arrow

स्थानीय निकायको निर्वाचन हुन्छ : मन्त्री पाण्डे

logo
प्रकाशित २०७३ पुष २८ बिहिबार
hitraj-pandye.jpeg

ललितपुर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले छिट्टै स्थानीय निकायको निर्वाचन हुने बताएका छन्  । स्थानीय विकास मन्त्रालयले गोदावरीमा गरेको सुनौला हजार दिन आयोजना कार्यान्वयन तथा प्रगति समीक्षा गोष्ठीमा मन्त्री पाण्डेले सङ्क्रमणकालीन अवस्थालाई तोडेर हुने निर्वाचन सफल बनाउन तयारी अवस्थामा रहन स्थानीय विकास अधिकारीहरुलाई आग्रह गरेका हुन् ।

स्थानीय विकास अधिकारीलगायतका कर्मचारीले उचित कार्ययोजना बनाएर कार्यान्वयनतर्फ लाग्न पनि उहाँले निर्देशन दिए । ‘पोषणका लागि समुदायको क्रियाशीलता आयोजनाः सुनौला हजार दिन’ नारासहित सुरु भएको आयोजना चैत महिनासम्म सम्पन्न गराउनुपर्ने भएकाले त्यसतर्फ उत्सुकतापूर्वक काम गर्नुपर्नेमा जोड दिँदै उनले विश्वबैंकको सहयोगमा सञ्चालन भइरहेको यो आयोजना समयभित्रै सम्पन्न गराउन जरुरी रहेको छ भने ।

मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले आयोजनामार्फत स्थानीय समुदायमा बालबालिका तथा मातृ कुपोषणलाई न्यूनीकरण गर्न आवश्यक वस्तु तथा सेवाका लागि वित्तीय तथा प्राविधिक सहयोग उपलब्ध भइरहेको बताए । प्रजनन उमेर पुगेका महिला तथा दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार गर्न सामाजिक धारणा, व्यवहार र परम्परामा सुधार ल्याउनु आयोजनाको मुख्य लक्ष्य छ ।

समुदायमा बाल कुपोषणको जोखिम कम गर्ने र पहिलो गर्भवती कम्तीमा २० वर्ष उमेरमा हुने देखिएकाले बच्चा जन्मान्तरको समयावधि बढाउन जनचेतना अभिवृद्धिलगातका कार्य गर्ने आयोजनाको उद्देश्य रहेको बताइएको छ । उक्त आयोजना हाल ओखलढुङ्गा, खोटाङ, उदयपुर, सप्तरी, सुनसरी, सिरहा, सिन्धुली, रोमछाप, धनुषा, महोत्तरी, मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ