दक्षिण अफ्रिकाबाट थप तीन सय ४० घानालीको विशेष उद्धार
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
248
Shares
काठमाडौँ। दक्षिण अफ्रिकामा बढ्दो आप्रवासी विरोधी भावना र असुरक्षाका कारण घाना सरकारले आफ्ना नागरिकको दोस्रो समूहलाई स्वदेश फर्काएको छ । तीन सय ४० जना घानालीलाई विशेष उद्धार गरी स्वदेश ल्याइएको हो ।
अक्रा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किएका नागरिकहरूलाई स्वागत गर्दै घानाका विदेश मन्त्री स्यामुएल ओकुदजेटो अब्लाक्वाले उनीहरूको पुनःस्थापनाका लागि सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
मन्त्री अब्लाक्वाले आप्रवासीहरूलाई दक्षिण अफ्रिकामा देखाएको जस्तै कार्यदक्षता र उत्साहका साथ स्वदेशमै नयाँ उद्यममा लाग्न र सकारात्मक सोच राख्न आग्रह गरे।
विदेश मन्त्रीकाअनुसार स्वदेश फर्किएका नागरिकहरूलाई रोजगारी प्रदान गर्न हालसम्म विभिन्न स्वदेशी कम्पनीहरूबाट दुई सय ओटा रोजगारीका प्रस्तावहरू प्राप्त भइसकेका छन् ।
यसैबीच घाना सरकारले दक्षिण अफ्रिकामा आफ्ना नागरिकहरूले गुमाएको सम्पत्ति र लगानीको क्षतिपूर्तिका लागि कानूनी प्रक्रिया शुरू गर्ने घोषणा गरेको छ ।
दक्षिण अफ्रिकामा विदेशी नागरिकहरू लक्षित हिंसा र विभेद बढेसँगै विभिन्न देशहरूले आफ्ना नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काइरहेका छन् । यसअघि पनि घानाले पहिलो चरणमा आफ्ना केही नागरिकको उद्धार गरिसकेको छ ।