arrow

बैरीहरुले एक साथ भने ‘भारत भक्त सुशील हारे, विरोधी ओली जिते’ (टिप्पणी)

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
929828114.jpeg

काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीले तत्काल सबै पक्षसँग वार्ता गरी देशमा विद्यमान समस्या समाधानको प्रयास थाल्ने बताए । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद भवनबाट बाहिरिनेक्रममा संचारकर्मीसंग ओलीले तराई मधेशमा जारी आन्दोलन, संविधान संशोधन र आपूर्ति ब्यवस्था सहज बनाउने विषयमा नेपाली काँग्रेससँग समेत छलफल गरी अघि बढ्ने धारणा राखे ।

ओलीले नयाँ संविधानको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको सहयोग प्राप्त हुने विश्वास समेत गरे । मधेशी आदिवासी, जनजाती लगायत सबै असन्तुष्ट दलहरुसँग वार्ता गरी समाधान खोज्ने ओलीको दृढता छ । मुलुकको ३८ औं प्रधानमन्त्री बन्न ओलीलाई जति कसरत र समय लाग्यो त्यो उनको राष्ट्रवादकै उपज हो । तर, उनले भन्ने गरेको भावनाको बगाई जति उनकै पक्षमा बाढी बनेर आयो त्यो बाढीको चपेटामा ओली नपरुन् शुभकामना ! गरिब नेता, सामान्य लेखपढ र राष्ट्रवादको छवि भावनामा मात्रै नबनोस् । उनले बोल्ने गरेका कयौं तर्कहरु कुतर्क नबनुन् ।

उनी प्रधानमन्त्री बन्नु अघि र पछि थुप्रै भावनात्मक राष्ट्रवादका अभिव्यक्तिहरु र स्वरहरु गुन्जिएका छन् । १६ दलको समर्थन जुटाएर प्रधानमन्त्री बनेका ओलीका लागि भावनात्मक राष्ट्रवादले तत्काल या दिर्घकालको सम्बन्धको खोजि गरिरहेको छ । हिजो सिमाङ्कनकै विषयमा दलहरुबीच सहमतिको बहस चलिरहेकै समयमा मधेस केन्द्रित दललाई भारतसंगै मिल्नुस् भनेकै चोट देशले भोगिरहेको सम्झेरै आज ओलीले प्रधानमन्त्री निर्वाचित भएलगत्तै मधेशको मुद्दा सुल्झाउने प्रण गरेको हुनु पर्दछ । अहिले जो कोहीले त्यही बुझिरहेका छन् । किन की माहोल उनकै पक्षमा छ । राष्ट्रियता जोगाउने जिम्मा उनकै काँधमा आएको छ । कयौं टुइटे, चिया गफे आदी इत्यादीले कांग्रेसलाई काथर भनेका छन् । भारतको भक्त भनेका छन् । यो कुन बगाई हो ? भावनात्मक वा यथार्थ ! यसको प्रमाणिकरण र राष्ट्रवादको सादगी जोगाउने चुनौती ओलीलाई छ ।  

ओली विभिन्न सीमासंग जुध्नु पर्ने छ । ती सीमासंग जुध्नु भनेको जीवनसँग खतरा मोल्नु हो । राजनीतिनै जीवन सम्झेका ओली भित्रदेखि कति बलियो छन् भन्ने परिक्षा लिँदैछन् धेरैले । अझ बढी छिमेकीले । झन्डै पछिल्लो पाँच दशक उनी राजनीतिप्रति सधैं सचेत र स्वास्थ्यसँग सधैं लापरबाह देखिएका छन् । उनलाई देशको चिन्ता छ । सिंहदरबारमा फोटो टाँस्नकै लागि प्रधानमन्त्रीको उम्मेद्वारी नदिएको बताउने ओली झन्डै ५० वर्षअघि राजनीतिक संघर्षले जन्माएको पार्टीको शिखर नेतृत्वमा चढ्नेबित्तिकै गत वर्ष उनका आँखा सिंहदरबारमा एकनासले अडिए । त्यो गहिरो सोच पुरा गर्न उनले धेरै कुर्न परेन पनि । एक वर्षपछि उनले सोचेको सिंहदरबारको लक्ष्य भेदन गरि छाडे ।

नेपाली लोकतन्त्रको विशिष्ट पक्ष या मौलिकता ! संसारमा विरलै होला । अति सामान्य पृष्ठभूमिका व्यक्तिलाई उच्च शिखरमा सजिलै प्रवेश छ । यो नेपाली लोकतन्त्रको जित पनि हो । तर, यसअघिका विभिन्न सरकार संचालकहरुका पनि यस्तै कैयन व्यक्तिगत जीवनबारे चर्चा हुने गरेको थियो । ती व्यक्तिका अति सामान्य दिनचर्या, त्याग र समर्पणबारे पनि यही भावनामा बग्ने नेपाली समाजले गाएकै हो । फेरि पनि एक त्यागि पुरुषको जीवन गाथा गाईरहेको छ–भावनामा बग्ने नेपाली समाजले ।

एउटा सत्य भित्र अनेकौं तथ्यहरु लुकेका हुन्छन् । ओली तेह्रथुममा सामान्य परिवारमा जन्मिए । पछि झापा सरे । त्यो उनको विगत हो । अहिले बालकोटको बसाइ, रहनसहन, आय–व्यय र सम्बन्धहरू सामान्य परिवारको दायरामा अटाउँदैनन् र उनको पहिलेको ख्याउटे अनुहार निकै पोटिलो छ । लामो भूमिगत राजनीति, १४ वर्ष लामो जेल जीवनको कष्ट सहेर २०४६ सालमा खुला राजनीतिमा आएपछि २५ वर्षमा झापाका क्रान्तिकारी कम्युनिष्ट युवा खड्गप्रसाद ओली लोकतन्त्रवादी र ब्यवहारवादी नेता केपी ओलीमा रुपान्तरित भइसकेका छन् ।
 
यथास्थानमा रुपान्तरण हुँदैन पनि । ओलीले धेरै सामाजिक, आर्थिक र राजनीतिक सम्बन्ध मुलुकभित्र र बाहिर स्थापित भइसकेका छन् । ती विविध पाटाहरुमध्ये  एउटा हो, भारतसँगको सम्बन्ध । हिजो भारतसंगको सम्बन्धले पार्टीभित्र छुच्चा ठहरिने ओली आज कसरी राष्ट्रवादी भए ? यसको जवाफ अब आम टिप्पणीकारहरुले दिनै पर्दछ । हिजो अँध्यारो कोठामा भारतीय गुप्तचर संस्था ‘रअ’ का एजेन्टलाई भेट्दा उनी व्यवहारवादी र राष्ट्रवादी बन्न सकेनन् । अध्यारोकोठाका सम्वादमा हुन त उनी मात्रै एक्लो नेपाली राजनीतिज्ञ थिएनन् । ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सञ्जीव त्रिपाठी तथा तत्कालीन काठमाडौं स्टेसन प्रमुख पिटर हनामानबीचको एउटा अँध्यारो कोठाको भेटबाट सुरु हुन्छ । पत्रकार सुधीर शर्माको पुस्तक प्रयोगशाला पल्टाएर हेर्दा भेटिन्छन् यी शब्दावली !

अँध्यारो कोठामा भारतीय गुप्तचरलाई भेट्ने र मोलतोल गर्ने नेपाली राजनीतिज्ञले के कस्तो सम्बन्ध बनाउँछन् त्यसको लेखाजोखा नेपाली राजनीतिले राख्न निकै असम्भव कुरा ।
फेरि कुनै सयम यस्तो सम्म भयो कि ओलीको भारत सम्बन्ध गोप्य कोठामा अटाउन सकेन । खुल्लम खुल्ला पनि निकै समय चल्यो उनको राजनीतिक चक्र ।  

ट्वीटर, फेसबुक र सडकमा छताछुल्ल गाली गर्ने राष्ट्रवादी नेपालीहरुले अझ सम्झिने हो भने, खिलराज रेग्मीको निर्दलीय सरकारलाई सुरुमा नाइ नास्ती गर्ने ओली दुई दिनपछि लाइनमा आए । रेग्मीलाई अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष बनाउने क्रममा सुरुमा खरो विरोध गरे । दुई दिनभित्र उक्त प्रस्तावको जननीले सम्झायो र उनी छाँगाबाट खसे । एक वर्ष अघि मात्रै पार्टी अध्यक्ष बन्नु अघि सार्वजनिक कार्यक्रममै ओलीले–‘भारतसँगका हाम्रा समस्या समाप्त सकिए, अब सम्भावनै सम्भावना मात्र बाँकी छन् ।’–भनेको पनि सम्झिन जरुरी छ । अर्को तिर, ओलीलाई बोकेर हिंडिरहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि निर्दलिय सरकारको प्रस्तावकसंग निकै झाँगिएर बसेकै हुन् । नभए त्यो सम्भव थिएन ।   भारतसँगको सम्बन्धको जटिलता आमनेपालीले अहिले भोगिरहेका छन् पनि ! साइकल चढ्ने अभिव्यक्ति दिएर फोस्रो राष्ट्रवाद दुई हप्तामै प्रष्ट भयो । भारतीय नाकाबन्दी र पुष्पकमल दाहालको साइकल चढ्ने अभिव्यक्तिको सार तत्व पनि चातुर्यमा परिणत भयो । अन्ततः दुवै सत्ताको यात्रामा सफल भए ।

सम्झिन मन छ, भने संविधान जारी गर्नु केही दिन पहिले ओलीले छिमेकी भारत र चिनमा विशेष दूत पठाए । उनले दूत पठाएको केही दिनमै भारतीय दूत नेपाल आए । संविधान जारी रोकिएन । जहाँ कांग्रेसको कुनै अवरोध देखिएन । सुन्नमा पनि आएन  । दूत पठाउने बोलाउने अर्थात सल्लाह लिने कुरा गरेको पनि देखिएन । कसैलले हल्ला गरेनन् पनि । संविधान जारी भयो । भारतले मौन नाटक रच्यो । नाकाबन्दी भयो । मधेस आन्दोलन चर्कियो । सबै एकै पटक भयो । यो कसरी सम्भव हुन्छ ? कांग्रेसले ओलीलाई असहयोग गरेर प्रधानमन्त्री खानकै लागि गरेको भन्ने एकोहोरो बुझाईको जाल कस्ले फ्याँक्यो ? कांग्रेस र सुशील कोइरालालाई गाली गर्न छुट छ ।

तर, तथ्य कुरा के हो ? बुझ्न पर्दैन । कसैको प्रोफाइल सेतो बनाउन कसैले गाउनु पर्ने यो कस्तो परम्परा ? ओलीले नाकाबन्दीकै बीचमा सहजकर्ताको रुपमा विनोद चौधरीलाई पनि भारत पठाए । उनले भारतीय पक्षसंगको भेट गुमनाम गरे । त्यसअघि गएका युवराज बास्कोटा र प्रदिप ज्ञवालीको भेटबारे त्यति धेरै चर्चा समेत भएन । जसरी अहिले कांग्रेसविरुद्ध प्रहार भयो । पार्टीभित्रबाट वा बाहिरबाट ! यहाँ कांग्रेसको पक्ष लिएर भन्न खोजिएको पनि होइन । सवाल भारतसंग सुशील विक्ने र प्रधानमन्त्रीको निर्वाचनमा होमिने गतल प्रचारको हो । कांग्रेसभित्रकै कयौं नेता संसदमा निर्वाचन हुँदा विभिन्न मुद्रामा देखिए । महामन्त्री कृष्ण सिटौला निकै हर्षित देखिन्थे र प्रफुल्ल थिए । तीन सांसद समयलाई नै भुलेर ढोका बन्द भएपछि संसद भवन पुगे ।

प्रस्तावक शेरवहादुर देउवा र समर्थक रामचन्द्र पौडेलले लोकतन्त्रका उदाहरणले सान्त्वना दिन खाजे । तर, माहोल पहिले नै भावनात्मक राष्ट्रवादतिर धकेलिएको भेउ समेत पाएनन् । कस्को छ भारतसंग बढी सम्बन्ध ? अघोषित नाकाबन्दीले मुलुक थलिँदा सरकारले केही गरेन भन्न रुचाउने राष्ट्रवादीहरुले विकल्पको बाटो खोजेर जनजीवन सहज बनाउन चाहेनन् । यतिका दिन सम्म छिमेकी सरकार प्रमुखको फोन उठाउन फुर्सद नहुने छिमेकीले सबैभन्दा अघि बधाई दिए । त्यतिमात्र होइन भ्रमणको निम्ता समेत बधाईसंगै दिन भ्याए । हुन त त्यो असल छिमेकीको नाताले गर्नै पर्ने पनि हुन सक्छ । तर, सुशील कोइराला विकेर कमाएको इमान फाल्न उद्दत भएको भन्ने तर्कहरुको कुनै तुक छैन ।

हिजो ओली र कृष्ण सिटौलाको जस्तो सम्धन्ध कांग्रेस आईसंग थियो त्यस्तो सम्बन्ध अहिले पनि छ । र विजेपीको विरोध पनि गर्न सक्दैनन् उनीहरु । हिजो शेरबहादुर देउवाको जति राज चल्थ्यो आज उतिकै चल्छ पनि । कस्लाई मान्ने भारतको भक्त ? कहिले सम्म हामी भावनामा बग्छौं । हिजो भावनामा बग्नेहरुको आन्दोलनको तुक छैन भन्नेहरुले आज मेधसको समस्या कसरी सुल्झाउन सक्छन् । संविधान संशोधनको जटिलताका विषयमा कांग्रेससंग सहकार्य गर्न पर्दैन । कसरी हुन्छ संशोधन ? किन यी जटिलता बारे लेखेनन् ? कसैको पक्षमा माहोल बनाउने पिध पत्रकारहरुले । विषयको गाम्भीर्यता र देश कालबारे आँकलन नगरी हावामा दौडिने पत्रकारितालाई विश्वास गर्ने नेपाली समाजले राष्ट्रियताका कुरा गर्नु निमको रुखमा झटारो हान्नु जस्तै हो ।

सत्ता लोलुपताकै लागि सरकारमा होमिएका कमल थापा, विजय कुमार गच्छदार, सर्वेन्द्रनाथ शुल्क आदी इत्यादी सबैलाई भाग बन्डा गर्दा पनि त ओलीलाई चुनौती नै छ । उनले अपेक्षा नै नगरेका दलहरुलाई ल्याएर सरकार बनाउने चातुर्यता प्रमाणित गरेर देखाए । बैरीहरुले एक साथ भने, ‘भारत भक्त सुशील हारे, विरोधी ओली जिते’ र उत्सव मनाए । राष्ट्रवादको एजेण्डा प्रमाणित गर्न ओलीले समय सुरु भइसकेको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ