arrow

एमाले बैठकमा देउवाकै चर्चा : ‘अबदेखि हाम्रोबारे हल्काफुल्का टिप्पणी नगर्नु’

logo
प्रकाशित २०७३ चैत २८ सोमबार
cpnuml-530x304.jpg.jpeg

काठमाडौं । एमालेले कैलालीको अत्तरियामा काँग्रेस सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्तिको विरोध गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा बसेको स्थायी समिति बैठकले नेपाली काँगे्रसले गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले आफ्नो पार्टी र नेतृत्वलाई लाञ्छित गर्ने ढंगले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । सत्तामा रहेको जिम्मेवार पार्टीको शीर्ष नेतृत्वबाट सामाजिक संवेदनशीलता, मुलुकको भौगोलिक एकता, अखण्डताजस्ता गम्भीर प्रश्नमा हल्काफुल्का टिप्पणीहरु आउनु राम्रो होइन, –बैठकको निर्णयमा भनिएको छ ।

यस्तै, एमालेले २०७४ वैशाख ३१ गते तोकिएकै मितिमा देशभर एकैपटक स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड दिएको छ । बैठकपछि सचिव योगेश भट्टराईले भने, ‘यो पार्टीको पूर्ववत् अडान हो । यसबाट पछि हटिदैन ।’ बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचन मितिका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्ताघटक दलका कतिपय नेताहरुबाट सार्वजनिक भएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको एमालेको भनाई छ ।

एमाले नेतृत्वसँग प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म संविधान संशोधनका विषयमा विषयगत रुपमा कुनै गम्भीर र ठोस छलफल भएको छैन, भट्टराईले भने, ‘प्रधानमन्त्री स्वयम्ले एमाले नेतृत्वसँग समेत सहमति भएको भन्ने झूठ अभिव्यक्तिहरु सार्वजनिक गरिरहनुभएको छ । हाम्रो पार्टी प्रधानमन्त्रीका उपरोक्त भनाइहरुको भ्रममा नपर्न आम जनसमुदायलाई अपिल गर्दछौं ।’

यस्तै, जनआन्दोलनको मर्म र भावनाविरुद्ध संविधानको मर्म र भावनाविपरीत स्थानीय तह र प्रदेशका अधिकारका विरुद्धको कुनै पनि प्रस्ताव साथै नेपालको सामाजिक सद्भाव र भौगोलिक एकतालाई कमजोर पार्ने कुनै पनि प्रस्तावप्रति समर्थन नरहने एमालेको  तर्क छ । सरकारले पहिले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावलाई हेरफेर गरी फेरि  पेश गर्ने तयारी गरेको छ ।

बैठकले आगामी वैैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने काम पार्टी प्रदेश संयोजकहरुले गर्ने र महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख र उपप्रमुखको उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने काम अध्यक्ष केपी ओलीले नै गर्ने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ