काठमाडौं । नेपाल टेलिकमले आफ्नो तेह्रौँ वार्षिकोत्सवको अवसरमा शुक्रबार प्रभातफेरी गरेको छ । प्रभातफेरी बसन्तपुरबाट न्यूरोडगेट, वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग र भद्रकाली हुँदै टेलिकमको कार्यालयमा पुगेर सम्पन्न भएको थियो ।
सो अवसरमा टेलिकम राष्ट्रको सञ्चार, ग्राहक सेवामा समर्पित, राष्ट्र निर्माण हाम्रो लक्ष्य, नेपाल टेलिकम जनताको टेलिकम, सेवामा विविधता महसुलमा पारदर्शिता जस्ता कम्पनीका सेवाहरुसँग सम्बन्धित विभिन्न नारा अंकित प्लेकार्ड प्रदर्शन गर्नुका साथै सेवासँग सम्बन्धित सामग्रीहरु प्रसारण गरिएको थियो ।
समापन कार्यक्रममा बोल्दै कम्पनीकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले गुणस्तरीय सेवा प्रदान गरी ग्राहक सन्तुष्टि वृद्धि गर्ने कार्यमा एकतावद्ध भई लाग्न सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरिन् ।
यस्तै कम्पनीले शुक्रबार आयोजित एक कार्यक्रममा गत आर्थीक वर्ष २०७२-७३ मा काठमाडौं क्षेत्र अन्तर्गत कम्पनीका सेवाहरुको सबैभन्दा बढी कारोबार गर्ने विक्रेताहरु र बढी बिल भुक्तानी गर्ने ग्राहकहरुलाई सम्मान गरेको छ ।
नेपाल टेलिकमले भोलि शनिबार तेह्रौँ वार्षिकोत्सव मनाउँदै छ ।