arrow

पैसा नभएपछि खानेपानी हाहाकार हुने चेतावनी दियो मन्त्रालयले नै

logo
प्रकाशित २०७३ माघ २२ शनिबार
water-lacking.jpg.jpeg
काठमाडौ । मेलम्चीको पानी वितरण गर्न पाइप बिछ्याउँदा करिब ५५ प्रतिशत पुराना पाइप टुटफुट भएकाले तिनको तत्काल मर्मत नगरे खानेपानीको अभाव हुनसक्ने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । मर्मतसम्भार बजेट नभएकाले तत्काल ३१ करोड रुपैयाँ उपलब्ध नगराए राजधानीमा खानेपानी हाहाकार हुने मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले जानकारी दिए । 
 
सचिव उपाध्यायले सडक विस्तार क्रममा खानेपानीका पुराना पाइप ठोक्किँदा फुटेका र काटिएको जानकारी संसदीय विकास समितिको शुक्रबार बसेको बैठकमा दिएका हुन् । उनले भने, ‘टुटेफुटेका र बिग्रिएका पाइप मर्मत गर्न ३१ करोड रुपैयाँ तत्काल चाहिएको छ ।
 
तर मन्त्रालयसँग बजेट छैन । करिब ५५ प्रतिशत पाइप फुटेकाले तत्काल नफेरे केही समय राजधानीमा खानेपानी हाहाकार हुनसक्छ ।’ उनले सडक विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, काठमाडौं महानगरपालिका लगायतले सडकको अव्यवस्थित विस्तार गर्ने क्रममा खानेपानीका पाइप टुटफुट भएको बताए ।
 
उनले खानेपानीका पाइपका कारणले मात्र राजधानीमा धुँवाधुलोको प्रदूषण नभएको दाबी गरे । ‘पाइप बिछ्याएकै कारण धुँवाधुलो भएको होइन, बढीमा १० देखि १५ प्रतिशत मात्र यसबाट प्रदूषण भएको हुनसक्छ’, उनले भने, ‘धेरै धुलो उडेको भए काम पनि तीव्र गतिमा भइरहेको बुझ्दा हुन्छ ।’ अहिले मेलम्ची खानेपानी (पाइपलाइन विस्तार तथा पानी वितरण) आयोजना-२ ले उपत्यकामा खानेपानी वितरणका लागि ६ सय ७० किलोमिटर पाइपलाइन विस्तार गरिरहेको छ ।
 
समितिले अहिलेको पानी वितरण सञ्जालसमेत सुधार भइरहेकाले र पाइपलाइन विस्तार गर्न खनेका सडकखण्ड पुनर्निर्माण एवं मर्मतसम्भार नगरेकाले राजधानी अत्यधिक प्रदूषित भएको भन्दै सरोकारवालासँग छलफल गरेको हो । समितिका सभापति रविन्द्र अधिकारीले विकास प्राधिकरण, सडक विभाग, महानगरपालिका, ललितपुर उपमहानगरपालिका र मेलम्ची खानेपानी आयोजना-२ बीच समन्वय एवं सहकार्य नभएकाले धुँवाधुलो बढेको जनगुनासो आएको बताउँदै तत्काल सबै काम सक्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएका थिए ।
 
अन्नपूर्ण पोष्टबाट
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ