arrow

नेता र मन्त्री जति रिबन काट्न, सांसद हाजिर ठोकेर टाप

टाप कस्नेको गइल खारेजीको नियम छैन, हाजिर चढेपछि विधि पुग्ने

logo
प्रकाशित २०७३ पुष २६ मंगलबार
samsad-bhawan.jpeg

काठमाडौं । एक पटक हैन । संसदमा पटक–पटक हाँजिर गरेर टाप कसेका छन् सांसदहरु । कानुन निर्माण गर्न र जनहित, सार्वजनिक महत्वका काम गर्ने जिम्मेवारी पाएका सांसद नै गैर जिम्मेवार भएपछि के लाग्छ र ! सत्ताधारी माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले हाम्राकुरासँग–भने । केही सांसदले त संसद के स्कुल हो र समेत भने ।

प्रमुख सचेतक बस्नेतले आफुहरुले ह्वीप लगाउँदा लगाउँदै नमानेको, नटेरेको भन्दै सांसदहरुबाट गल्ती भएकै हो पनि –भने । यद्यपि, निर्णय गर्नुपर्ने कार्यसूचीबारे संसदका कर्मचारीले एक दिन पहिले नै सूचना दिनु पर्नेमा त्यसो भएन । सांसदहरुले पनि मनोमानी गरेर हिंडे । अबका दिनमा यसो हुँदैन, बस्नेतले भनेका छन् । बस्नेतले सबै दिन पूरै समय बस्नु पर्ने वाध्यता नरहेको बताउँदै हाँजिर गरे विधि पुगिहाल्ने बताए ।

ह्पीप जारी गर्दा गर्दै पनि भागे
माओवादी केन्द्रका ८१ सांसद रहेकामा आइतबार र सोमबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको बस्नेतले बताए । सोमबार संसद्को हाजिरी पुस्तिकामा ५४ सांसदले हाजिर गरेको देखियो ।

तर, बैठकमा निर्वाचन सम्बन्धि विधेयक निर्णयार्थ प्रस्तुत गर्ने वेला ३५ सांसद मात्र बैठक कक्षमा थिए, उनले भने, ‘कतिपय मलाई भनेर जानु भयो, कोही नसोधेरै जानु भयो । मर्यादा विर्सनु भो । त्यसो गर्नेलाई दलीय कारबाही हुन्छ । संसदीय दलको बैठकमा स्पष्टीकरण सोधिन्छ ।

गइल खारेजीको नियम छैन
एमाले प्रमुख सचेतक भानुभक्त ढकालले हाजिर ठोकेर टाप कस्ने सांसदको गइल खारेजीको नियम नरहेको बताएका छन् । उनले भने, ‘सांसदले आफ्नो मर्यादा पालन आफै गर्ने हो ।’ १० वटा बैठकमा लगातार उपस्थित भएन भने मात्रै सांसद पद धरामा पर्ने संवैधानिक व्यवस्था छ । बैठकमा एकछिन् झुल्केर हराउनेबारे नियम छैन । विशेष परिस्थतिमा भने छोडेर हिंड्न पाइँदैन । सोमबार बैठकमा कोरम नपुग्दा आफ्नो पार्टीका जम्मा २५ सांसद रहेको ढकालले बताए ।

उनले थपे, ‘संसदको विजनेस दिने सरकारले हो । विधेयक पास गर्ने मामिलामा सत्तापक्षनै बढी जिम्मेवार हुने हो । सकारका ४० जनमा मन्त्री मध्ये १ जना मन्त्री हुनुहुन्थ्यो ।’  ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ र ‘निर्वाचन (कसुर तथा सजाय) विधेयक, २०७३’ प्रस्तुत गर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले मात्रै संसदमा थिए ।

मन्त्रीहरुमात्रै आएको भएपनि त कोरम पुग्थ्यो कि ? ढकालले भने । त्यत्रो दिन सदन अवरोध गर्ने तपाईहरु चैं किन भाग्या ? जवाफमा ढकालले भने, ‘विधेयक पास गर्ने बढी दायित्व सत्ता पक्षकै हो । प्रतिपक्षि नभएपनि हुन्छ ।’ तपाइहरुले चैं भाग्न मिल्ने रहेछ ? उनले भने, ‘भाग्न मिल्ने कुरा होइन । जिम्मेवारीका हिसावले विपक्षी भन्दा सत्तापक्ष बढी सक्रिय हुनुपर्छ । संसारमा ससदको सबै समय सांसदहरु बसिरहनु पर्छ भन्ने छैन । अन्त सांसदहरु आ–आफ्नो विषय बस्तु भएमात्रै संसदमा उपस्थित हुन्छन् ।’ नेपालमा त्यस्तो स्थिति नभएको स्वीकार्दै ढकालले ह्वीप गर्दा गर्दै पनि भाग्ने सांसद स्वयं जिम्मेवार हुनु नै उपयुक्त होला ।

नेता र मन्त्रीहरु रिवन काट्ने र शिलान्याश गर्ने कार्यक्रमा व्यस्त, सांसद गाउँतिर
कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले समेत एमाले र माओवादीका प्रमुख सचेतक जस्तो अन्तिम समयसम्म डिउटी गरेको बताउँदै संसद चल्दैन कि भनेर नेताहरु औपचारिक कार्यक्रम उद्घाटनतिर लागेको र मन्त्री तथा सांसदहरु पनि लाखा पाखा लागेको सुनाए ।

आफ्नै पार्टीका एक सय २५ सांसदले हस्ताक्षर गरेकामा पछि ६० जना पनि उपस्थित नरहेको श्रेष्ठले बताए । उनले भने, ‘कोरम नपुगेर संसद बैठक आधा घण्टा स्थगित भयो । नेताहरु कोही शिलान्यास गर्न कोही कतै थिए । मन्त्रीहरु पनि व्यस्त रहे । विपक्षीले संसद अवरोध गर्दै आएकाले कतिपय सांसदहरु गाउँतिर गएका छन् ।’

४ सय ४ जनाले हाजिर गर्दा कोरम नपुगेको दोष गाउँ गएकालाई लगाउन मिल्छ ? जवाफमा उनले भने, ‘त्यही त हामी प्रमुख सचेतक हौं । हाम्रो डिउटी नै हो । अन्तिम समय सम्म बस्यौं । हामीले ह्वीप जारी गर्दा गर्दै कोही जाडो भयो भनेर निस्के, कोही बैठक र भेटघाट छ भनेर निस्के ।’ के छ संसद भवनभित्र त्यस्तो बस्नै मन नलाग्ने, कि भित्रै आगो ताप्ने व्यवस्था गर्नु पर्ने पो हो की ? हतारिँदै उनले भने, ‘हैन हैन अब देखि त्यसो गर्नु पर्दैन ।’

भोटिङ छिटो भयो, त्यही बाहिर भएकाहरु पनि भित्र पस्न पाएनन्
श्रेष्ठले भित्र सांसदको उपस्थिति कम भएपछि बोल्ने वक्ताहरु सकिए भोटिङ चाँडै भयो भने । उनले थपे, ‘विधेयक माथिको छलफल लामो भएन । सांसद थोरै भएपछि छलफल चाँडै सकियो । भोटिङ चाँडै भयो ।’ सभामुखले गल्ति गर्नु भो त ? जवाफमा उनले भने, ‘सभामुखको गल्ति भन्न खोजेको होइन । छलफलनै छोटो भयो, बाहिरतिर भएकाहरु आउनु भन्दा अघि नै भोटिङ भयो । कोरम पुगेन ।’

सांसदहरुलाई ह्वीप लगाएर रोक्ने विषय उल्लेख गर्दै श्रेष्ठले भने, ‘निर्णय गर्नुपर्ने कार्यसूचीबारे संसदका कर्मचारीहरुले समयमै जानकारी गराउनु पर्ने हो । हामीले छलफल मात्रै होला भन्ठानेका थियौं पछि निर्णयार्थ पेश गरियो ।’ यसमा संसद सचिवालयको पनि कमजोरी छ । यद्यपि, केही दिन अघि संसदमा हाजिर गरेर सांसदहरु एनजिओको भत्ता खाने कार्यक्रममा पुगेको प्रसंग भने प्रमुख सचेतकहरुले भुलिसकेका छन् ।
 

घटनाक्रम
संसद् बैठकमा सोमबार चार सय चार सांसदले हाजिर गरेकामा स्थानीय तह निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण विधेयकमाथि विचार गरियोस् भनी स्वीकृतिका लागि प्रस्तुत गर्दा संसद्मा गणपूरक संख्या नै पुगेन । जतिबेला सांसद जम्मा १ सय १६ जना देखिए ।

नेमकिपाका सांसद डिल्ली काफ्लेले गणपूरक संख्या अपुग रहेको भन्दै गणना गर्न माग गरेपछि कोरम नै पुगेन । दुई सय ८८ सांसद भने हाजिर गरेर भागिसकेका थिए ।  केही सांसद संसद् भवनबाहिर घाम तापेर गफिँदै थिए । लगातार १५ मिनेट घन्टी बजाइएपछि केही सांसद बैठक कक्षमा फर्किए । तर, सभामुख ओनसरी घर्तीमगरले बैठकने स्थगित गर्नु पर्यो ।

पछि घर गएका सांसदहरु समेत फर्काइए । प्रमुख सचेतक श्रेष्ठले भने, ‘कोरम नपुगेपछि घरमा रहेका हाम्रै पार्टीका सांसदहरु पनि आए । प्रकाशमान जीहरु पनि घरबाट आउनु भा हो ।’ बैठक चलाउन १ सय ४९ सदस्य संख्या चाहिन्छ । आधा घण्टापछि दोस्रो पटक बसेको बैठकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ र ‘निर्वाचन (कसुर तथा सजाय) विधेयक, २०७३’ बहुमतले स्वीकृत गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ