arrow

संसदमा निधिको राजीनामा माग, क्याविनेटमा जान्न भन्ने गृहमन्त्री ‘नालायक’

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
nidhi-news-aa.jpeg

काठमाडौँ । उपप्रधानमन्त्रीको वरियता विवाद चुलिएकै बेला एमाले सांसद रेवतीरमण भण्डारीले गृहमन्त्री विमलेन्द्र निधीको राजीनामा मागेका छन् । सांसद भण्डारीले गृहमन्त्री निधिलाई ‘नालायक’ समेत भन्न भ्याए । सोमबार बसेको संसद बैठकमा विशेष समय लिएर बोल्दै भण्डारीले निधीलाई पदमा बसिरहन नसुहाउने बताए ।

सांसद भण्डारीले भने, ‘कार्यकारी प्रधानमन्त्री भएको क्याविनेटमा जान्न भन्ने गृहमन्त्रीलाई पदमा बस्ने अधिकार छैन । मन्त्रीले मन्त्रिपरिषद् बैठकमा जान्न भन्नु राम्रो होइन ।’ गृहमन्त्री निधिले जान्न भनेपछि आइतबार बस्ने भनेको मन्त्रिपरिषद् बैठक स्थगित भएको चर्चाकैबीच सांसद भण्डारीले यस्तो टिप्पणी गरे ।

आइजीपी नियुक्त गर्न नसक्ने सरकारले चुनावमा कस्तो सुरक्षा दिन्छ ? भन्दै उनले प्रश्न समेत गरे । सांसद भण्डारीले संसद्मा उठेका विषयलाई रिपोर्टिङ गर्न सरकारका कर्मचारी संसद्मा नदेखिएको टिप्पणी समेत गरे ।
एमाले सांसद सत्यनारायण मण्डलले सप्तरीस्थित आफ्नो घरमा संघीय समाजवादी फोरमका नेता दिनेश यादव नेतृत्वको समूहले आफ्ना परिवारका सदस्यलाई दुव्र्यवहार गरेको भन्दै कारबाही माग गरे । सांसद मण्डलले आफ्नी ६० वर्षीया आमा, श्रीमती र २१ वर्षीय वुहारीलाई घरभित्रै पसेर लछारपछार गरिएको बताए ।

उनले भने, ‘मेरो परिवारमाथि दुव्र्यवहार गर्नेहरुलाई कानुनी कारवाहीको लागि माग गर्छु ।’ मण्डलले आक्रोशित हुँदै भने, ‘हामीले पनि कानुन हातमा लिने अवस्था नआओस् ।’ एमाले सप्तरी ईञ्चार्ज सुमन प्याकुरेलको घरमा पुगेर परिवारका सदस्यलाई समेत मोर्चा कार्यकर्ताले दुव्र्यवहार सांसद मण्डलले बताए ।

एमाले सांसद केशवप्रसाद बडालले दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी क्षेत्रलाई महत्वपूर्ण सहयोगि बनाउन विश्व सहकारी आन्दोलनलाई सम्मान हुने गरी सहकारी ऐनमा परिमार्जन गर्न आवश्यक रहेको बताए ।


एमालेकै हर्कबोल राईले भूकम्प प्रभावित जिल्लामा अहिलेसम्म पुनःनिर्माणको कामले गतिलिन नसकेको गुनासो गरे । माओवादी केन्द्रका सांसद जनकराज जोशीले स्थानीय तह पुनःसंरचनासम्बन्धी प्रतिवेदन संसद्को जानकारीमा ल्याउन माग गरे । माओवादीकै सांसद श्यामकुमार श्रेष्ठ (काभ्रे)ले पनि सोही मागमा समर्थन गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी सांसद कान्ता भट्टराईले सनातन हिन्दू धर्मको मान्यता र पालना गर्न सकेमा मात्र राष्ट्रले प्रगति गर्नसक्ने बताइन् ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले सिरियामा अमेरिकाले गरेको आक्रमणको निन्दा गर्दै बलियो देशले कमजोर मुलुकलाई आक्रमण गर्ने यो शैलीले नेपाल सरकारले निन्दा गर्नुपर्ने माग गरे ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विगत तीन हप्तादेखि उपप्रधानन्त्रीबीचको मर्यादा विवाद कारण मन्त्रिपरिषद्को बैठक बस्न नसकेको सन्दर्भमा प्रश्न गर्दै यस्तो अवस्था आउनु दुर्भाग्य हो, यसले जनतामा राम्रो सन्देश जाँदैन, भने ।

नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले लोकतन्त्रमा शान्तिपूर्ण निर्वाचन हुनुपर्ने भन्दै संविधान संशोधनको प्रस्तावमाथि कहिलेबाट हुने हो भन्नेमा आफूहरुलाई स्पष्ट पारिनुपर्ने बताए ।
मधेसी सांसदले गरे वहिष्कार
मधेसी मोर्चामा आवद्ध दलका सांसदहरुले फेरि पनि बैठक वहिष्कार गरे । बैठक आरम्भ हुँदासाथ थरुहट पार्टी नेपालका गोपाल दहितले संविधान संशोधनको आफूहरुको मागबारे सरकारले नसुनेको र संसद्ले पनि बेवास्ता गरेको गुनासो गरे ।

उनीहरुले आफूहरु निर्वाचनको विरोधी नभएको तर राजनीतिक वातावरण नबनेसम्म स्थानीय निर्वाचन हुनसक्ने अवस्था नरहेको बताए ।

सांसद दहितले संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने र संसद्को बैठक पनि बहिष्कार गर्ने घोषणा गरेपछि मोर्चा निकट सांसद्हरु नाराबाजी गर्दै बाहिरिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ