arrow

मोर्चाले सरकारको साथ छोड्ने समर्थन नछोड्ने !

logo
प्रकाशित २०७३ चैत १ मंगलबार
morcha-.jpg.jpeg
काठमाडौं। सातदिन भित्र आफ्ना मागहरु पूरा नगरे सरकारलाई दिएको समर्थन फिर्ता गर्ने पूर्व निर्णयबाट मधेशी मोर्चाले पछि हट्ने संकेत देखाएको छ । मोर्चाले दिएको अल्टिमेटम मंगलबार सकिँदैछ । त्यसपछि स्वतः सरकारबाट बाहिरिने जनाएको मोर्चाका नेताहरुले भने तोकिएको समयसीमा सकिँदा सरकार छाड्ने कि नछाड्ने भन्ने सवालमा फरकफरक अभिव्यक्ति दिन थालेका छन् । उनीहरुले अप्रत्यक्ष रुपमा सरकारको साथ छाड्ने तर समर्थन भने फिर्ता नलिने संकेत देखाएको हो । 
 
सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णले यस विषयमा बुधबार मोर्चाको बैठक बसी निर्णय गरिने जानकारी दिए । मोर्चाको समर्थन स्वतः फिर्ता हुने भनिएको कुरा चाहिँ कता गयो त ? भन्ने प्रश्नमा नेता कर्णले मोर्चाको बैठक नबसी सो विषयमा बोलिहाल्न सक्ने स्थिती नरहेको स्पष्ट पारे । 
 
त्यस्तै, तमलोपाका उपाध्यक्ष बृषेशचन्द्र लालले आफूले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेको र भोटै पनि हालेको भएपनि आफ्नो माग पूरा नभएसम्मको लागि भनेर आफूहरु पहिलै पनि संसद्मा सत्ता पक्षको सिटमा नबसेको स्पष्ट पारे । व्यवस्थापिका संसद्लाई कहिले यस विषयमा जानकारी दिनुहुन्छ त ? भन्ने प्रश्नमा नेता लालले आफूहरुको पूर्व निर्धारित कार्यक्रम अनुसार मंगलबारदेखि नै सरकारको समर्थन स्वतः फिर्ता भएकोले कुनै पत्र पठाईरहनु आवश्यक नरहेको स्पष्ट पारे । 
 
आफूहरु पहिलैदेखि प्रतिपक्षको सिटमा बस्दै आएको भन्दै उनले प्रधानमन्त्रीलाई मतदान गर्ने समयमा संविधान संशोधन गर्ने प्रतिवद्धता व्यक्त गरेकोले सरकारलाई भोट हालेको स्पष्ट पनि पारे । उनले पत्र दिएर समर्थन फिर्ता भएको जनाईरहनु नपर्ने दाबी पनि गरे । 
 
उता, संघीय समाजवादी फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले मोर्चाको बैठक नबसी समर्थन फिर्ताको विषयमा बोल्न सकिने अवस्था नरहेको जानकारी दिए । उनले गत साता आफूहरुले सात दिनमा माग पूरा नभए स्वतः समर्थन फिर्ता लिएको सरह हुने भन्ने प्रतिक्रिया सही भएको भएपनि औपचारिक रुपमा निर्णय नगरी सरकारको समर्थन फिर्ता नहुने प्रतिक्रिया दिए । 
 
समर्थन फिर्ता नहुनपनि सक्छ ? भन्ने प्रश्नमा नेता यादवले सरकारलाई दिईएको समर्थनको म्याद मात्रै सकिने भन्दै सरकारले माग पूरा गरेको या गर्ने प्रतिवद्धता दियो भने समर्थन फिर्ता नहुन पनि सक्ने स्पष्ट पारे ।   
 
स्रोतका अनुसार अहिले मोर्चाका नेताहरु एकदमै दबाबमा रहेका छन् । सरकारको समर्थन फिर्ता गरौं भने आफूलाई टेक्ने हाँगो र समाउने डाली समेत नहुने हो कि भन्ने चिन्ता एकातिर रहेको छ भने समर्थन फिर्ता लिने भनेर आफूले यस अघि गरेको घोषणाले गर्दा पनि उनीहरु थप दबाबमा देखिएका हुन् । 
 
गत मंगलबार नै मोर्चाका नेताहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र आफूहरुको माग पूरा नगरे स्वतः सरकारबाट समर्थन फिर्ता भएको मानिने जनाएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ