arrow

पशुपालनमा करिब चार अर्ब लगानी

logo
प्रकाशित २०७३ चैत ६ आइतबार
cowfarm.jpeg
बाबियाचौर (म्याग्दी) । म्याग्दीका किसानले व्यावसायिक पशुपालनका लागि तीन अर्बभन्दा बढी लगानी गरेका छन् । 
 
किसानले व्यावसायिक रुपमा गाईभैँसी र भेडाबाख्रापालन गर्न  तीन अर्ब ६८ करोड ४१ लाख ६६ हजार लगानी गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभर ९२ गाईभैँसी र दुई सय ८७ वटा भेडाबाख्रा फार्म रहेका छन् । 
 
कार्यालय र सेवा केन्द्रका प्रविधिज्ञले स्थलगतरुपमा सङ्कलन गरेको विवरणअनुसार पशुधन र पूर्वाधारतर्फ उक्त लगानी भएको पशु सेवा प्रविधिज्ञ डिल्लीराम रेग्मीले जानकारी दिनुभयो । रु तीन अर्ब ४४ करोड ८६ लाख ६६ हजार पशुधन रहेका व्यावसायिक फार्म सञ्चालनका लागि पूर्वाधार तयार गर्न न्यूनतम रु २३ करोड ५५ लाख लगानी भएको हो । 
 
व्यावसायिक र व्यवस्थित बन्दै गएको म्याग्दीको पशुपालन क्षेत्रमा उद्योग–व्यवसायको तुलनामा धेरै पुँजी लगानी भएको रेग्मीले बताउनुभयो । व्यावसायिक पशुपालनको माध्यमबाट एक हजार पाँच सयजनाले रोजगारी पाएका छन् । म्याग्दीमा दूध उत्पादनका लागि दुई सय ९६ भैँसी, पाँच सय ७२ गाई तथा आठ हजार चार सय ८६ बाख्रा र १२ हजार चार सय ८० भेडा मासु उत्पादनका लागि व्यावसायिक रुपमा पालिएका छन् । जिल्लाभर व्यावसायिक बाख्रा फार्मको सङ्ख्या एक सय ५९ वटा छ । साठी वटा भेडाबाख्राको संयुक्त फार्म रहेको छ । दूध उत्पादनका लागि स्थानीय लिमे, पारकोट, उन्नत मुर्रा तथा वर्णशङ्कर जातका भैँसी पालिएको छ । किसानले स्थानीय, जर्सी र होलस्ट्यान जातका गाईपालन गरेका छन् । 
 
यसैगरी खरी, जमुनापारि, बोयर, बारबरी, सिनाललगायत बाख्रा र भ्याङ्लुङ तथा बरुवाल जातका भेडा मासु उत्पादनका लागि पालिएको छ । सदरमुकाम आसपासका क्षेत्रमा दुग्ध उत्पादनका लागि गाईभैँसी तथा ग्रामीण र लेकाली क्षेत्रमा भेडाबाख्रापालन भएको छ । बीसभन्दा बढी भेडाबाख्रा पाल्ने र पाँचभन्दा बढी गाईभैँसी पाल्ने किसानलाई व्यावसायिक मान्ने गरिएको छ । बजारको राम्रो सम्भावना, छिटो आम्दानी गर्न सकिने, परम्परागत सीपमा आधारित, घाँस तथा आहाराको आपूर्ति राम्रो, पर्याप्त वनजङ्गल र चरन क्षेत्र भएकाले म्याग्दीमा व्यावसायिक पशुपालनको राम्रो सम्भावना रहेको वरिष्ठ पशु चिकित्सक मनबहादुर पुनले बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ