arrow

‘सुबिसु आइसिटी सम्मेलन–२०१७’ सुरु

आइसिटीलाई विकाससँग जोड्ने सरकारको योजना : सञ्चार मन्त्री कार्की

logo
प्रकाशित २०७३ माघ १६ आइतबार
ictconfres.jpeg
काठमाडौँ ।  ‘सुबिसु आइसिटी सम्मेलन–२०१७’ सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले आयोजना गरेको ‘सुबिसु आइसिटी सम्मेलन–२०१७’ आइतबार  र सोमबार चल्ने छ । कार्यक्रमको उद्घाटन गर्दै  सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना, सञ्चार र प्रविधिलाई विकाससँग जोड्ने सरकारको योजना रहेको बताए ।  मन्त्री कार्कीले मुलुकको विकास प्रक्रियालाई आइसिटीसँग जोड्नुपर्छ भन्ने महसुस सरकारले पछिल्लो समयमा गरेको बताए। 
 
“बङ्गलादेशलगायत केही मुलुक धेरै पछाडि थिए तर अहिले ती मुलुक आइसिटीमा धेरै अगाडि आइसकेका छन, हामी अगाडि बढ्न सकिरहेका छैँनौँ, यसबारेमा नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण लगायतका निकायलाई निर्देशनसमेत दिइएको छ” – सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने। 
 
‘हात–हातमा मोबाइल घर घरमा इन्टरनेट’को नारा मात्रै लगाउनेभन्दा पनि इन्टरनेट सेवा के का लागि उपयोग गर्ने भन्ने महत्वपूर्ण भएको मन्त्री कार्कीको भनाइ थियो । 
 
मन्त्री कार्कीले भने – “सूचना प्रविधिको विकास भएसँगै अहिले हुलाक सेवाको काम देखिएको छैन, अब मन्त्रालयले हुलाक सेवालाई सूचना केन्द्रका रूपमा र सूचना विभागलाई सूचना भण्डारणका रूपमा काम गर्ने गरी जिम्मेवारी दिँदैछ ।” सरकारले ग्रामीण क्षेत्रका बालबालिकाको कम्प्युटरमा पहुँच पुर्‍याउने प्रयास गरिरहेको मन्त्री कार्कीले जानकारी दिए । 
 
महासङ्घका अध्यक्ष विनोद ढकालले महासङ्घले सूचना, सञ्चार तथा प्रविधिबारे सरकारसँग हातेमालो गरेर अगाडि बढ्न खोजिरहेको बताए  । 
 
सञ्चार सचिव महेन्द्रमान गुरुङले आइसिटीको प्रयोग बिना मुलुकको आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुन नसक्ने बताए । गाउँगाउँमा इन्टरनेट पुर्‍याउनुभन्दा पनि पूर्वाधारको विकास पहिलो प्राथमिकता हुनुपर्ने सचिव गुरुङको भनाइ थियो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा आइसिटीबारे कार्यपत्र प्रस्तुत र त्यसमाथि छलफल हुनछ । सम्मेलनमा दक्षिण कोरिया, भारत, जर्मनीलगायत विभिन्न देशका आइसिटी विज्ञको सहभागिता रहेको छ ।
 
 क्यान आई.सी.टी कन्फेरेन्स माघ १६ र १७ सोल्टी क्राउन प्लाजामा संचालन  हुनेछ । कन्फेरेन्समा  इन्फरमेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी फर सस्टनेवल डेभ्लोमेन्ट , स्मार्ट सिटी/ भिलेज/ कम्युनिटि, स्मार्ट एग्रिकल्चर, स्मार्ट एजुकेशन, स्मार्ट हेल्थ विषय वस्तुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुबाट कार्यपत्र पेश गर्ने छन् । 
 
यसै बीच भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ को आइतबार चौथौ दिन आज ६७ हजार ३ सय ८ जनाले अवलोकन गरेका छन् । आइतबार सम्म २ लाख ७ हजार ५८ जनाले मेलाको अवलोकन गरिसकेका छन् ।
 
प्रदर्शनीमा आज पनि अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । प्रदर्शनीमा सहभागि बालकदेखि बृद्धसम्मको भिडले नेपालमा सूचना प्रविधिप्रति आम सर्वसाधारणको चासो बढेको आभास भएको छ । विगतका वर्षहरुमा युवाहरुको प्रभुत्व रहने क्यान इन्फोटेकमा यो वर्ष बयस्कहरुको पनि बाहुल्यता रहेको पाइयो ।
 
 आज विभिन्न विशिष्ट व्यक्तिहरुले मेलाको अवलोकन गरे । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतम लगायतले इन्फोटेकको अवलोकन गरे ।
 
इन्फोटेकमा भोली सोमबारलाई बिजनेश डे घोषणा गरिएको छ । उक्त दिनको प्रवेश शुल्क १०० तोकिएको छ । उक्त दिन विशेष गरी बिजनेश हाउसेसहरुले आफ्नो व्यापार प्रवद्र्धनको लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा बिजनेश डिल गर्न सक्नेछन्  । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ