arrow

प्रयासकै राजनीति, प्रधानमन्त्री भन्छन् – संविधान संशोधनको विषय टुङ्ग्याउने प्रयास भइरहेको छ

logo
प्रकाशित २०७३ चैत २० आइतबार
prachanda-aaaa.JPG.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका संविधान संशोधनलगायतका विषय गम्भीररुपले अनौपचारिक छलफलका माध्यमबाट यथाशक्य छिटो टुङ्ग्याउने प्रयास भइरहेको बताएका छन् ।  
 
नेपाल टेलिभिजनबाट शनिबार प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्री’सँग कार्यक्रममा  उनले भने – “छलफल सकारात्मक ढङ्गले अघि बढनेछ, यसमा सहमति गरेर उत्साहजनक र पर्वकै रुपमा स्थानीय तहको निर्वाचनमा जाने कोसिस भइरहेको छ ।” 
 
प्रदेशको सीमाङ्कनको विषय केन्द्रको निर्वाचनअघि सङ्घीय आयोगमार्फत हुने भएपछि मधेस, पहाड र हिमाललाई मिलाएर जाने विषयमा प्रतिपक्षको पनि सहयोग हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले संविधान सशोधनका लागि अहिले सदनमा टेबुल भएकाले अर्को विधेयकलाई पनि तोकिएको निर्वाचनलाई दायाँ बायाँ नगर्ने गरी संशोधन गर्ने कुरा भइरहेको जानकारी दिए । 
 
मधेसका जनता र कार्यकर्तामा चुनावको आकर्षण बढेको र कार्यकर्ता चुनावमा लागिसकेका बताउँदै प्रधानमन्त्री दाहालले भने – “मोर्चासँग सहमति गर्ने प्रयास भइरहेको छ, मोर्चाबाट पनि सहमतिका लागि लचकता प्रस्तुत भइरहेको छ ।” 
 
“मोर्चाले सीमाङ्कन छोडेको वा थाती राखेको भन्ने होइन, आयोग बनाएर अघि बढ्ने भन्ने भएको छ, भाषा, नागरिकता, राष्ट्रियसभासँग सम्बन्धित विषय अहिले नै संशोधन गर्ने भन्ने तथा सीमाङ्कनको विषयलाई गठन हुने सङ्घीय आयोगमार्फत हुनुपर्छ भन्ने विषयको छलफल सकारात्मक दिशातिर नै छ, जनसङ्ख्याको आधारमा स्थानीय तहको सङ्ख्या बढाउनुपर्छ भन्नेमा पनि सकारात्मक छ” – प्रधानमन्त्री दाहालले भने । 
 
नेपालको परराष्ट्र र रक्षा नीतिका सम्बन्धमा सोधिएको एक प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले नेपालको इतिहासमा राजनीतिक जसरी विकसित हुँदै आएको छ, त्यसमा सच्याउन आवश्यक छ, परराष्ट्र र रक्षाको विषयमा सबै राजनीतिक दलबीच छिमेकीलाई हेर्ने सन्तुलित र साझा धारणा हुनुपर्छ, राष्ट्रहितलाई प्राथमिकता दिँदै राष्ट्र, राष्ट्रियता र स्वाधीनतालाई सर्वोपरी राखेर काम गर्नुपर्छ भने । 
 
एक अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले भने – “आफ्नो पछिल्लो चीनको सदभावना भ्रमण पुरापुर सफल भएको छ ।” 
 
‘चीन सरकारले बोआओ फोरमको अवसर पारेर सदभावना भ्रमणका लागि निम्तो दिएको हो, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ राष्ट्रपतिसँगको भेटघाट र छलफलले दुई देशबीच रहिआएको सुमधुर सम्बन्धलाई सुदृढ तुल्याउन थप योगदान पुगेको छ’, उनले भने । 
 
भेटका अवसरमा ‘एक क्षेत्र एक मार्ग’, तातोपानी नाका, विद्युत्को अन्तरदेशीय प्रसारण लाइन, रेललाइनको विस्तारजस्ता विषयमा भएको छलफलबाट विश्वासको एउटा राम्रो वातावरण बनेको छ, वातावरण निकै उत्साहवद्र्धक र सकारात्मक नै रहेको छ – प्रधानमन्त्री दाहालले भने । 
 
काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने कामसँगै फैलिएको धुवाँधुलोलाई हटाउन युद्धस्तरमा काम गर्न मन्त्रालय र विभागलाई निर्देशन दिइसकेको पनि उनले बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ