नबिल बैङ्क र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनः स्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
158
Shares
काठमाडौँ। नबिल बैङ्क लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनः स्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशय पत्रमा हस्ताक्षर भएको छ।
बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सोमबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन्।
नेपालमा विशेष गरी जलनको उपचार, पुनः स्थापनामा सहयोग र डायलासिस सेवाको पहुँच र गुणस्तरीय स्वास्थ्य सेवाको बढ्दो आवश्यकतालाई मनन गर्दै दुवै पक्षहरू यस क्षेत्रमा सहकार्य गर्ने आशय पत्रमा उल्लेख छ।
रणनीतिक साझेदारीअन्तर्गत, नबिल बैङ्कले नेपालभरि जलनका बिरामीहरूको सघन उपचार, कृत्रिम अङ्ग जडान र डायलासिस सेवा विस्तार गर्न धुलिखेल अस्पताललाई ६ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ।
दुई पक्षबीच भएको सम्झौताअनुसार धुलिखेल अस्पतालमा १० शय्याको सघन जलन उपचार कक्ष स्थापना गरिनेछ र अस्पताल व्यवस्थापनको नेतृत्वमा अन्य प्रदेशहरूमा पनि यस्तै सुविधाहरू विस्तार गरिनेछ । यसका साथै बैङ्कले दुई वटा कृत्रिम अङ्ग जडान तथा पुनः स्थापना सेवा एकाइहरू स्थापना गर्न र डायलासिस सेवाहरूलाई थप सुदृढ बनाउन पनि सहयोग गरेको हो।
बैङ्कका अध्यक्ष निर्वाणकुमार चौधरीले मानिसको जीवनमा सार्थक परिवर्तन ल्याउने विषयमा नबिल बैक र धुलिखेल अस्पतालको एकै उद्देश्य रहेकाले यस सहकार्यले सार्थकता पाउने विश्वास व्यक्त गरे। “हामीले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्दै आएका छौँ, सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्दा हामीले जहिले पनि कति जनाको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्यौँ भन्ने मानक राख्ने गर्दछौँ। धुलिखेल अस्पताल पनि यस्तै उद्देश्यका साथ सञ्चालित अस्पताल हो। यही कारण अस्पतालसँगको यस सहकार्यद्वारा हामीले सँगै धेरै मानिसहरूको जीवनमा परिवर्तन ल्याउन सक्छौँ भन्ने मलाई विश्वास छ,” अध्यक्ष चौधरीले भने।
सिइओ ज्ञवालीले यस साझेदारीमार्फत समग्र मुलुक र विशेष गरी गरिब तथा सीमान्तकृत समुदायका बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नेमा विश्वास व्यक्त गरे। “नबिल बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वलाई दायित्व नभई बैकको समाजप्रतिको प्रतिबद्धताको रूपमा लिने गरेको छ। आज हामीले धुलिखेल अस्पतालसँग जुन उद्देश्यका साथ काम सुरु गरेका छौँ त्यसमा कुनै कमी हुन नदिने म प्रतिबद्धता जनाउँछु,” उनले भने।
धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठले धुलिखेल अस्पतालले स्थापनाकालदेखि नै समुदायलाई गुणस्तरीय र सुलभ चिकित्सा सेवा प्रदान गर्दै आएको उल्लेख गरे। “धुलिखेल अस्पताल समुदायमा आधारित अस्पताल हो, हामीले सुरुदेखि नै हजारौँ मानिसहरूलाई गुणस्तरीय र सुलभ सेवा दिँदै आएका छौँ। नबिल बैङ्कसँगको यो साझेदारीले हामीलाई जलन, कृत्रिम अंगसम्बन्धी उपचार र पुनः स्थापनाका साथै डायलासिस सेवामा थप सेवा प्रदान गर्न मद्दत गर्नेछ”, श्रेष्ठले भने।
सम्झौता तीन वर्षसम्म लागू हुने बैङ्कले जनाएको छ।
नबिल बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सङ्घ संस्थाहरूसँगको साझेदारीमा स्वास्थ्य क्षेत्रमा विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ। हालै बैङ्कले सुदूरपश्चिम, कर्णाली, मधेस र लुम्बिनी प्रदेशमा जलनका बिरामीहरूका लागि शल्यक्रिया शिविर सञ्चालन गरेको थियो। जसबाट ५०० जना जलनका बिरामीहरूले निःशुल्क उपचार पाएका थिए। त्यसमध्ये १३० जना बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिएको थियो।
बैङ्कले नवलपरासी सुस्ता पूर्वको प्रादेशिक अस्पताल र बर्दघाटको चिसापानी अस्पतालमा रहेका कृत्रिम अङ्ग केन्द्रहरूलाई पनि सहयोग गर्दै आएको छ। यी केन्द्रहरूले ३०० भन्दा बढी लाभग्राहीहरूलाई निःशुल्क कृत्रिम अङ्ग प्रदान गरिसकेका छन्।
ज्ञवालीका अनुसार बिमारीहरूलाई गुणस्तरीय उपचार प्रदान गर्ने, कृत्रिम अङ्ग र पुनर्वास सेवा र डायलिसिस उपचार सेवा प्रदान गर्ने भनी बैङ्कले लिएको उद्देश्य नेपाल सरकारले देशभरका बिरामीहरूलाई सुलभ र पहुँचयोग्य उपचार सुनिश्चित गर्ने भनी लिएको लक्ष्यसँग पनि मिल्दछ।
नबिल बैङ्क लिमिटेड नेपालको अग्रणी वाणिज्य बैङ्क हो। नबिल बैङ्कले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक काम गर्दै आएको छ। नबिल एसएसईमार्फत बैङ्कले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनामार्फत दिगो विकासमा योगदान पुर्याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ।