arrow

सर्वोच्चले गर्‍याे लोकमानको नियुक्ति बदरको फैसला, प्रमुख आयुक्त हुन अयोग्य

म्याद तामेली अवरोधमा ससुरालाई सफाई, ज्वाँइलाई जरीवाना

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
suprme_court_of_nepal.jpg.jpeg

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति बदर गर्ने फैसला सुनाएको छ । आइतबार कार्कीको अयोग्यताविरुद्धको रिटको बहस सकिएसँगै अदालतले फैसला सुनाएको हो । कार्की अख्तियारको प्रमुख हुन अयोग्य भएको अदालतले ठहर गरेको छ ।

अदालतले कार्कीको नियुक्ति बदर गर्दै अर्को नियुक्ति गर्न भनेको रिट निवेदक ओमप्रकाश अर्यालले हाम्राकुरालाई जानकारी दिए । अर्यालले नै कार्कीको योग्यतामाथि प्रश्न उठाउँदै रिट हालेका थिए । अर्यालले दायर गरेको रिट सर्वोच्चले खारेज गरेको थियो । पछि प्रधानन्यायाधीश सुशीला कार्कीसहितकाे बेन्चले निर्णय उल्ट्याउँदै पुनरावलाेकनकाे आदेश दिएपछि कार्कीविरुद्ध मुद्दा चलेको थियो ।

कार्कीको नियुक्ति बदर गर्नुअघि आइतबार योग्यतासम्बन्धी मुद्धाको बहस सकिएको थियो । आइतबार विपक्षीको बहस सकिएपछि निवेदकका तर्फबाट जवाफी बहस भयो । रिट निवेदक अधिवक्ता अर्यालको तर्फबाट अधिवक्ता शम्भू थापा, निवेदक अर्याल, टिकाराम भट्टराई, रमेश बडाललगायतले बहस गरेका थिए ।

पुस ७ गतेदेखि सुरु भएको सुनुवाईमा कार्कीका तर्फबाट बद्रीबहादुर कार्की, सुशील पन्त, महादेव यादवलगायतले बहस गरे ।कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव समेत आइतबारै महाभियोग सिफारिस समितिमा गएको छ ।

यसअघिको फैसला खारेज
न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको इजशासको इजलासले अख्तियार प्रमुखमा नियुक्तिका लागि लोकमान सिंह कार्कीको योग्यता नपुगेको ठहर गर्दै यसअघिको फैसला खारेज गरिदिएको छ । सर्वोच्चले योग्यता पुगेकालाई अख्तियार प्रमुखमा नियुक्त गर्न संवैधानिक परिषद् र राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

फैसला

‘रायमाझी आयोगको प्रतिवेदन तथा नेपाल सरकारबाट निज लोकमान सिंह कार्कीलाई पदबाट बर्खास्त गर्न स्पष्टीकरण सोध्ने लगायतको कारवाही प्रक्रिया अगाडि बढाएको सन्दर्भमा निजलाई उच्च नैतिक चरित्र भएको तथा ख्याती प्राप्त गरेको भनि मान्न मिल्ने समेत देखिन आएन,–भनिएको छ ।  

यस्ते, ‘प्रचलित नेपालको अन्तरिम संविधानको धारा ११९ को उपधारा ५ को देहाय (ग) र (ङ) बमोजिम योग्यता नभएको व्यक्ति लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्त पदमा नियुक्त गर्ने गरी भएको सवैधानिक परिषद्को २०७०र२२ निर्णय, सो सिफारिस बमोजित राष्ट्रपतिबाट गरिएको नियुक्ति र प्रधानन्यायाधीशबाट कार्कीलाई गराइएको प्रमुख आयुक्त पदको सपथ लगायत निजलाई नियुक्त गर्दाका सन्दर्भमा भएका काम कारबाहीहरु उत्प्रेषणको आदेशद्धारा बदर हुने ठहर्छ,–भनिएको छ ।

म्याद तामेली अवरोधमा ससुरालाई सफाई, ज्वाँइलाई जरीवाना
सर्वोच्चले अदालतको म्याद तामेलीमा अवरोध गरेको मुद्दामा कार्कीले सफाई पाएका छन् । म्याद तामेलीमा कार्कीको स्वयंमको उपस्थिति नदेखिएको भन्दै अदालतले कारबाही गर्नु नपर्ने भनेको छ । यस्तै, पूर्व सचिव प्रमोदकुमार कार्कीलाई पनि सफाइ पाएका छन् । यद्यपि, अदालतले अवरोध गर्ने कार्कीका ज्वाँइ प्रवल थापा लगायतलाई दाेषी ठहर गरेकाे छ ।

थापा कार्कीका कान्छा ज्वाइँ हुन् । अदालतको मानहानी गरेको ठहर गर्दै थापा, सर्वोच्चका तामेलादार शम्भुबहादुर खत्री, काठमाडौं महानगर १० नम्बर वडा सचिव सरिता राई, खरिदार भेषराज अर्याल र प्रहरी सहायक निरीक्षक नकुलराज गौतमलाई एक–एक हजार जरिवाना गरेको छ ।

ति सबैले मुलुकी ऐन अ. बं. १११ नं प्रतिकूल काम गरेको देखिएको ठहर गर्दै अदालतले जनही १ हजार जरिवानाको फैसला सुनाएको हो । तामेदार खत्री, वडा सचिव राई र प्रहरी सहायक निरीक्षक गौतमलाई कर्तव्य पालना नगरी न्यायिक प्रक्रियामा अवरोध गरेकाले विभागीय कारबाही गर्न आदेश पनि अदालतले दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ