arrow

रौतहटको शिविरमा अत्यधिक भीड, दर्जनबढी जिल्ला र भारतबाट विरामी

बिहीबार प्रधानसेनापति र शुक्रबार स्वास्थ्यमन्त्री पुग्दै

logo
प्रकाशित २०७३ चैत १० बिहिबार
rautahat.jpeg
गौर । रौतहटको गौरमा भइरहेको बृहत स्वास्थ्य शिविरमा दुई दिनमा २२ सय भन्दा बढीलाई निःशुल्क स्वास्थ्य परिक्षण, शल्यक्रिया र औषधी वितरण गरिएको छ । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा भएको शिविरको पहिलो दिन मंगलबार ९ सय १२ र दोस्रो दिन बुधबार १३ सय ३५ जनाले निःशुल्क स्वास्थ्य परिक्षण गरिएको नेपाली सेनाका कर्नेल दीपक अधिकारीले जानकारी दिए ।
 
उनले पहिलो दिन ९ जनाको र दोस्रो दिन २६ जनाको निःशुल्क शल्यक्रिया समेत भएको जानकारी दिए । शिविरमा पाठेघर, हाइड्रोशील, हर्निया, पत्थरी, फेस्टुला, बासिर, भगन्दर लगायत करिव एक दर्जन रोगहरुको निःशुल्क शल्यक्रिया मार्फत् उपचार पनि भईरहेको उनले बताए  ।
 
अझै ५ दिनसम्म संचालन हुने शिविरमा बिहीबार अझै धेरै विरामी उपचार गर्न आउने अनुमान गरिएको छ । सुरुमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मात्रै शिविर संचालन गर्ने भनिए पनि अत्याधिक भिड भएपछि बुधबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गरिएको र स्वास्थ्यकर्मीहरुको संख्या पनि बढाईएको कर्णेल अधिकारीले जानकारी दिए ।
 
शिविरका लागि बिहान ७ बजेअघि नै २ हजार जना भन्दा बढी लाईनमा बसेकाले त्यसपछि लाइनमा नबस्न आग्रह गरिएको थियो । शिविरमा एक दर्जन भन्दा बढी जिल्लाका बासिन्दा र केही भारतीय नागरिकहरु आएको कर्नेल अधिकारीले बताए ।
 
उहाँका अनुसार स्वास्थ्य मन्त्रालय र नेपाली सेनाका गरी ३० जना चिकित्सक सहित एक सय भन्दा बढी स्वास्थ्यकर्मीहरु शिविरका लागि खटिएका छन् । 
 
स्वास्थ्य शिविरमा मोवाइल हस्पीटल मार्फत् ५० बेड क्षमताको अस्पतालले दिने सुविधा दिइएको छ भने विभिन्न सरकारी अस्पतालका श्रोतसाधनहरुको पनि प्रयोग गरिएको छ । 
 
शिविर गौरस्थीत जिल्ला अस्पताल र नेपाली सेनाको व्यारेक मैदानमा भईरहेको छ । शिविर निरिक्षणका लागि बिहीबार नेपाली सेनाका प्रमुख राजेन्द्र क्षेत्री आउँदै छन् ।
 
शुक्रबार स्वास्थ्य मन्त्री गगनकुमार थापा आउने कार्यक्रम रहेको छ ।  
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ