arrow

सेपाकताक्रो टोली श्रीलंका गयो

logo
प्रकाशित २०७३ पुष २७ बुधबार
sepaktacro.jpeg

काठमाडौं । दोश्रो दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिपमा सहभागि हुन ८ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली श्रीलंका गएको छ । पुरुषतर्फ अनिल गुरुङ (कप्तान), एलन गुरुङ, रुपेश सुनार र रोशन तामाङ तथा महिलातर्फ सोममाया थापा मगर (कप्तान), सुमित्रा डंगोल, चन्द्रा चौधरी र स्वस्तिका श्रेष्ठ प्रतियोगितामा सहभागि हुने छन् । जनवरी १३ देखि १६ तारिखसम्म हुने प्रतियोगितामा नेपाली खेलाडीले रेगु र डबल्स इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाल सेपाकताक्रो संघका अध्यक्ष एवं दक्षिण एसियाली सेपाकताक्रो महासंघका सचिव नेत्रप्रसाद गुरुङले टिम व्यवस्थापकको जिम्मेवारी निभाउने छन् । यस्तै, गंगाबहादुर गुरुङले प्रशिक्षण सम्हाल्ने छन् । अर्जुनबहादुर ठकुल्ला र रोशन भट्टराईले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

प्रतियोगिता दौरान हुने वार्षिक साधारणसभामा भाग लिन दक्षिण एसियाली सेपाकताक्रो महासंघका तीन नेपाली पदाधिकारी पनि टोलीसंगै कोलोम्बो प्रस्थान गरेका छन् । दक्षिण एसियाली सेपाकताक्रो महासंघका अध्यक्ष सीताराम मास्के, उपाध्यक्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्ट र महासचिव ध्रुव गुरुङ कोलोम्बो गएका छन् । राखेपका प्रेस सल्लाहकार रोहितकुमार दाहाल पनि टोलीसंगै कोलोम्बो हिँडेका छन् ।

टोलीलाई नेपाल सेपाकताक्रो संघका सदस्य एवं झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, नेपाल कराते महासंघका महासचिव एवं नेपाल वादोरियो कराते डो संघका अध्यक्ष हरिशरण केसीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

पहिलो संस्करण २०१३ मा नेपालले आयोजना गरेको थियो । पुरुष विधा मात्र समावेश उक्त संस्करणको डबल्स, रेगु र टिम इभेन्ट तीनैमा नेपालले रजत जितेको सेपाकताक्रो संघले जनाएको छ । त्यसबेला नेपालसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानले भाग लिएका थिए । यसपटक पनि यिनै पाँच राष्ट्र दोहोरिने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ