arrow

नेपाल श्रीलंकासंग १–० ले पराजित, अवको यात्रा कठिन

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
nepal.jpg.jpeg
काठमाडौं । नेपाल ११औं दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप पहिलो खेलमै पराजित भएको छ । भारतको केरलास्थित त्रिबेन्द्रममा भएको उद्घाटन खेलमा समूह ‘ए’ मा रहेको नेपाल श्रीलंकासंग १–० को झिनो अन्तरले पराजित भएको हो । 
 
निर्धारित समय गोल रहित बराबरीमा सकिएकामा थपिएको अतिरिक्त समयमा श्रीलंकाले गोल गरेको हो । श्रीलंकालाई विजयी गराउन मोहम्मदले अन्तिम समयमा निर्णायक गोल गरे । नेपाली खेलाडी अल्मलिएको मौका चोरेर श्रीलंकाले सहजै गोल गरको हो । खेल अवधिभर बल नेपालकै नियन्त्रणमा रहेपनि नेपाली खेलाडीले थुप्रै अवसर खेल फाले । समग्रमा नेपाल ६३ प्रतिशत खेल फर्ममा थियो । ३७ प्रतिशत लयमा रहेको श्रीलंका अन्ततः विजयी भयो । नेपाल यो सहित पछिल्ला ११ खेलमा गोल विहिन भएको छ । गोल खडेरी चिर्ने नेपालको सपना चक्नाचुर भयो । नेपाल र श्रीलंकाको फुटबल टोलीबीच अहिले सम्म भएका १४ मध्ये नेपालले दुई खेल मात्रै जितेको छ ।
 
६ खेल बराबरी भएकामा ६ खेल श्रीलंकाले कब्जा गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको बरियता हेर्दा श्रीलंका १ सय ९४ औं स्थानमा छ । नेपाल १ सय ९२ औं स्थानमा छ । बरियता क्रममा नेपाल दुई स्थान माथि रहेपनि खेलाडीको कौशल र खेल समन्वयमा नेपाल पछि छ । नेपाल रहेको कठिन समूह ‘ए’ कै बलियो टोली भारत भने १ सय ६६ औं स्थानमा छ । सोही समूहमा रहेको अर्को टोली पाकिस्तानले प्रतियोगितामा भाग नलिने जानकारी गराइसकेको छ । प्रतियोगिता भारतमै भइरहेकाले पाकिस्तान सहभागि नभएको हो । प्रतियोगिताको समूह ‘बी’मा साविक विजेता अफ्गानिस्तान, माल्दिभ्स, बंगलादेश र भुटान छन् ।
 
नेपाल हाल सम्म साफ च्याम्पियनसिपमा सेमिफाइनलभन्दा माथि उक्लिन सकेको छैन । साफ खेल्ने आठ राष्ट्र मध्ये पाँच टोलीले प्रतियोगिता जितिसकेका छन् । भारत ६ पटक विजेता बन्दा अफगानिस्तान, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले एक–एक पटक प्रतियोगिताको उपाधि जितेका छन् । पाकिस्तान, नेपाल र भुटान हालसम्म उपाधिविहिन छन् । नेपाली फुटबल टोली यसपटक अनिल गुरुङको कप्तानीमा साफ खेल्न केरला पुगेको छ । टोलीमा नवयुग श्रेष्ठजस्ता युवा खेलाडीहरुको बाहुल्यता छ । यद्यपि, नयाँ खेलाडीले खासै प्रदर्शन गर्न सकेनन् । अन्तर्राष्ट्रिय खेल मिलेमतो प्रकरण र एन्फा अध्यक्ष गणेश थापा फिफा प्रतिबन्धमा परेपछि आलोचित बनेको नेपाली फुटबललाई साफ फुटबल छवि सुधारको अवसरको रुपमा हेरिएको छ । यद्यपि, नेपाललाई पहिलो गाँसमै ढुंगा लागेकाले अवको यात्रा कठिन बनेको छ । शनिबार नेपालले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी भारतसंग खेल्ने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ