङ्गठन सुदृढीकरण योजना ल्याइएको प्रवक्ता दिनानाथ शर्माले बताए ।  विगतमा टुटफुट भएर गएका तथा माओवाद मान्ने पार्टी एवं शक्तिलाई एकताको प्रक्रियामा ल्याउने तथा आन्तरिक रुपमा सशक्त बन्ने ध्येयका साथ नयाँ कार्ययोजना ल्याउन लागिएको शर्माले सुनाए । 
 
गएको मंसिर १५ गतेबाट सुरु भएको एमाओवादी केन्द्रीय समितिको बैठकमा नेताले पार्टीको सुदृढीकरण कार्ययोजना ल्याउन, संविधानसभाबाट जारी भएको संविधानको सहज कार्यान्वयनसम्बन्धी योजना ल्याउन आग्रह गरेका थिए । संविधानले मुलुकमा सात प्रदेश बनाएकाले प्रादेशिक संरचनाअनुसार पार्टीको संरचना निर्माण गर्नुपर्ने उनीहरुको जोड छ ।  
 
एमाओवादीले प्रदेशको संरचनाका आधारमा पार्टीको संरचना तयार गर्ने तयारी गरेको छ । प्रदेशको जिम्मा स्थायी समिति सदस्य वा वरिष्ठ पोलिटब्युरो सदस्यलाई दिने एमाओवादीको तयारी छ । एमाओवादीले यसअघि नै राज्य समिति भङ्ग गरिसकेका सन्दर्भमा नयाँ आधारमा संरचना निर्माण गर्न लागेको हो । 
तराई मधेसमा केन्द्रिकृत तथा विकेन्द्रीत रुपमा पार्टी प्रशिक्षण, भेला, संविधानमा भएका सकारात्मक तथा जनताका विषयलाई प्रचारप्रसार गर्ने, अपुग भएका विषयलाई संशोधनका माध्यमबाट अगाडि बढाउने निर्णय माओवादीले गरेको छ । 
 
पार्टीका नेताले उठाएका प्रश्नको जवाफ दिँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई आगामी दुई वर्षभित्र एक नम्बरको बनाउने र त्यसमा पार्टीका नेता तथा कार्यकर्ताको मुख्य  भूमिका रहनुपर्नेमा जोड दिए । पार्टीलाई लान्छना लगाएर बाहिरिनेले नेपाली जनताको भावना, सहिद तथा बेपत्ता नागरिकको भावनालाई लत्याएको भन्दै पार्टीलाई सुधार गरेर उनीहरुलाई जवाफ दिनुपर्ने तर्क दाहालले गरे ।  
 
दाहालले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ता तरङ्गित नभई पार्टी काममा लाग्न र जनताको सेवा गर्न निर्देश गरे । सरकारमा रहेका मन्त्रीलाई समेत विधि प्रक्रिया र सरकार सञ्चालन समन्वय समितिको आवश्यक परामर्शका आधारमा मात्रै अगाडि बढ्नसमेत दाहालले निर्देशन दिए । 
 
प्रवक्ता शर्माले जारी केन्द्रीय समितिको बैठकमा अभूतपूर्ण एकताको सम्प्रेषण भएको जानकारी दिँदै पार्टीलाई पहिलेकै स्थितिमा ल्याउन एकजुट भएर जानुपर्छ भन्ने अध्यक्षको प्रस्तावमा सबै केन्द्रीय सदस्यले त्यसैअनुरुपमा मनन गरेको सुनाए । प्रवक्ता शर्माले अध्यक्ष दाहालले पार्टीको आगामी महाधिवेशनमा जाने, जन परिचालन गर्ने, मुलुकभर कार्यशाला चलाउने, पार्टी स्कुलिङ विभागलाई प्रभावकारी बनाएर मुलुकभर नै प्रशिक्षण चलाउने प्रस्ताव पेश गरेको उल्लेख गरे । प्रारम्भिक चरणमा जेठसम्मको कार्यक्रम आएको र त्यसको कार्य विभाजन सोमबारको  बैठकले बताउँदै शर्माले अध्यक्षको राजनीतिक प्रतिवेदन समेत सोमबारकै बैठकले पारित गर्ने जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ