arrow

पूर्व राजदूत अन्सारीलाई जेल, मृतकका परिवारले पाउने रकममा भ्रष्टाचार

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
supreme-court-news.jpeg
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका आफन्तले पाउने राहत रकममा भ्रष्टाचार गरेको अभियोग लागेका साउदी अरबका तत्कालिन राजदूत हमिद अन्सारीलाई सर्वोच्च अदालतले सात महिना जेल सजाय सुनाएको छ ।
 
पीडितले पाउने ३ लाख ९६ हजार रुपैयाँ लिनुखानु गरेको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
 
सर्वोच्चका न्यायाधीश गोपाल पराजुली र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्सारीलाई सात महिना जेल सजायसहित तीन लाख ९६ हजार पीडितलाई क्षतिपूर्ति बापत भराउन र त्यति नै रकम जरिवाना हुने फैसला सुनाएको हो । पीडितको पक्षमा मंगलबार उक्त फैसला भएको थियो ।
 
साउदी अरबमा कामको सिलसिलामा मृत्यु भएका म्याग्दीका होमबहादुर पुनका परिवारले ‘इन्स्योरेन्स’ बापत पाउनुपर्ने ४७ हजार रियालमध्ये २७ हजार रियालको चेकमात्र पीडितलाई थमाएर अरु रबक आफैंले झिकेर बुझेको अभियोग अन्सारीविरुद्ध थियो ।
 
मृतकका आफन्तले पहिलो किस्ताबापत २७ हजार र दोस्रो किस्ताबापत २० हजार रियाल पाउनुपर्ने थियो । साउदीस्थित नेपाली दूताबासमा ट्रान्सलेटर पदमा कार्यरत अहमद वी मुसाले उक्त इन्स्योरेन्स रकम बुझेर अन्सारीलाई दिएको दाबी अख्तियारको थियो । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ