arrow

‘एनसेलको सेयर बिक्रीमा लाभकर दायित्व टेलियाको हो’

आवश्यक परे स्विडेन सरकारसँग कुरा गरिने

logo
प्रकाशित २०७३ फागुन १ आइतबार
telia-sonera.jpeg
काठमाडौं। कर विज्ञ, कर प्रशासनका कर्मचारी, पुर्व अर्थ सचिव तथा आयकर ऐन बनाउन योगदान दिएका पुर्व सरकारी कर्मचारीहरुले गत वर्ष भएको एनसेलको स्वामित्व किनबेचमा पुँजीगत लाभकर बिक्रेता स्विडिस कम्पनी टेलियासोनेराले (हाल टेलिया कम्पनी) तिर्नेपर्ने स्पष्ट पारेका छन्। 
 
उनीहरुले यो कुरा स्वीडेनको राष्ट्रिय सार्वजनिक टेलिभिजन एसभिटीले बिहिवार प्रसारण गरेको अनुसन्धानमूलक कार्यक्रम अप्पड्राग ग्रान्स्कनिङ (मिसन रिभ्यु) मा बताएका छन् । नेपालमा संसदीय समिति, सरकारी कर्मचारी र सांसदहरुले टेलिया भागेको भन्दै यो कारोबारको लाभकरको दायित्व एनसेलले बहन गर्नुपर्ने बताई रहेको बेलामा स्विडेन कै मिडियाले यो कर टेलियाको दायित्व भन्दै टेलियाले तिर्नुपर्ने बताएको छ ।
 
उक्त कार्यक्रममा ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलले एनसेल बिक्री कारोबारमा लाग्ने पूँजीगत लाभकरको दायित्वबाट टेलिया उम्कन नसक्ने जनाउँदै आवश्यक परे स्विडेन सरकारसँग सरकारी स्तरमा कुरा गरेर भए पनि उसलाई जिम्मेवार बनाउने तयारी रहेको बताएका छन् । ‘एनसेलको कारोबारमा लाभकर लाग्छ । हामी अहिले अनुसन्धानको चरणमा छौं । टेलियाले कर तिर्नु पर्छ,’ पौडेलले भनेका छन् । ‘टेलियाले पहलकदमी नलिए मैले कर विभागलाई जानकारी गराउने छु, विभागले अर्थ मन्त्रालय हुँदै पराराष्ट्र मन्त्रालयलाई जानकारी गराउने छ, जसको स्विडेन सरकारसँग राम्रो सम्बन्ध छ । त्यसरी हामीले उसलाई पूँजीगत लाभकर तिर भन्न सक्छौं ।’
 
नेपालको कर्पोरेट इतिहासकै सबैभन्दा ठूलो व्यावसायिक करोबारको रुपमा चर्चित एनसेलको स्वामित्व हस्तान्तरणमा बिक्रेता टेलियाले हालसम्म पनि कारोबारको कर विवरण नेपाल सरकारलाई बुझाएको छैन । कार्यक्रमका अनुसार उसले होल्याण्ड, क्यारेबियन र नर्वेमा रहेको जटिल कर्पोरेट ढाँचा मार्फत नेपालको स्वामित्व राखेको थियो । त्यसैले शेयर कारोबारमा पूँजीगत लाभ भएको अवस्थामा त्यसको कर आफूले नर्वेमा तिर्ने अडान राख्दै आएको छ ।
 
उक्त कार्यक्रममा टेलियाको अडान दोहोर्याउदै टेलियाका कार्यकारी प्रमुख योहान डेनेलिन्ड भन्छन् ‘हामी कर तिर्छौ यदि कानूनी आधार छ भने मात्र । कानूनी आधार नभएले कर तिर्नु कुनै विकल्प होइन र हामीमाथी करको दाबी भएको पनि छैन ।’ उनले नेपालसँग नर्वेको दोहोरो कर उन्मुक्ति सम्झौता रहेकाले लाभकर तिर्नुपर्ने अवस्था नर्वेमा नै तिर्ने बताएका छन् ।
 
नेपालमा संसदिय समिति देखि कर विज्ञ समेतले एनसेलतर्फ करको दायत्वि स्थापित गर्न प्रयास गरिरहँदा कसैले पनि टेलियालाई उत्तरदायी बनाउन पहल नगरेको पनि उक्त कार्यक्रमले बताएको छ । यद्यपि टेलियाले लाभकर नतिरी नेपालबाट बाहिरिएको भन्दै यो लाभकर तिर्ने व्यवस्था मिलाउन पहल गर्न राष्ट्रिय युवा परिषदले गत असारमा स्विडिस सरकारसँग आग्रह गरेको थियो । यसका लागि परिषद्ले नेपाल स्थित स्विडेनको महावाणिज्यदुत गजेन्द्र बहादुर श्रेष्ठलाई ज्ञापनपत्र बुझएको थियो ।
 
‘कारोबार सम्पन्न हुने वितिक्कै हामीलाई नेपालको कर कार्यालयबाट कारोबार विवरण माग भएको थियो । हामीले तुरुन्तै उक्त कारोबारको विवरण दिन कानूनतः बाध्य नभएको जानकारी गरायौं । त्यस पछि हामीले कुनै पत्र पाएका छैनौं,’ डेनेलिन्ड भन्छन् । टेलियाले कारोबार विवरण नबुझाएकोले लाभकरको रकम कति हो हाल सम्म यकिन भएको छैन ।
 
उक्त टेलिभिजन कार्यक्रममा अर्थमन्त्री कृष्ण बहादुर महरा, पूर्व अर्थ सचिव तथा मुख्य सचिव बिमल कोईराला, पूर्व अर्थ सचिव रामेश्वर खनाल, पूर्व अर्थ सचिव विद्याधर मल्लिक लगायतले एकै स्वरमा टेलियाले लाभकर तिर्नु पर्ने बताएका छन् । ‘लाभकर लाग्छ, टेलिया यसबाट उम्कन सक्दैन,’ महराले भनेका छन् ।
 
‘सम्पत्ति नेपालमा छ र उक्त सम्पत्ति बेच्दा लाभ हुन्छ भने त्यसको लाभकर नेपालमै तिर्नु पर्छ । नेपालको आयकर ऐनले यहि भन्छ । त्यसैले टेलियाले लाभकर तिर्नु पर्छ,’ पूर्व अर्थ सचिव रामेश्वर खनाल भन्छन् । स्वास्थ्य मन्त्रि गगन थापाले लाभकर उठाउन राजनितिक ईच्छा शक्ति आवश्यक रहेको बताएका छन् ।
 
‘हामीले अन्तर्राष्ट्रिय मुद्रा कोष समेतको सहयोग लिएर आयकर ऐन बनाएका हौं । यो अन्य मुलुकका कर कानूनभन्दा आधुनिक छ । टेलियाले जस्तो सुकै संरचना मार्फत लगानी गरेको भए पनि बेचेको त यंिह भएको सम्पत्ति हो । त्यसको मूल्य पनि यहिं कारोबार गरेर बढाएको हो । त्यसैले लाभकर तिर्नु पर्छ,’ अर्का पूर्व अर्थ सचिव तथा मुख्य सचिव विमल कोइरालाले भनेका छन् । उनले यदि यो कारोबारमा नाफा नभएको भए टेलियाले सार्वजनिकरुपमा आफ्ना किन नदेखाएको भनेर प्रश्न पनि गरेका छन् ।
 
‘नेपालमा कर तिर्नु पर्दैन भन्ने टेलियाको अडानबाट म अचम्मित छु,’ आयकर ऐन लेखनमा संलग्न तत्कालिन कर विभागका महानिर्देशक तथा पूर्व अर्थ सचिव विद्याधर मल्लिकले भनेका छन् । ‘टेलियाले यस्तो भन्नु हुदैनथ्यो । किनभने उसले नेपालमा रहेको सम्पत्ति कारोबार गरेको हो र संसारभर लाभकर लाग्ने अवस्थामा बिक्रीकर्ताले नै तिर्ने हो ।’
 
टेलियाकै देश स्विडेनबाट आएर त्यहाँको टेलिभिजनले बनाएको कार्यक्रममा प्रस्तोता भन्छन् नेपालको आयकर ऐनले स्पष्ट भन्छ विदेशी स्वामित्वका लागि पनि ‘नेपालमा आय गर्ने व्यावसायिक गतिविधि वा लगानी छ भने’ कर दायित्व स्थापित रहन्छ । कार्यक्रमले टेलियालाई जिम्मेवार हुन तथा उत्तरदायित्व बहन गर्न पनि सुझाव दिएको छ ।
 
तर साथै कार्यक्रमका निर्माताले यो पनि भनेका छन्  नेपालका अधिकारी, राजनितिक तह तथा सांसद भने टेलियालाई कर तिराउनलाई प्रयास गर्नु भन्दा एनसेल तथा खरिदकर्ता आजियाटालाई दबाब दिइरहेका छन् । यसै अन्तर्गत एनसेलले करिब १० अर्ब रुपैयाँ अग्रिम कर तिरीसकेको छ । बाँकी कति तिर्नु पर्छ कसैले यकिन गर्न सकेको छैन किनभने टेलियाले कर विवरण बुझाएको छैन । ‘टेलियाबाट केहि प्राप्त भएको छैन । हामी अनुसन्धान गरिरहेका छौं,’ ठूला करदाता कार्यालय प्रमुख पौडेल भन्छन् ।
 
यता टेलिया भने कुनै दाबी नआएको भन्दै थप भन्छ उसले केहि गल्ती गरेको छैन र उ नेपालमा कर तिर्न बाध्य पनि छैन । ‘सहि सँधै सहि नै हुनुपर्छ । हामी कर तिर्छौ यदि कानूनी आधार छ भने । हामीले १० अर्ब स्विडिस क्रोनर (करिब १२० अर्ब रुपैया) नेपालमै छाडेका छौं र करिब १० अर्ब स्विडिस क्रोनर (करिब १२० अर्ब रुपैया) प्राप्त गरेका छौं, जोड घटाउ शुन्य छ । नेपालको कारोबारबाट हामीले लाभ प्राप्त गरेका छैनौं,’ टेलियाका प्रमुख कार्यकारी डेनेलिन्ड भन्छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ