गोरखा । पृथ्वीजयन्ती मनाउन गोरखा सदरमुकाममा स्थानीय भेला भइरहेका थिए । दौरा–सुरुवाल र श्रीपेच लगाएका ‘पृथ्वीनारायण शाह’ त्यहीँ आइपुगे ।
उनको हातमा तरबार र ढाल थियो । कम्मरमा पटुकी बाँधेर खुकुरी भिरेका । र्यालीका सहभागी उनैलाई हेर्न थाले ।
गोरखा नगरपालिका–१ पँदेलीका ओमबहादुर श्रेष्ठ पृथ्वीजयन्ती मनाउन पृथ्वीनारायण शाहकै भेषमा आएका थिए । उनी र्यालीका आकर्षक बने ।
बाजागाजा अगाडि लगाएर, दायाँ हात उठाएर हिँड्दा उनी पृथ्वीनारायण शाहजस्तै देखिएका थिए । नक्कली पृथ्वीनारायण बनेका श्रेष्ठसँग तस्बिर खिचाउनेको भीड लाग्यो ।
र्यालीमा उनीसँग तस्बिर खिच्न समय माग्नेलाई उनी ठट्यौली पारामा उत्तर दिन्थे, ‘पृथ्वीनारायण शाह मेरो बाजे हुन् ।’
पृथ्वीनारायणको जस्तै पोसाक बनाउन पाँच हजार लागेको श्रेष्ठले बताए । ‘काठको तरबार बनाएको छु, नाङ्लोलाई रङरोगन गरेर ढाल बनाएको छु,’ उनले भने, ‘सीप जानेको मान्छे, बाबियो र बिजुलीको बल्बले श्रीपेचको भवर बनाएको हुँ, श्रीपेचलाई रङ लगाएपछि उस्तै देखिएको छ ।’
उनी पहिलोपटक यही वर्ष भएको नवौँ गोरखा महोत्सवमा पृथ्वीनारायणको भेषमा देखिएका थिए ।
त्यतिवेला धेरैले मन पराएपछि पृथ्वीजयन्तीमा पनि त्यही पहिरन लगाएको उनको भनाइ छ । ‘अब सार्वजनिक कार्यक्रममा यही पहिरन लाउँछु,’ उनले भने ।
युवा पुस्ताले शाहलाई नभुलून् भनेर आफू शाहको भेषमा आएको उनले बताए । पृथ्वीनारायणको योगदानलाई ओझेलमा पार्ने गरी प्रचार हुन थालेको भन्दै उनले दुःख व्यक्त गरे । बजार परिक्रमा गरेर ¥यालीका सहभागीले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए ।
जनस्तरबाट मनाइयो पृथ्वीजयन्ती
पृथ्वीनाराण शाहको जन्मस्थल गोरखामा उनको २९५औँ पृथ्वीजयन्ती जनस्तरबाटै विविध कार्यक्रम गरी मनाइएको छ । सरकारले कुनै औपचारिक कार्यक्रम नगरेपछि जनस्तरबाटै मनाइएको हो ।
नेपाल एकीकरण गर्ने शाहको सम्झनामा सरकारले पृथ्वीजयन्ती मनाउन कुनै चासो नदिएको भन्दै कार्यक्रमका सहभागीले आक्रोश पोखेका थिए ।
उता राप्रपाको आयोजनामा बुधबार सदरमुकामको हरमटारीबाट बाजागाजासहित र्याली निक्लिएको थियो ।
र्याली गोरखा संग्रहालयस्थित पृथ्वीनारायण शाहको सालिक पुगेर सभामा परिणत भएको थियो । सरकारले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन कन्जुस्याइँ गरेको भन्दै कार्यक्रमका सहभागीहरूले चिन्ता जनाए ।
‘पृथ्वीनारायण शाह राष्ट्रपिता हुन्, राष्ट्रपिताको सम्मानमा बिदा नदिनु नेपालीकै अपमान हो,’ गोरखा क्याम्पसका प्रध्यापक यदु अधिकारीले भने ।
राष्ट्रिय एकता, रक्षा र देशलाई अखण्ड राख्न राष्ट्रिय रूपमै एकता दिवस मनाउन राप्रपा जिल्ला अध्यक्ष भगवान मल्लले माग गरे ।
०६४ यता जनस्तरबाटै मनाइन्छ
०६४ मा तत्कालीन माओवादीले पृथ्वीनारायण शाहको सालिक तोडेपछि स्थानीयको सक्रियतामा पुनः सालिक निर्माण गरिएको छ ।
त्यसयता गोरखामा जनस्तरबाटै पृथ्वीजयन्ती मनाउन थालिएको हो । ‘इतिहासलाई भुल्न हुँदैन, इतिहास बिर्सिएर हामीले पृथ्वीनारायण शाहलाई अपमानित गर्न हुन्न,’ गोरखा संग्रहालयकी प्रमुख करुणा राईले भनिन्, ‘२९५औँ वर्षमा पनि शाहको उपदेशहरू सान्दर्भिक छ ।’ (नयाँ पत्रिका दैनिक)