कोरला नाकाबाट साढे ६ अर्बभन्दा बढी राजस्व सङ्कलन, इभी गाडी अनुसन्धानको घेरामा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
405
Shares
काठमाडौँ । उपल्लो मुस्ताङको लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले जेठ १६ गतेसम्म ६ अर्ब ६६ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल–चीन उत्तरी कोरला नाकाबाट भएको मालवस्तुको निकासी तथा पैठारीबापत उक्त परिमाणमा भन्सार राजस्व उठेको हो।
भन्सार प्रमुख विदुर चुँडालका अनुसार कोरला नाका हुँदै चीनबाट नेपालतर्फ पैठारी (आयात) गरिएका मालवस्तुबाट १३ अर्ब ८७ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार हुँदा ठुलो मात्रामा भन्सार राजस्व सङ्कलन भएको छ। चीनबाट मुख्यतः विद्युतीय सवारीसाधन (इभी), चाडपर्व लक्षित लत्ताकपडा, कस्मेटिक सामान र इलेक्ट्रोनिक्स सामग्रीहरू नेपाल भित्रिएका छन्।
यसै गरी, नेपालबाट कोरला नाका हुँदै चीनतर्फ गरिएका हस्तकलाका सामान र स्थानीय नेपाली उत्पादनहरूको निकासी (निर्यात) बापत २० करोड ५५ लाख ७४ हजार रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको प्रमुख चुँडालले जानकारी दिए।
नाका सञ्चालनमा आएदेखि जेठ १६ गतेसम्मको अवधिमा कोरला नाकाबाट मात्रै २ हजार ९९७ वटा विद्युतीय सवारीसाधन (इभी) नेपाल भित्रिएका छन्। मुस्ताङ भन्सार कार्यालयका अनुसार यी विद्युतीय गाडीहरूको पैठारीबापत मात्रै कुल ६ अर्ब ७६ करोड २ लाख रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको छ।
पछिल्लो समय जेठको दोस्रो साता चीनबाट कोरला नाका हुँदै नेपाल भित्रिएका विद्युतीय सवारीसाधनको पैठारी प्रक्रिया भने गम्भीर विवादमा परेको छ। यस नाकाबाट नेपाल भित्रिएका ६४९ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भइसकेको जनाइए पनि सरकारले यसमा प्रक्रियागत कैफियत रहेको आशङ्कामा अनुसन्धानको घेरामा तानेको हो।
सवारीसाधनको पैठारी प्रक्रियामा अनियमितता वा राजस्व चुहावट भए/नभएको यकिन गर्न सरकारले तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। उक्त छानबिन समितिले कास्कीको हेमजा, पर्वतको कुश्मा, मुस्ताङको जोमसोम र कोरला नाकामै सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर राखेका विद्युतीय सवारीसाधनहरूको स्थलगत अनुगमन र अध्ययन कार्य सम्पन्न गरिसकेको छ। समितिको प्रतिवेदन आएपछि मात्रै विवादित गाडीहरूको जाँचपास र फुकुवा प्रक्रियाबारे थप निर्णय हुने बताइएको छ।