arrow

अमेरिका र क्यानडा लैजाने भनेर यसरी हुन्छ मानव तस्करी

logo
प्रकाशित २०७३ फागुन ५ बिहिबार
human-trafficking.jpeg
काठमाडौं – अमेरिका, क्यानडा, अष्ट्रेलिया, युरोपलगायत विकसित राष्ट्र पुर्याइदिने प्रलोभनमा पारी मानवतस्कर गिरोहले मोटो रकम असुल्दै नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्र पुर्याई अलपत्र छाड्ने गरेको भेटिएको छ । नेपालीलाई ती राष्ट्रसम्म पुर्याउन उनीहरुले दक्षिणपूर्वी एसियालाई ट्रान्जिट बनाइरहेको समेत खुलेको छ ।
 
दक्षिणपूर्वी थुप्रै एसियाली राष्ट्रले नेपाललाई सहज रुपमा भिसा उपलब्ध गराउँदै आएका छन् । दक्षिणपूर्वी एसियाली केही राष्ट्रले नेपालीलाई शसुल्क अनअराइभल भिसा दिदै आएका छन् त केहीले निशुल्क । मानवतस्करले यही सुविधाको फाइदा उठाउँदै नेपालीलाई सहज रुपमा ती देश पुर्याइ मोटो रकम असुलेर अलपत्र छाड्ने गरेको पाइएको छ । 
'मानवतस्करले कैयौं नेपालीलाई पर्यटक भिसामा दक्षिणपूर्वी एसियाली राष्ट्र ल्याई अमेरिका, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया, जापान, युरोपलगायत देशको भिसा लगाई ती राष्ट्रमा पठाइदिने प्रलोभनमा पारी ठग्दै आएको देखिएको छ', थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले टेलिफोनबाट नागरिकसँग भने, 'तस्करहरुले दक्षिणपूर्वी एसियालाई ट्रान्जिट बनाएको देखिन्छ जसका कारण धेरै नेपाली यहाँ आइपुगेर ठगिने र अलपत्र पर्ने क्रम बढिरहेको छ।'
 
तस्करहरुले नेपालीसँग ८ देखि २० लाख रुपैयाँसम्म असुल्ने गरेका छन्। मोटो रकम असुलेपछि भने अलपत्र छाडेर तस्करहरु भाग्ने गरेका छन्। कतिलाई भने तस्करहरुले नै स्थानीय प्रहरी लगाएर पक्राउ गराएका समेत घटना छन्।
 
राजदूत अधिकारीका अनुसार नेपालीलाई विकसित राष्ट्र पुर्‍याइदिने प्रलोभन देखाई दक्षिणपूर्वी एसियाली राष्ट्र पुर्‍याउने तस्कर भने नेपाली नै हुन्। पीडितसँग उनीहरुले आफ्नो वास्तविक नाम नबताउने हुँदा तस्करको पहिचान भने गर्न सकिएको छैन। तस्करहरुले नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दक्षिणपूर्वी एसियाली राष्ट्रमा पुर्‍याउने गरेको पाइएको हो।
 
'तस्करले अमेरिका पुर्‍याइदिने भन्दै कम्बोडिया पुर्‍याई अलपत्र पारेका दुई नेपाली सोमबार मात्र दूतावासको सम्पर्कमा आएका छन्', राजदूत अधिकारीले जानकारी दिए। तस्करको साथ लागेर क्यानडा हिँडेका एक महिलासहित तीनमध्ये दुई नेपाली अहिले बैंककस्थित जेलमा छन्। क्यानडाको नक्कली भिसामा बैंकक पुगेका उनीहरुलाई केही दिनअघि तस्करले नै स्थानीय प्रहरीलाई खबर गरी पक्राउ गराएका थिए। पक्राउ परेका तीनमध्ये एक जना आँखा नदेख्ने भएकाले उनलाई नेपाल डिपोर्ट गरिसकिएको छ। बाँकी एक महिलासहित दुईलाई भने नक्कली भिसा प्रयोग गरेको आरोपमा प्रहरीले बैंककस्थित अदालतमा मुद्दा चलाएको छ।
नागरिक दैनिकबाट

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ