arrow

मन्त्रिपरिषद् बैठक : यस्तो भो निर्णय

वैशाख मसान्तदेखि जेठ १० गतेभित्र निर्वाचन गर्ने तयारी गर्न आयोगलाई औपचारिक पत्र

logo
प्रकाशित २०७३ माघ २० बिहिबार
cabinet-news-aa-14.jpeg

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको वातावरण तयार पार्न निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको छ । सिंहदरबारमा विहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको वातावरण तयार पार्न आयोगलाई अाैपचारिक रुपमै पत्र पठाउने र मिति घोषणाका लागि दलीय छलफललाई तीब्र पार्ने निर्णय गरेको हो ।

२०७४ वैशाख मसान्तदेखि जेठ १० गतेभित्र निर्वाचन गर्ने तयारी गर्न आयोगलाई आग्रह गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए । सरकारले आयोगलाई निर्वाचनको तयारी गर्न निर्देशन दिएसँगै स्थानीय तह निर्वाचनबारे अन्यौलता हटेको मन्त्री कार्कीको भनाई छ ।

मन्त्रिपरिषद् बैठकले दुई नम्बर प्रदेशको सीमाङ्कनको विषयमा विवाद भइरहेकाले त्यसको अध्ययन गरी सुझाव दिन समिति गठन गरेको छ । स्थानीय विकास मन्त्री हितराज पाण्डे संयोजक रहेको समितिमा आपूर्तिमन्त्री दीपक बोहोरा र उद्योग मन्त्री नविन्द्रराज जोशी सदस्य छन् । समितिको सदस्य सचिवको जिम्मेवारी स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई दिइएको मन्त्री कार्कीले बताए ।

समितिलाई दुई १५ दिनभित्र अध्ययन प्रतिवेदन सरकारलाई बुझाउन भनिएको छ । कार्यदललाई मुख्यतः २ नम्बर प्रदेशको स्थानीय तह निर्धारणबारे सुझाव दिन कार्यादेश दिइएको छ । यस्तै, बैठकले चीनको गोञ्जाओको महावाणिज्यदूतमा सहसचिव रवि भण्डारीलाई पठाउने निर्णय गरेको छ ।

बैठकले तनहूँको बालिङ, खरेपानी क्षेत्रभित्रका ८ वटा जङ्गलमा चीडियाखाना निर्माण गर्ने निर्णय गरेको छ । यस्तै, शिशिर ढुङ्गानालाई सचिवमा बढुवा गरेको छ, भने यमकुमारी खतिवडालाई कायम मुकायम सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले सबै मन्त्रालयहरुमा पूँजीगत खर्च कम र चालु खर्च बढी देखिएकोबारे अध्ययन गर्न अनुगमन समिति बनाउने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ