arrow

खानेपानी नपाएपछि पाल्पामा गाउँ नै छाडेर हिँडे स्ठानीय

logo
शुशिला रेग्मी,
प्रकाशित २०७३ फागुन ५ बिहिबार
water-lacking.jpg.jpeg
रामपुर (पाल्पा) । सुन्दा पनि अचम्म लाग्छ, नगरपालिका भित्रै खानेपानीको हाहाकारले स्थानीयवासीले गाउँ छोड्नु परेको खबरले । तर यो ज्वलन्त र यथार्थ उदाहरण हो, रामपुर नगरपालिका–१० को बालेपधेँरा, बाहुनडाँडा र कामिटोलको । गाविसबाट नगरवासीमा परिणत भएका यहाँका स्थानीयवासीले आधारभूत आवश्यकता त परै जाओस् पिउने पानीको पनि सुविधा उपभोग गर्न पाइरहेका छैनन् । 
 
नगरपालिकाको केन्द्र नजिकका साबिक रामपुर गाविस वडा नं – १, ३, ४, ५, ६, ७, ९ र दर्छा गाविसका नं ७ र ८ मा रामपुर दोस्रो खानेपानी आयोजनामार्फत सबैका घरघरमा धारा जडान गरेर खानेपानीको सुविधा उपभोग गरिरहेका बेला यहाँका स्थानीयवासीलाई भने दिनभर पानीको जोहो गर्दै ठिक्क छ । यस क्षेत्रका स्थानीयवासी चरम खानेपानीको अभावमा गाउँ–बस्ती नै छाड्न बाध्य भएका छन् । 
 
बस्ती नजिकै कुवा, मूल नहुँदा स्थानीय बासिन्दाले वर्षौंदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । पछिल्लो समय खानेपानीकै समस्याले यहाँका बस्ती नै पातलिँदै गएका छन् । बाले पधेँरा, बाहुनडाँडा र कामिटोल क्षेत्रमा झन्डै एक सयभन्दा बढी घरधुरी रहेकामा बस्ती पातलिँदै जाँदा हाल २० घरधुरी मात्र सीमित हुन पुगेको छ । गाउँसम्म पुग्ने बाटोको समस्या, खानेपानीको चरम अभाव, बिजुली लगायतका सेवासुविधाविहीन बनेका स्थानीयवासीले गाउँका उर्वर भूमि छाडेर अन्यत्र बसाइँसराइ गर्न बाध्य भएका हुन् । 
 
स्थानीयवासीको दैनिकी भनेको नै बिहान उठ्यो गाग्री बोक्यो अनि गाउँभरि डुलेर पानीको जोहो गर्दै बितेको छ । बस्तीभन्दा करिब दुई किलोमिटर टाढा रहेको कालो पहाडमा एउटा सानो पानीको मूलबाट एक घरपरिवारलाई दिनमा एक गाग्रीदेखि दुई गाग्रीसम्म बडो मुस्किलले पानीको व्यवस्था मिलाइएको कुलबहादुर सिञ्जालीले बताए । कामिटोलका रितुमान विक ७३ वर्ष पुगे । तर उनलाई बस्तीदेखि करिब तीन किलोमिटर टाढाबाट गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता उनको जीवनभर हट्न सकेन । 
 
दिउँसोको समयमा डोकोमा पानी बोक्दै गरेको अवस्थामा भेटिनुभएका विक भन्छन्, “नगरवासी भएपछि पानी त सजिलो गरी पिउन पाइन्छ कि भनेको समस्या ज्यूँका त्यूँ नै छ ।” 
 
“खानेपानीको व्यवस्थासम्म नगरपालिकाले मिलाइदिए पानी बोक्ने समय अन्य काममा खर्चन पाइन्थ्यो”, विकले भने। स्थानीयले लुगा धुन, नुहाउन, गाईभैँसीका लागि आवश्यक पर्ने पानी बस्तीदेखि तीन किलोमिटर तल रहेको फार्सेखोलाबाट बोकेर गुजारा चलाउँदै आएका छन् । यस क्षेत्रमा पानीको चरम अभावले बसाइँसराइ गर्दा एक घरपरिवारको कम्तीमा पनि ३० देखि ४० रोपनी जग्गा बाँझिन पुगेको छ । 
 
बस्तीमुनि रहेको फार्सेखोलाबाट लिफ्टिङ गरेर गाउँमा पानी पु¥याउन सकेको खण्डमा बसाइँसराइको क्रम रोकिने थियो । पानीको स्रोतको वैकल्पिक व्यवस्थाका लागि स्थानीय निकायमा पटकपटक आग्रह गरेपनि चासो नदिएको स्थानीयवासीको भनाइ छ । 
 
गाविसबाट नगरवासी बनेका यस क्षेत्रका स्थानीयवासीले खानेपानीको समेत चरम समस्या भोगिरहँदा स्थानीय निकाय नै यस विषयमा मौन रहेको छ । नगरपालिकाले वडागत रुपमा योजना सङ्कलन र छनौट गरेर विकास निर्माणका काममा बजेट विनियोजन गरेपनि यस क्षेत्रमा अहिलेसम्म खानेपानी आपूर्तिका लागि कुनै पनि पहल हुन नसकेको मिनु सिञ्जाली बताउँछन् । 
 
रामपुर नगरपालिकाको केन्द्रमा बिजुली बलेको करिब १८ वर्ष भइसक्यो तर यहाँका स्थानीयवासीले भने अहिलेसम्म बिजुलीको उपयोग गर्न पनि पाएका छैनन् । गाउँमा बिजुलीको लाइन विस्तारका लागि काम सुरु गरेको पाँच वर्ष भइसक्यो तर बिजुली बल्न अझै सकेको छैन । 
 
बिजुलीको सुविधा पुगेको खण्डमा बस्तीदेखि तल रहेको फार्सेखोलाबाट लिफ्टिङ पद्धतिबाट गाउँभरि नै पानीको प्रशस्त सुविधा पुग्नेछ । स्थानीय निकाय (नगरपालिका, गाविस) ले बजेट विनियोजन गर्दा गाउँका ज्वलन्त समस्या समाधानमा पनि ध्यान दिनु जरुरी देखिन्छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ