arrow

प्रदूषण कम गर्न युरो–४ इन्धन भित्रिदै, भाडा पनि बढ्ने आयु पनि बढ्ने

logo
प्रकाशित २०७३ फागुन १६ सोमबार
petroleu,.jpeg
काठमाडौं । नेपाल आयल निगमले १९ चैत ९१ अप्रिल०देखि भारतबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने भएको छ । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)सँग आगामी ५ वर्षका लागि मार्चमा इन्धन खरिद सम्झौता नवीकरण गर्दै छ । 
 
सम्झौता नवीकरणपछि १ अप्रिलबाट युरो–४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात हुनेछ । हाल युरो–३ मापदण्डको इन्धन आयात र वितरण भइरहेको छ ।
 
आयल निगमका प्रवक्ता भानु खनालले इन्धन सम्झौता नवीकरणको आवश्यक तयारी भइरहेको बताए । 
 
उनले भने, ‘अहिलेसम्म सम्झौता नवीकरणका लागि २ पटक औपचारिक छलफल भएको छ, हालको सम्झौता मार्च महिनामा सकिन्छ । त्यसैले मार्चमै नयाँ सम्झौता गरी १ अप्रिलबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने समझदारी भएको छ ।’ 
 
भारतले सन् २०१७ बाट युरो–३ मापदण्डको इन्धन प्रयोगमा प्रतिबन्ध लगाई युरो–४ प्रयोग गर्ने घोषणा गरिसकेको छ । 
 
त्यसैले नेपालले पनि युरो–४ मापदण्डकै इन्धन आइओसीबाट ल्याउन लागेको हो । युरो–४ मापदण्डको इन्धन प्रयोग भएको सवारीसाधनले तुलनात्मक रूपमा कम धुवाँ फाल्छन्, जसकारण प्रदूषण न्यूनीकरणमा फाइदा पुग्छ ।
 
 ‘काठमाडौं सहरजस्तो प्रदूषित सहरका लागि युरो–४ मापदण्डको इन्धनले धेरै फाइदा पुग्छ,’ खनाले भने ।
 
प्रदूषण कम, सवारीको आयु बढ्ने
 
युरो–४ मापदण्डको इन्धन प्रयोग भएको सवारीसाधनले धुवाँ कम फाल्ने भएका कारण वातावरण प्रदूषणमा कमी आउँछ । त्यस्तै, सवारीसाधनको आयुसमेत बढ्छ । 
 
अहिले व्यवसायीले युरो–४ मापदण्डको इन्जिनयुक्त गाडी भित्रयाइरहेका कारण पनि यही मापदण्डको इन्धन ल्याउँदा थप फाइदा हुने देखिन्छ । 
 
यद्यपि, युरो–४ मापदण्डको इन्धन मूल्य युरो–३ भन्दा महँगो पर्ने गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।
 
 ‘युरो–४ मापदण्डको तेल उत्पादन गर्न प्रशोधन लागत नै बढी हुन्छ,’ उनले भने, ‘यस्तो तेल प्रयोग भएको सवारीले प्रदूषण कम गर्ने, आयु बढी हुने हुन्छ । काठमाडौंजस्तो प्रदूषण बढी भएको सहरका लागि त युरो–४ को तेल नै ठीक हुन्छ ।’
 
चीनबाट आएको थियो
 
गत वर्ष भारतीय नाकाबन्दीका समयमा चीनबाट १३ लाख लिटर पेट्रोल आयात भएको थियो । उक्त पेट्रोल युरो–४ मापदण्डको थियो । इन्धन लिन चीन गएको नेपाली टोलीले युरो–३ मापदण्डको आयात गरिरहेको कारण देखाउँदै सोही मापदण्डको पेट्रोल उपलब्ध गराउन आग्रह गरेको थियो । 
 
तर, चीनले सन् २०१७ देखि युरो–३ उत्पादन बन्द गरी युरो–४ मापदण्डको तेललाई अनिवार्य गर्न लागेको भन्दै युरो–३ को तेल दिन नसक्ने जवाफ दिएको थियो । 
 
सो पेट्रोल उपत्यकाका निजी सवारीसाधनलाई मात्रै वितरण गरिएको थियो । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ