arrow

कञ्चनपुरका ग्रामीण क्षेत्रमा सौर्य ऊर्जाको प्रयोग बढ्दो

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
solar.jpg.jpeg
कञ्चनपुर। बढ्दो विद्युत्भार कटौतीका कारण विद्युतीय ऊर्जाको विकल्पका रुपमा कञ्चनपुरका ग्रामीण क्षेत्रका बासिन्दा सौर्य ऊर्जाको प्रयोग गर्न थालेका छन् । 
 
घरायसी प्रयोजनका लागि सौर्य ऊर्जाको माग यहाँका ग्रामीण क्षेत्रमा बढ्दो रुपमा रहेको छ । 
 
सौर्य ऊर्जाको यहाँका बासिन्दाले पानी तताउने, कम्प्युटर चलाउन, टेलिभिजन, पङ्खा र बत्ती बाल्नका लागि प्रयोग गर्दै आएका छन् । 
 
शङ्करपुरका रामप्रसाद रानाले विद्युत् नपुगेको क्षेत्रमा सौर्य ऊर्जा प्रणाली प्रभावकारी भएको उल्लेख गर्दै बाढीले विस्थापनमा पारेपछि लालझाडी वन छेउ विद्युत्को विकल्पका रुपमा चार वर्षदेखि सौर्य ऊर्जा प्रणाली जडान गरेर विद्युत्को आपूर्ति गर्दै आएका बताउनुभयो । 
 
विद्युत् नपुगे पनि विकल्पका रुपमा सौर्य ऊर्जाको प्रयोग गर्दै आएको उहाँले बताउनुभयो । 
 
घरेलु सौर्य विद्युत् प्रणालीमा सरकारले रु चार हजारदेखि रु १० हजारसम्म अनुदान दिने भएकाले यसप्रति ग्रामीण क्षेत्रका बासिन्दा बढी आकर्षित भएको नौखरीका खडक चौधरीले बताउनुभयो । 
 
“एकल महिला, पिछडिएका वर्ग, विपत्ती पीडित, गरिब, द्वन्द्वबाट प्रभावित तथा सरकारले पहिचान गरेका लोपोन्मुख जनजातिको हकमा प्रति लक्षित घरधुरीलाई थप अनुदान रकमसमेत उपलब्ध गराउने सरकारी व्यवस्थाले सघाउ पु¥याएको छ” – उहाँले भन्नुभयो । 
 
रु १० हजारदेखि रु ५० हजारसम्ममा सौर्य ऊर्जा विद्युतीय प्रणाली जडान गर्न सकिने र विद्युत्भार कटौतीको विकल्पका रुपमासमेत सर्वसाधारणले यस प्रणालीको उपभोग गर्दै आएका छन् । 
सौर्य ऊर्जाको क्षेत्रमा कार्य गर्दै आएका कम्पनीका अनुसार मासिक रुपमा छदेखि १० वटासम्म सौर्य ऊर्जा प्रणालीको कञ्चनपुरमा खपत हुने गरेको छ ।
 
बढ्दो विद्युत्भार कटौतीले सौर्य ऊर्जाको महत्व बढाएको उल्लेख गर्दै जिल्ला विकास समितिको ऊर्जा तथा वातावरण एकाइ कार्यालय कञ्चनपुरका प्रमुख दिनेश लम्सालले इन्भर्टर र जेनेरेटरको खर्च धान्न नसक्ने सर्वसाधारणका लागि सौर्य ऊर्जा उपयोगी सावित भएको बताउनुभयो । 
 
विसं २०६५ देखि ऊर्जा तथा वातावरण एकाइको यहाँ स्थापनापछि सौर्य ऊर्जाको खपत बढेको हो । कञ्चनपुरमा २०६५ सालदेखि हालसम्म सौर्य ऊर्जाको प्रयोग गर्नेको सङ्ख्या एक हजार ६९ पुगेको छ । 
 
ऊर्जा तथा वातावरण एकाइको तथ्याङ्कअनुसार बेलडाँडी नगरपालिकामा २७९, बेलौरी नगरपालिकामा १८६, देखतभूलीमा ९१, दोधारा नगरपालिकामा १३३, शङ्करपुरमा ७८, रौतेली विचवा र बाइसे विचवामा ५२÷५२ वटा, झलारीपिपलाडी नगरपालिकामा ६०, कृष्णपुर नगरपालिकामा ४८, बेदकोट नगरपालिकामा ६२ घरमा सौर्य ऊर्जा प्रणाली जडान गरिएको छ । 
 
यसैगरी, पुनर्वास नगरपालिकामा १०, रैकवार विचवाका ३० घरमा सौर्य ऊर्जा जडान गरिएको छ । सरकारले विद्युत् नभएको बेला पनि सहर क्षेत्रलाई उज्यालो राख्नका लागि अनुदानमा सौर्य सडक बत्ती जडान गर्ने योजना ल्याएपछि नगरपालिकाले कार्यक्रमलाई अगाडि सारेका छन् । पुनर्वास नगरपालिकाले नगरका १० बढी ठाउमा सौर्य बत्ती जडान गरेको छ । 
 
सत्तरी प्रतिशत सरकारले २० प्रतिशत सम्बन्धित नगरपालिकाले र १० प्रतिशत स्थानीय जनताले खर्च व्यहोर्नुपर्ने व्यवस्थाअनुरुप नगरपालिकामा सडक बत्ती राखिएको नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बुढाले बताउनुभयो । 
 
यसैगरी, झलारी पिपलाडी नगरपालिकाले आव २०७४÷७५ मा कार्यान्वयन हुने गरी रु १० लाख रकम सौर्य बत्तीका लागि बजेट विनियोजन गरेको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ