राष्ट्रपति र पूर्व राजा एउटै मञ्चमा

प्रकाशित मिति : २०७३ फाल्गुण २४ मंगलबार
तस्वीर : फार्इल
परासी  । चौधरी ग्रुपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह मंगलबार नवलपरासीको दुम्कौली जाँदै छन् । देवचुली नगरपालिका-२ दुम्कौलीस्थित सीजी इन्डस्ट्रियल पार्कपरिसरमा निर्मित शाश्वतधाम एवं धर्मसभामा सहभागी हुन दुवै त्यहाँ जान लागेका हुन् । उद्योगपति विनोद चौधरीले दुवैजनालाई आमन्त्रण गरेका हुन् । 
 
कार्यक्रमअनुसार राष्ट्रपति भण्डारीले शाश्वतधामको उद्घाटन गर्नेछिन् भने सर्वधर्मसभामा पूर्वराजा विशिष्ट अतिथिका रूपमा रहनेछन् । इन्डस्ट्रियलको ८० बिगाहा क्षेत्रफलमध्ये सात बिगाहामा शाश्वतधामसहित विभिन्न देवीदेवताका मन्दिर, आश्रम, गुरुकुल, धार्मिक संग्रहालय, डिजिटल धार्मिक पुस्तकालय, गौशाला, ध्यान केन्द्रलगायत निर्माण गरिएको छ । विभिन्न तीन स्थानमा परिसरभित्र कार्यक्रम गरिनेछ, जसअनुसार शाश्वतधाम उद्घाटन, धर्मसभा र शिव मन्दिरको प्राणप्रतिष्ठा हुनेछ ।
 
शाश्वतधाम खजुरवान शैलीमा निर्माण गरिएको छ । यो दक्षिण भारतमा प्रचलित शैली हो । विशिष्ट व्यक्तिको सहभागितामा गरिने कार्यक्रममा आर्ट अफ लिभिङका संस्थापक रविशंकर, शंकराचार्य जयेन्द्र सरस्वतीलगायत शंकराचार्य मठ र पशुपतिका पुजारीको सहभागिता रहने चौधरी ग्रुपले जानकारी दिएको छ ।
 
सन् २००२ मा नेपाल भ्रमणमा आएका शंकराचार्य जयेन्द्र सरस्वतीले चौधरी परिवारलाई नेपालमा धाम बनाउन प्रेरणा दिएका थिए । सोही प्रेरणाले उद्योगपति चौधरीले १५ वर्षअघि धाम निर्माण सुरु गरेका हुन् ।
(अन्नपूर्ण पोस्ट दैनिक)

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ