arrow

‘लोकमान’ महाभियोगबारे काँग्रेस अहिलेसम्म मौन बस्नु दुःखद् : धनराज गुरुङ

लोकमानलाई संसदीय समितिमा उभ्याउँछौ : विडारी, यथार्थलाई ढाक्न सकिँदैन : ढकाल

logo
प्रकाशित २०७३ पुष २४ आइतबार
news-lokman-partikirya.jpeg

काठमाडौं । अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महत्वपूर्ण सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने कांग्रेस सांसद धनराज गुरुङले कार्कीविरुद्धको महाभियोगबारे अहिलेसम्म काँग्रेसको आधिकारिक धारणा नआउनु दुःखद् भएको बताएका छन् ।

आइतबार सर्वोच्चले कार्की अयोग्य ठहरिएको फैसला सुनाएपछि हाम्राकुरासँग प्रतिक्रिया दिँदै काँग्रेस सांसद गुरुङले भने, ‘यत्रो राष्ट्रिय मुद्दामा संसदको ठूलो पार्टी काँग्रेसको आधिकारिक धारणा नआउनु दुःखद हो । मैल एक पटक हैन पटक–पटक पार्टी नेतृत्वलाई भने ।’ अन्ततः अदालतले कार्कीलाई अयोग्य ठहर गरेको छ ।

यद्यपि, सांसद गुरुङले अदालतले गरेको निर्णय र व्यवस्थापिका संसदको समितिमा रहेको महाभियोग भिन्दा भिन्दै महत्वका भएको बताए । उनले भने, ‘अदालतले उनी योग्य वा अयोग्य को निर्णय गरेको हो । महाभियोग उहाँले गरेको अपराध र कुकर्मको छानविन हो ।’ सांसद गुरुङले अब संसदको महाभियोग समितिले कार्कीले गरेका अपराधको सजाय दिने बताए ।

राजनीतिक संरक्षण हुन्छ, महाभियोग समितिले उन्मुक्ति दिन्छ भनिराख्या छन् मान्छेले ? जवाफमा गुरुङले भने, ‘जनताको सर्वोच्च निकाय संसद नालायक बन्छ जस्तो लाग्दैन । महाभियोग सिफारिस समितिमा जाने बुझेकै माननीयहरु हुनुहुन्छ परिपक्व निर्णय आउँछ ।’ तपाईहरुको पार्टी नै अहिले सम्म मौन छ ? गुरुङले भने, ‘पार्टी मौन हुनु भनेको दुर्भाग्य हो भनेर भनिरहेको छुँ । तर, सिंगो संसद नालायक हुँदैन ।’ लोकमान आफै भ्रष्टाचारमा संलग्न रहेको र भ्रष्टाचार गिरोहको नेतृत्व गरेको भन्ने आधारमा महाभियोग लागेको हो । पदमुक्त हुनेवित्तिकै महाभियोबाट उन्मुक्ति पाउँछन् भन्ने होइन ।

लोकमानलाई संसदीय समितिमा उभ्याइन्छ : विडारी
संसदको महाभियोग सिफारिस समिति सदस्य एवं उपसमिति संयोजक माओवादी सांसद रामनारायण विडारीले अदालतको निर्णय र महाभियोग फरक हो भने । उनले भने, ‘महाभियोग, पदमा बस्दा पदको दुरुपयोग गरेको र के–के काला काम गरेका छन् भन्नेबारेको छानविन हो । अदालतको निर्णयले हामीलाई झन सजिलो बनाइदिएको छ ।’

विडारीले अदालतले पदमुक्त गरेपनि काला कर्मबाट मुक्ति नपाईन बताउँदै भने, ‘हामी संसदीय समितिमा उभ्याएर स्पष्टीकरण लिन्छौँ । संसदले महाभियोग प्रस्ताव समितिमा पठाइसकेको छ ।’ यद्यपि, उनले लिखित रुपमा स्पष्टीकरण पनि दिन सक्ने पनि बताए । कार्की पदमा बहाल रहँदा संसदको सार्वजनिक लेखा समितिले तीन पटक बोलाउँदा पनि उपस्थित भएका थिएनन् ।

यथार्थलाई ढाक्न सकिँदैन भन्ने प्रमाणित भइसकेको छ : ढकाल
एमाले प्रमुख सचेतक भानुभक्त ढकालले अदालतले कुनै समय परिस्थिति र अफ्ठ्याराबीच गरिएका निर्णय क्षणिक हुन्, दीर्घकालिन होइनन् भन्ने प्रष्ट्याएको बताएका छन् । ढकालले भने, ‘कोही कसैले पद र ओहोदामा रहेर प्रभावमा पार्ने कुरा समिति समयका लागि हो र यथार्थलाई ढाक्न सकिँदैन भन्ने प्रमाणित भएको छ ।’ ठिकलाई ठिक बेठिक भन्ने समय ढिलो चाँडो आउँछ भन्ने खब धेरैलाई हेक्का भयो होला ।

अदालतले अख्तियार प्रमुख बन्न नै योग्य नभएको भनिसकेपछि अब यसबारे थप अनुसन्धान गरिरहनु पर्छ जस्तो लाग्दैन, ढकालले थपे, ‘उनले पदीय मर्यादा मिचेर गरेका कामको छानविन समितिले गर्छ ।’

महाभियोग सिफारिस समितिनै पूर्ण छैन, तपाईहरुलाई शंका किन नगर्ने ?
जवाफमा ढकालले भने, ‘समिति पूर्ण छैन भन्न मिल्दैन । सभापतिको चुनाव मात्रै हुन नसकेको हो । सभापति नभएपनि समिति बैठक जेष्ठ सदस्यबाट चल्ने भएकाले काम रोकिँदैन । यसमा शंका गर्नु पर्ने कुनै कारण छैन ।’

यस्तै, महाभियोग सिफारिस समिति सदस्य रामनारायण विडारीले आफुहरु ११ सदस्य रहेको बताए । उनले भने, ‘सभापति छैनन् । उपसमितिले गर्ने काम हामीले गरिसकेका छौं । अब समितिले आफ्नो काम गर्छ ।’ पूर्ण छानविन गर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ