arrow

काँग्रेसी कर्मचारीमा तात्यो चुनावी माहोल, सर्वसम्मत चुनिएला नेतृत्व ?

यस्तो बन्दैछ संगठन संरचना

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
Nijamati-Karmachari-Union-Logo1.jpeg
काठमाडौं । काँग्रेस निकट कर्मचारीहरुको संगठन निजामती कर्मचारी युनियन (संघ) यतिबेला चुनावी माहोल होमिएको छ । आउँदो फाल्गुन २२ र २४ गते चितवनमा गर्ने तयारी भईरहेको महाधिवेशन र विशेष गरी महाधिवेशनमा नेतृत्वको लागि हुने निर्वाचनको लागि यतिबेला केन्द्रीय उम्मेदवारका आकांक्षीहरु देश दौडाहामा हिँड्न थालिसकेका छन् भने जिल्ला तथा विभागीय कार्य समितिको नेतृत्वका आकांक्षी पनि यतिबेला खुलेर प्रचारप्र्रसारमा लागिरहेका छन् । 
 
प्रजातान्त्रिक विचारको छाताभित्र रहेका दुई कर्मचारी संगठनहरु निजामती कर्मचारी युनियन र संघबीच एकता भएपछि पहिलो पटक हुन लागेको महाधिवेशनलाई काँग्रेसी कर्मचारीहरुले एकताको महाधिवेशन भन्दै नेतृत्व सर्वसम्मत चयन हुने दाबी गर्दै आएका छन् । युनियनका महासचिव जीतबहादुर मडैले यो एकताको महाधिवेशन भएकोले यसमा निर्वाचन भन्दा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने तर्फ कर्मचारी नेताहरु प्रयासरत रहेकोले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना बढी रहेको दाबी गरे । तर, अन्त्यसम्म सर्वसम्मत नेतृत्व चयन हुन सकेन भने पनि  सभ्य र भव्य ढङ्गले नयाँ नेतृत्व चयन हुने दाबी गरे । 
 
युनियन(संघ)ले फाल्गुन १५ गतेसम्म सबै जिल्ला तथा विभागीय कार्य समितिको अधिवेशन गराईसक्ने कार्यतालिका तय गरेको छ । माघ १५ गतेदेखि फाल्गुन १५ गतेसम्म जिल्ला तथा विभागीय कार्य समितिको अधिवेशन गराउने भनिएपनि अहिलेसम्म कुनै जिल्ला तथा विभागीय कार्य समितिको अधिवेशन भएको छैन । अधिवेशनको सुरुवात २१ गते वन विभागबाट हुने बताईएको छ । 
 
उता, नेतृत्वको लागि केन्द्रमा कस–कसले कुन पदमा उम्मेदवारी दिने भन्नेमा अपुष्ट चर्चा चल्ने गरेको छ । तरपनि अहिले तत्कालै सबै उम्मेदवारहरु आफ्नो उम्मेदवारी घोषणा गरिहाल्ने तयारीमा नरहेकोले यति नै उम्मेदवार हुन्छन् भनेर अहिलेनै यकीन गर्न सकिने अवस्था रहेको छैन । यद्यपि केही उम्मेदवारले भने घोषणा गरिसकेको अवस्था छ । तर, अधिकांश जिल्ला तथा विभागीय कार्यसमितिमा भने साँच्चैको एकताको महाधिबेशन हुने अवस्था देखिन्छ । अधिकांशमा नयाँ नेर्तत्व सर्वसम्मत चयन हुने देखिएको हो । 
 
कस्तो बन्दैछ संघको संरचना 
मुलुक संघीयतामा गईसकेकोले संघले पनि आफ्नो संगठन संरचनालाई संघीय ढाँचा लैजाने भएको छ । जसअन्तर्गत् केन्द्रमा एउटा केन्द्रीय संगठन संरचना रहन्छ भने प्रदेशमा प्रादेशिक सभाको रुपमा २१ सदस्यीय प्रदेश कार्यसमिति बन्ने संघले जनाएको छ । त्यस्तै, विभागीय कार्य समिति र जिल्ला कार्य समितिमा क्रमशः बढीमा १७÷१७ सदस्यीय कार्यसमिति बन्ने भएको छ । संघले स्थानीय तह बनेपछि स्थानीय कार्य समितिको रुपमा १३ सदस्यीय कार्यसमिति बनाउने गरी प्रस्ताव पारित गराएको छ । 
 
यसरी जिल्ला, प्रदेश, तथा विभागीय समितिमा खुल्ला महिला र समावेशी उपाध्यक्षहरु क्रमशः १÷१ जना र सहसचिवमा युवा नै हुनुपर्ने प्रावधान संघको नयाँ विभानमा राखिएको छ । 
 
संघको केन्द्रीय सभा भने कूल ८५ सदस्यीय हुने भएको छ । जसमा एकजना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एकजना खुल्ला उपाध्यक्ष, प्रत्येक प्रदेशबाट एकएक जना प्रदेश उपाध्यक्ष रहनेछन् । त्यस्तै, महिला, मधेशी, आदिवासी र श्रेणीविहीनबाट एकएक जना उपाध्यक्ष र केन्द्रीय स्तरका कार्यालय तथा संघीय कार्यसमितिका प्रतिनिधिहरुले भोट दिएर निर्वाचित गर्ने एक जना उपाध्यक्ष बन्ने भएका छन् । 
 
त्यस्तै, महासचिव एक जना र उपमहासचिव २ जना रहने व्यवस्था गरिएको छ भने ४ जना खुल्ला सचिव रहने व्यवस्था गरिएको छ । यस बाहेक मधेशी सचिव १ जना, आदिवासी जनजाती सचिव १ जना र कोषाध्यक्ष पनि एक जना रहने व्यवस्था गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ