arrow

सोह्रबर्ष पछी चिकित्सक देख्दा बैतडीमा बाजागाजासहित स्वागत

logo
प्रकाशित २०७३ चैत ३ बिहिबार
baitadi.png
बैतडी । बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १६ वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि चिकित्सक जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा यसै साता हाजिर हुनुभएको हो । 
 
विसं २०५६ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक स्थायी दरबन्दी चिकित्सक आएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले बताउनुभयो । 
 
आफ्नै ठाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि आफूहरु धेरै खुसी भएको स्थानीय समाजसेवी शङ्करदत्त जोशीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि समान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने मेलौलीका केशवसिंह भाट बताउनुहुन्छ । 
 
मेलौलीमा चिकित्सक आएसँगै स्वास्थ्य बीमाको सेवासमेत सुरु हुने भएको छ । स्वास्थ्य बीमाअन्तर्गत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि उपचारका लागि सूचीकृत संस्थामा राखिएको छ । यसैबीच, डा कार्कीलाई स्थानीय बासिन्दाले बाजागाजासाथ स्वागत गरेका छन् । १६ वर्षपछि आफ्नो गाउँमा चिकित्सक पुगेपछि स्थानीय बासिन्दाले स्वतःस्फूर्तरुपमा स्वागत गरेको स्वास्थ्य सहायक दयालले बताउनुभयो । 
 
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा गुणराज अवस्थीले आफूले बैतडीमा आएदेखि नै मेलौलीमा चिकित्सकको दरबन्दी परिपूर्तिका लागि स्वास्थ्य सेवा विभागमा धाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारसँग धेरै पटक अनुरोध गरेपछि बल्ल चिकित्सक आएका छन् ।” 
 
सरकारले चालु आवको पुसदेखि बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमा गरेका नागरिकका लागि उपचार गर्न केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि सूचीमा राखिएको छ । स्वास्थ्य बीमाको सेवा गत फागुनदेखि जिल्लामा सुरु पनि भइसकेको छ । 
 
दक्षिण एसियाकै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीको जन्मभूमि मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भए पनि चिकित्सक नहुँदा त्यो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्राप्त गर्न सकेका थिएनन् । 
 
प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि सामान्य बिरामीले पनि भारतीय अस्पताल अथवा जिल्ला अस्पताल बैतडी, उपक्षेत्रीय अस्पातल डडेल्धुरा जानुपर्ने बाध्यता अन्त्य हुने मणिलेक मावि काँडा मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताउनुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ