arrow

काठमाडौं कुरुप बनाउने दुई इन्स्टिच्युटलाई नाटकीय शैलीमा पक्राउ गर्‍यो महानगरले

माफी माग्दै टाँसिएको विज्ञापन उप्काए इन्स्टिच्युटहरुले, १५/१५ हजार जरिवाना गर्ने तयारी

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
Poster_mahanagar.jpeg
काठमाडौं । विद्यार्थीबाट पैसा लिएर विदेश पठाउने कुनैपनि इन्स्टिच्यूटका सञ्चालकहरुले सोचेका पनि हुँदैनन् होला त्यस्ता विद्यार्थीले नै आफैंलाई पक्राउ गरेर उल्टै आफ्नै पैसा नोक्सान गराईदिन्छ भन्ने । तर, काठमाडौंका विभिन्न स्थानमा रहेको विजुलीको पोलमा विज्ञापन गरेर काठमाडौंलाई कुरुप बनाउने दुई इन्स्टिच्यूटका सञ्चालकहरुलाई भने महानगरपालिकाको राजश्व विभागले पठाएको नगरप्रहरीको टोलीले भने यस्तो पनि हुन्छ भन्ने कुरा सावित गराईदिएको छ । 
 
काठमाडौंको माईतीघर, सर्वाेच्च अदालत अगाडि हुँदै पुतली सडकक्षेत्रसम्मका विजुलीका खम्बाहरुमा पोष्टर टाँस्ने दुई इन्स्टिच्यूटका सञ्चालकहरुलाई यसरी नै महानगर प्रहरीले पक्राउ गरेर कारबाही समेत गरेको छ । बिहीबार नयाँ वानेश्वरमा रहेको कोरियन भाषा पाठशालामा कोरिया जाने विद्यार्थी बनेर महानगर प्रहरीको सादा पोसाकको टोली कार्यालयमा पुग्यो । 
 
सञ्चालक दीपक राउतले पनि विद्यार्थी भनेपछि राम्रै सम्मान गरे । एकछिन कुराकानी भएपछि एक्कासी राउतले विद्यार्थी बनेर आएका महानगरप्रहरीको सक्कली परिचय देखे । त्यसपछि उनी छाँगाबाट खसेजस्तै बने । सादा पोसाकका प्रहरीले उनलाई त्यहीबाट पक्राउ गरेर महानगरको कार्यालय पुर्यायो । उनीसँगै बिहीबार नै यही शैलीमा डिफेन्स क्यारियर एकेडेमीका सञ्चालक प्रमोद ढुङगानालाई पनि पक्राउ गरिएको छ । 
 
काठमाडौं महानगरपालिका राजश्व विभाग अन्तर्गत् राजश्व महाशाखा प्रमुख ध्रुव काफ्लेले काठमाडौं उपत्यकामा यस्ता गैरकानूनी पोस्टर तथा होर्डिङ बोर्ड निकाल्ने अभियानको सुरुवात भएको जानकारी दिए । उनले काठमाडौंमा राजश्व नतिरी गैरकानूनी रुपमा विज्ञापन गर्ने र शहरको सुन्दरता समेत विगार्ने गरी गरिएका विज्ञापनदाताहरुलाई अब फोहोरमैला व्यवस्थापन ऐन २०६८ को प्रावधान अनुसार कारबाहीको दायरामा ल्याउने काम सुरु भएको बताएका छन् । 
 
त्यस्तै, बिहीबारको कारबाहीको कमाण्ड सम्हालेका नगर प्रहरीका प्रहरी नायव निरीक्षक पूर्णचन्द्र भट्टले २०७२ सालमा नै सर्वाेच्च अदालतले समेत यसरी सार्वजनिक स्थानमा सुन्दरता विगार्ने गरी पोस्टर टाँस्न नदिन आदेश गरिसकेकोले सर्वाेच्चको आदेश विपरितको काम कसैगरी पनि हुन नदिने बताए । 
 
यी दुई कम्पनीहरुलाई तत्कालै टाँसिएको विज्ञापन उप्काउन लगाईएको छ । यसरी विज्ञापन उप्काएपछि उनीहरुलाई १५ हजार जरविाना गराउने तयारी भईरहेको महानगर स्रोतले जानकारी दियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ