arrow

पुनर्वास घटनाको बिरोधमा आमहड्ताल, सत्यतथ्य छानबिन नहुँदासम्म पुनर्वास नाका सिल गरिने

logo
ईश्वरदत्त बडू,
प्रकाशित २०७३ फागुन २७ शुक्रबार
aa.......jpeg
कञ्चनपुर। पुनर्वास सीमा नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागि एक नेपालीको मृत्यु भएको बिरोधमा नेकपा (माओवादी) केन्द्र प्रदेश नंं. ७ ले शुक्रबार आम हड्ताल गरेको छ । माओवादी केन्द्रको ७ नं. प्रदेशका प्रचार विभाग प्रमुख ओम विक्रम भाट (सरल)ले भारतीय पक्षबाट नेपालीमाथि भएका ज्यादतीको विरोधमा बन्द आव्हान गरिएको बताए । 
 
उनले बन्दका क्रममा एम्बुलेन्स लगायतका अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न दिने बताए । बिहीबार भएको उक्त घटना नेपाल–भारत २०० नम्बर सीमा स्तम्भमा पर्ने ठाउँमा नेपालीले कल्भर्ड निर्माणकोे विषयमा नेपाली र भारतीय पक्षबीच विवाद हुँदा झडपको स्थिति बनेको थियो । 
 
स्थिति नियन्त्रणमा लिन भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गोली चलाएका थिए । गोली लागेर घाइते हुन पुगेका पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको मृत्यु भएको हो । मृतकलाई शहिद घोषणका साथै पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरिएको छ । स्थानीयहरुले उक्त सिमा क्षेत्रका सशस्त्र प्रहरीको सीमा सुरक्षा क्याम्पको राख्नुपर्ने माग समेत राखेका छन् ।
 
यसैबीच, पुनर्वास घटनाको विषयलाई लिएर नेपाली र भारतीय अधिकारीविच तीन बुँदे सहमति भएको छ ।  कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश चन्द, लगायतका नेपालका तर्फबाट र भारतीय पक्षबाट लखिमपुर जिल्ला प्रमुख डि.एम. आकाश दिप, एस.एस.वि. लखिमपुर कमान्डेन्ट दिलिप बाग सिंह र लखिमपुर जिल्लाका प्रहरी प्रमुख मनोज झा बिच भएको वार्तामा तीन बुँदे मौखिक समझदारी भएको प्रमुख जिल्ला अधिकारी खनालले बताए । 
 
उनका अनुसार गोली हान्नेलाई छानबिन गरी कार्वाही गर्ने,  बिबादित क्षेत्रमा कलभर्ट निर्माणको कार्य हाललाई यथावत राखेर दुवै देशको सीमा विज्ञहरुको सहभागितामा सीमा रेखाङ्कन गर्ने र केही दिनका लागि दुवै देशका नागरिकलाई आवत जावतमा रोक लागाई उक्त सीमा नाका सिल गरिने मौखिक समझदारी भएको प्रमुख जिल्ला अधिकारी खनालले बताए ।
 सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको कार्यालय स्थापना नहुँदाको परिमाण भएको भन्दै यहाँका दलहरुले सीमा सुरक्षा कार्यालय स्थापना गर्नमा समेत जोडदिएका छन् । 
 
यता, कञ्चनपुरका राजनीतिक दलहरुले समेत घटनाको बिरोध गर्दै दोसीलाई कार्बाही र नेपाली सीमा सुरक्षाका लागि आफ्नो ज्यानको आहुती दिने गोबिन्द गौतमलाई शहिद घोषणा गर्नुपर्ने माग गरेका छन् । 
 
नेकपा माओवादी केन्द्र, नेकपा एमाले, माले, नेकपा विप्लप र वैद्य माओवादी, राष्ट्रिय जनमोर्चा र किसान पार्टीले छुट्टा छुट्टै विज्ञप्ति जारी गरेर गौतमलाई राष्ट्रिय शहिद घोषणा गरिनपर्ने, भारतीय ज्याजती रोकिनुपर्नेमा जोड दिएका छन् । 
 
घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कार्बाही नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 
उक्त घटनालाई लिएर कञ्चनपुरका विद्यार्थीहरुले भारतीय मोटरसाईकल , जिप कार र ट्रकमा आगजनीका साथै तोडफोड गरेका छन् । दोषीलाई कार्बाही र सीमा क्षेत्रको सुरक्षाको ग्यारेन्टी नभए आन्दोलन थाल्ने चेतावनी दिएका छन् । 
  दुई देशका अधिकारी विच भएको सहमती अनुरुप नेपाली जनताले ह्युमपाईप राख्ने क्रममा भारतीय पक्षद्वारा अबरोध सिर्जना गरी उत्पन्न विवाद समाधानको साटो गोली प्रहारको घटना अन्र्तराष्ट्रिय कानुन विपरित भएको समेत माओवादी केन्द्र सात नम्बर प्रदेशको ठहर छ । 
 
घटनामा ज्यान गुमाएका गोविन्द प्रशाद गौतमलाई शहिद घोषणा गरि परिवारजनलाई आवश्यक क्षतिपूर्तीको व्यवस्था सहित आश्रित बालबालिकाको अध्ययन अध्ययापनका लागि सरकारसंग माग गरेको छ । 
 
पटक पटक सीमा क्षेत्रमा भईरहेने विवाद तथा यस्ता प्रकारका घटना दोहोरिन नदि दुवै देशका सरकार सचेत रहन आवश्यक रहेको औल्याइएको छ । घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कार्बाही तथा सीमा स्तम्भ एकिन गर्न दुवै देशको प्रतिनिधीहरु रहने गरी यथाशिघ्र छानबिन समिति गठन गर्नसमेत माग गरेको छ ।  
 
नेकपा माओवादी केन्द्र सात नम्बर प्रदेशका इन्चार्ज लेखराज भट्टद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा अप्रत्यासित रुपमा भएको  घटनामा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै राष्ट्रका लागि ज्यान गुमाएका गोबिन्द प्रशाद गौतम प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक शन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
 
 यस्तै नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक वीरबहादुर थापा, एमाले सचिव सुरेन्द्र विष्ट, माले सचिव शंकरदत्त बोकटी, बैद्य माओवादीका सचिव हरि सुवेदी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँका जिल्ला अध्यक्ष भिमराज जोशी, युवा संघका उपाध्यक्ष रामचन्द्र रेग्मीले हस्ताक्षर गरेको विज्ञप्तिमा घटना प्रति खेद प्रकट गर्दै अवउप्रान्त सीमा क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन आग्रह गरेका छन् । 
 
यसैबीच नेपाल पत्रकार महासंघ कञ्चनपुर र प्रेस सेन्टर नेपालले पनि घटनाको घोर भत्सना गर्दै घटनाको सत्यतथ्य छानबिनको माग अघि सारेको छ । 
 
पत्रकार महासंघ कञ्चनपुरले अधिल्लो दिन भारतीय सीमा सुरक्षाबलबाट पत्रकार हेमन्त न्यौपानेमाथि भएको कुटपिटको घटनालाई समेत लिएर पत्रकारमाथी भएको कुटपिटको समेत भत्र्सना गरेको छ । 
 
‘नेपाली भुमिमा निर्माण गरिन लागिएको कल्भर्ट निर्माण कार्य रोक्न आएका भारतीय सुरक्षाकर्मी सँग लड्दा लड्दै शाहदत प्राप्त गर्नुहुने पुनर्वासका गोविन्द गौतमका परिवार जनप्रति गहिरो समवेदना प्रकट गर्दै घटनामा संलग्न दोसी उपर कुटनैतिक पहलको माध्यमबाट कडा भन्दा कडा कार्वाहीको माग गर्दैछौं ।’ भनिएको छ । 
 
महासंघका अध्यक्ष अवस्थीद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा  नेपाली भूमीको रक्षा गर्न नेपाल पत्रकार महासंघ सधै अग्र मोर्चामा उभिने कुरामा विश्वस्त रहन आम नागरिक लाई आग्रह गर्दै मृतक गोविन्द गौतमलाई राष्ट्रिय सहिद घोषणा गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ । 
 
यस्तै प्रेस सेन्टर नेपालका सात नम्बर प्रदेश अध्यक्ष राम सिह ठगुन्नाद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा घटनामा ज्यान गुमाएका गौतमलाई सहिद घोषणा गरी आवश्यक क्षतीपुर्ती लिन सरकारसंग माग गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ