arrow

निधि र थापा को सिनियर ?

logo
बिन्दुकान्त घिमिरे,
प्रकाशित २०७३ चैत २४ बिहिबार
bimalendra-nidhi-Kamal-thapa.jpeg
काठमाडौ । उमेरको हिसावले निधि र थापा करिव करिव समकालिन हुन् । पारिवारिक पृष्ठभूमी पनि दुवैको उच्च मध्यम बर्ग नै हो । दुवै जना राजनीतिमा संलग्न हुनुको मुख्य कारण पनि पारिवारिक पृष्ठभूमी नै रहेको देखिन्छ । फरक के हो भने निधि राजनीतिक संस्कारमा हुर्किए , कमल थापा सेनाको व्यारेकमा हुर्किए । २०१६ सालमा महेन्द्रनारायण निधि प्रतिनिधिसभाको उपसभामुख थिए भने कमल थापाका बाबु क्षेत्रबहादुर नेपाली सेनाका क्याप्टेन थिए । 
 
२०१७ सालमा राजाले प्रजातन्त्र अपहरण गरेपछि निधिको परिवार प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमियो भने कमल थापाको परिवार प्रजातान्त्रिक आन्दोलन दबाउने अभियानमा सामेल भयो । विमलेन्द्र निधिको बालमस्तिस्कमा प्रजातन्त्र नै सबै थोक हो भन्ने छाप प¥यो, कमल थापाको बाल मस्तिस्कमा निरंकुशता नै सबै थोक हो भन्ने छाप प¥यो । २०१८ सालमा नेपाली कांग्रेसको नेतृत्वमा सशस्त्र आन्दोलन हुँदा निधि परिवारको खाने बस्ने ठेगान भएन तर कमल थापाका बाबु क्षेत्रबहादुर थापा आफ्नो परिवारलाई हेटौंडा स्थिति सैनिक ब्यारेकमा सुरक्षित राखेर चितावन खटिए । 
 
त्यतिबेला सेनाको मेजर भइसकेका क्षेत्रबहादुरले नेपाली कांग्रेसको आन्दोलन दवाउन ठूलो सफलता प्राप्त गरे । जगतप्रकाश जंग शाह, शमशेरबहादुर घिमिरेलगायत नेपाली कांग्रेसका ११ जना नेताहरुलाई चितवनको दियालो बंगला नजिक एक चिहान बनाउन सफल भएका मेजर क्षेत्रबहादुर बढुवा भएर कर्णेल बने । त्यही पुरस्कार बापत दरबारले कमल थापालाई राजनीतिमा स्थापित गराएको हो । 
 
निधि नेवि संघको राजनीतिमा लाग्ने क्रममा १४ वर्षको उमेरमै जेल परे । कमल थापा पञ्चायती व्यवस्था समर्थक राष्ट्रवादी विद्यार्थी मण्डलको राजनीतिमा लागेका कारण उनले दुख पाउनु परेन । निधि नेवि संघको अध्यक्ष बन्दा कमल थापा पनि पन्चायती व्यवस्था समर्थक राष्ट्रवादी विद्यार्थी मण्डलको अध्यक्ष भइसकेका थिए । त्यतिवेला नेवि संघका नेता कार्यकर्ताहरुलाई संघातिक आक्रमण गर्न स्वतन्त्र विद्यार्थी मण्डलले सेना र प्रहरीको सहयोगमा खेलेको भूमिका इतिहासको पानाबाट कहिल्यै मेटिँदैन ।
 
पञ्चायतकालमा नेवि संघको अध्यक्ष हुँदा त निधिले कमल थापा तथा मण्डले प्रवृत्ति विरुद्ध लडाँइ लडेकै थिए । यतिबेला गणतन्त्र आइसक्दा समेत त्यही पात्र तथा प्रवृत्तिको लडाइँमा निधिको समय खेर गएको छ । वर्तमान व्यवस्थालाई ध्वस्त पार्ने कमल थापाको घोषित नीति नै हो । यो प्रवृत्ति विरुद्ध सिंगो कांग्रेस लड्ने कि निधिलाई खुच्चिङ् भन्दै बस्ने ? नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता माथिको यक्ष प्रश्न हो यो ।
 
प्रोटोकलको निर्धारण
 
समान्य अवस्थामा जो पहिलो उक्त पदमा पुगिसकेको हो उसैको प्रोटोकल माथि हुन्छ अन्यथा संवन्धित व्यक्तिको दलीय आकर तथा हैसियत एवं राजनीतिक पृष्ठभूमिका आधारमा प्रोटोकलको निर्धारण हुन्छ । उदाहरणका लागि गणेशमान सिंहले मन्त्री भन्दा माथिल्लो पद कहिल्यै फेला पारेनन् तर उनको प्रोटोकल सँधै पूर्वप्रधानमन्त्रीहरु भन्दा माथि थियो । नेपाली कांग्रेस पार्टीमा पनि उनी केन्द्रीय सदस्यभन्दा माथि पुगेनन् तर पार्टी भित्र उनको प्रोटोकल वीपी कोइराला पछि दोस्रो नम्बरमा छ । पूर्व सभापतिहरु सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको प्रोटोकल गणेशमान सिंह भन्दा तल छ । 
 
यतिबेला पहिलो प्रोटोकलको उपप्रधानमन्त्री हुने हैसियत कमल थापाले कुनै पनि प्रावधान तथा प्रचलनका आधारमा राख्दैनन् । को पहिले उपप्रधानमन्त्री भयो ? भन्ने हिसावले प्रोटोकलको निर्धारण गर्ने हो भने कृष्णबहादुर महरा पहिलो नम्बरको उपप्रधानमन्त्री हुन् । कमल थापा भन्दा पहिले नै उनी उपप्रधानमन्त्री भइसकेको थिए । दलीय आकार तथा राजनीतिक पृष्ठभूमीका आधारमा प्रोटोकलको निर्धारण गर्ने हो भने विमलेन्द्र निधि पहिलो नम्वरमा आउँछन् । 
 
कमल थापाभन्दा पनि पहिले उपप्रधानमन्त्री भइसकेको महराको प्रोटोकल भन्दा निधिको प्रोटोकल यस अघि माथि नै थियो । सबैभन्दा ठूलोदल नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै सरकारमा सामेल भएका कारण निधिको प्रोटोकल महरा भन्दा माथि भएको हो । तर कमल थापाले निधि भन्दा माथिको प्रोटोकल खोज्न मिल्छ कि मिल्दैन ? भन्ने प्रश्न अहिले अहं बनेर देखा परेको छ ।
 
यो समाग्री घिमिरेको फेसबुक पेजबाट लिइएको हो



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ