अर्थमन्त्रीले मनपरी ढङ्गले कर संशोधन गरेको एमालेको आरोप, छानबिनको माग [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २६ मंगलबार
243
Shares
काठमाडौँ। नेकपा (एमाले)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मनलाग्दी ढंगले करका दर संशोधन गरेको आरोप लगाउँदै आर्थिक विधेयकमाथि गम्भीर छानबिन गर्न माग गरेको छ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै एमाले सांसद क्षितिज थेवेले संसदमा दर्ता भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको विधेयकबीच विद्युतीय सवारीसाधनको करका दरमा फरक देखिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए।
उनले संसद्मा दर्ता भइसकेको कुनै पनि विधेयक संसद्को पूर्ण बैठक वा सम्बन्धित समितिबाट मात्रै संशोधन गर्न सकिने संसदीय अभ्यास र नियम रहेको उल्लेख गर्दै अर्थमन्त्रीले एकपक्षीय रूपमा करका दर हेरफेर गरेको आरोप लगाए।
थेवेले भने, ‘जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भयो र आर्थिक विधेयक संसदमा दर्ता गरियो। उक्त विधेयकमा २० लाखदेखि ३० लाख रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय सवारीको करदर छुटेको थियो। भोलिपल्ट मन्त्रालयको वेबसाइटबाट उक्त विवरण हटाइयो र फेरि सच्याएर अपलोड गरियो। शुरूमा हामीले यसलाई मानवीय त्रुटी ठानेका थियौँ। तर अहिले बजारमा उठेका प्रश्नले यो टाइपिङ मिस्टेक नभई नियतवश गरिएको देखिएको छ। भन्सारका कर्मचारी निलम्बित भइसकेका छन्। संसदमा दर्ता भएको आर्थिक विधेयक र मन्त्रालयको वेबसाइटमा राखिएको विधेयक फरक हुनु गम्भीर विषय हो। यसलाई संसद र अर्थमन्त्रीले गम्भीरतापूर्वक लिनुपर्छ।’
उनले आर्थिक विधेयकमा भएको भनिएको फेरबदलको निष्पक्ष छानबिन गर्न र यथार्थ सार्वजनिक गर्न सरकारसँग माग गरे
सांसद थेवेले संसदको जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री वालेन्द्र साह स्वयंले सक्रिय पहल गर्नुपर्नेमा पनि जोड दिए।