arrow

प्रधानमन्त्री–मधेसी मोर्चा सम्बन्धः प्रधानमन्त्री फकाउन नछोड्ने, मोर्चा अडान नछोड्ने 

logo
प्रकाशित २०७४ वैशाख १ शुक्रबार
pmprachandadahal.jpeg

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन बहिष्कारको औपचारिक घोषणा गरेका मधेसी मोर्चाका नेताहरूलाई पुनः फकाउने प्रयास थालेका छन्।

उनले बुधबार संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र बिहीबार सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई टेलिफोन संवाद गरी सहमतिमा आइदिन आग्रह गरे ।

सरकारले आफूहरूसँग गरेको सहमतिभन्दा विपरीत रहेर नयाँ संशोधन प्रस्ताव दर्ता गराएको भन्दै मोर्चाले निर्वाचन बहिष्कार गर्ने घोषणा गरेपछि प्रधानमन्त्रीले वार्ता र संवादमा बसी समस्याको समाधान खोज्न नेताहरूलाई आग्रह गरेका हुन् ।

संविधान संशोधनको नयाँ प्रस्ताव अगाडि बढाउँदा मोर्चा सहमतिमा आउने अपेक्षामा प्रधानमन्त्री थिए ।

तर, मोर्चा नेताहरूले प्रधानमन्त्रीको अपेक्षाभन्दा विपरीत चुनावमा सहभागी नहुने र बहिष्कार गर्ने निर्णय गरेपछि उनले मोर्चा नेताहरूसँग पुनः छलफलको पहल सुरु गरेका हुन् ।

त्यही क्रममा उनले यादव, महतोलगायतका मोर्चा नेताहरूसँग संवाद अगाडि बढाउन थालेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

‘तपाईंहरूसँगको सल्लाहकै आधारमा नयाँ संशोधन प्रस्ताव संसद्मा दर्ता गराएका हौँ, अहिले प्राप्त भएका उपलब्धि तपार्इं हाम्रा साझा हुन्,’ प्रधानमन्त्रीले मोर्चा नेताहरूसँग गरेको टेलिफोन संवादमा व्यक्त भनाइ उद्धृत गर्दै आचार्यले भने, ‘तपार्इंहरू आन्दोलनमा जाने, चुनावमा भाग नलिने भन्ने सुनेँ, त्यसो नगर्नुहोस्, नमिलेका विषय छन् भने अझै छलफल गरेर समस्याको समाधान खोजौँ ।’

तर, मोर्चा नेताहरूले भने प्रधानमन्त्रीको त्यस्तो आग्रहमा पुरानै अडान दोहोर्याएका थिए ।

‘सरकारले अहिले ल्याएको संशोधन प्रस्ताव हाम्रा लागि ल्याइएन, त्यसले समस्या समाधान गर्दैन,’ सद्भावना पार्टी अध्यक्ष महतोले भने ।

उनले प्रधानमन्त्रीलाई अहिले दर्ता भएको संशोधन प्रस्ताव आफूहरूसँगको सहमतिभन्दा फरक आएको भन्दै आपत्ति जनाएको बताए ।

‘यो संशोधन हाम्रा लागि ल्याइएको होइन, हामीसँग सल्लाह गरेर ल्याइएको पनि होइन । अहिलेको चुनावले समस्या समाधान पनि गर्दैन ।

पहिला समस्या समाधान गर्नुहोस् अनि चुनाव गरौँला,’ प्रधानमन्त्रीसँगको संवाद सुनाउँदै महतोले भने । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ