arrow

दोहा उड्न लागेको विमानका क्याप्टेन सम्पर्कविहीन भएपछि.......

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
nepal-airlines--airport.jpeg
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा जान एक सय ९० यात्रु नेपाल वायुसेवा निगमको जहाजभित्र सिटमा तम्तयार छन् । जहाज मंगलबार राति साढे ११ बजे उड्ने तालिका अनुसार एक घण्टादेखि तयारी हालतमा छ अनि एयर होस्टेस, स्टेवार्ड (चालक दल सदस्य) सबै दुरुस्त ।
 
तर जहाज उड्दैन । करिब आधा घण्टा अघि नै जहाजभित्र छिरिसकेका यात्रु अझै किन जहाज नउडेको हो भन्ने मेसो पाउँदैनन् । 
 
चालक दलका सदस्यले बल्ल साढे ११ बजे थाहा पाए– जहाज कमाण्ड गर्दै दोहासम्म उडाएर लैजानुपर्ने वरिष्ठ क्याप्टेन ओमबहादुर (ओबी) गुरुङको मोबाइल फोन ‘स्वीच अफ’ छ ।
 
उडान तालिका अनुसार उड्नु एक घण्टा अघि नै क्याप्टेन र को–पाइलट विमानस्थल पुगिसकेको हुनुपर्छ । 
 
तर क्याप्टेन गुरुङ भने मोबाइल स्वीच अफ गरेर ‘गैरजिम्मेवार’ तरिकाले सम्पर्कविहीन भएपछि बाँकी चालक दलले उडान रद्द भएको घोषणा ग¥यो ।
 
यात्रु निराश हुँदै मध्यरात १२ बजेबाट जहाजबाट बाहिर निस्किए । निगम व्यवस्थापनले उनीहरुलाई मध्यरात बल्लबल्ल होटल खोजेर सुत्ने व्यवस्था मिलाइदियो ।
 
उनीहरु बुधबार बिहान निगमकै त्यही जहाजबाट बल्ल दोहा उड्न पाए । सम्बद्ध स्रोतका अनुसार क्याप्टेन गुरुङले जहाज उडाउन नआउनुको कारण भने उनको उडान अनुमतिपत्र (लाइसेन्स) को म्याद सकिनु पो रहेछ ।
 
‘क्याप्टेन गुरुङको गल्ती त छँदैछ, तर सबैभन्दा ठूलो गल्ती लाइसेन्स म्याद सकिएका क्याप्टेनलाई जहाज उडान तालिकामा राख्ने व्यवस्थापनको हो,’ सम्वद्ध स्रोतले भन्यो, ‘यसमा सम्वद्ध सबैलाई कडा कारवाही गर्नुपर्छ ।’ (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ