arrow

परदेशीलाई गाउँ बोलाउँदै ‘घर फर्क’

logo
प्रकाशित २०७३ चैत २१ सोमबार
Ghar-Farka.jpeg
काठमाडौं । अनुसन्धानकर्मी डा. देवी क्षेत्री दुलालले लेखेको १५औं कृतिका रूपमा उपन्यास ‘घर फर्क’ बजारमा आएको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रममा वरिष्ठ कवि एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले उक्त कृतिको विमोचन गरे । 
 
विदेशी भूमिमा रगत–पसिना बगाउन बाध्य लाखौं नेपाली युवाप्रति लक्षित यो कृति ब्रदर बुक्स प्रकाशनले बजारमा ल्याएको हो । यो कृतिमाथि साहित्यकार तथा समालोचक प्रा. डा. गोविन्दराज भट्टराई, साहित्यकार डा. तुलसी भट्टराई र नेपाल प्रगतिशील लेखक संघका महासचिव आरएम डंगोलले टिप्पणी गरे ।
 
 समालोचक भट्टराईले विभिन्न ‘केस स्टडी’का रूपमा यो कृति रहेको टिप्पणी गर्दै पूर्व क्षेत्रबाट यस्तो कृति पहिलो पटक प्रकाशनमा आएको दाबी गरे । उपन्यासभित्रका हरेक शीर्षक एउटा ‘केस स्टडी’ रहेको उनको भनाइ थियो ।  “यस्तो सामाजिक विसंगतिको जीवन्त रूप हेर्न देवीको यो कृति एक अनमोल दस्तावेज हुनेछ । पूर्वबाट यस्तो कुनै कृति आएको थिएन”, उनले भने, “यो उनले परित्यक्त गाउँको मायाले लेखे, दिशाहीन युवाको मायाले लेखे । किनभने, देवी तिनै गाउँको मायाले गाउँमै टाँसिएर बसेका छन् ।” 
 
पूर्वकुलपति काइँलाले नेपाली जनशक्ति पलायन भइरहेको भयावह स्थितिमा यस्तो कृति लेखेकोमा उपन्यासकारको प्रशंसा गर्दै ‘घर फर्क’ पढेपछिको अवस्थाबारे समीक्षा हुनुपर्ने धारणा व्यक्त गरे । राजनीति दलहरूको अदूरदर्शिताले सामाजिक स्थिति भयावह बनेको उनको भनाइ थियो । साहित्यकार भट्टराईले गाउँ फर्कने वातावरण कहिले बन्ने भनी प्रश्न गर्दै यसमा गम्भीर छलफल हुनुपर्ने धारणा व्यक्त गरे । 
 
महासचिव डंगोलले लेखकलाई बहुआयामिक व्यक्तित्वको संज्ञा दिँदै संघीयता कार्यान्वयन भइरहेका थातथलो सम्झनुपर्ने बेला भएको बताएका थिए । लेखक दुलालले उपन्यास कोरा काल्पनिक नरहेको सुनाउँदै ५ सय २२ वटा ‘केस’ अध्ययनबाट लेखेको बताएका थिए ।, “गाउँबाट सहर जाने, सानो सहरकाहरु ठूलो सहर जाने, ठूला सहरकाहरू संसारका ठूला सहर जाने अनि गाउँका गाउँले युवाहरु विदेशमा गएर श्रम बेच्ने आजको आमप्रवृत्तिप्रति मेरो सरोकार हो”, उनले भने, “यो विषयमा आज जे भइरहेको छ यो ठीक भएन भन्ने मेरो बुझाइ हो ।”
 
 पाँचथरमा जन्मिएर इलामलाई कर्मथलो बनाएका उनी पत्रकारिता क्षेत्रमा पनि आवद्ध छन् । केही समय काठमाडौं बसेर उनी इलाम फर्किएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ