arrow

टीकाको साइत कात्तिक ५ को बिहान १०:५५ उत्तम

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
167959270.jpeg
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका साइत सार्वजनिक गरेको छ ।  घटस्थापनाको साइत असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । त्यसैगरी सरकारी कार्यालय र सेनाको झन्डा फेर्र्ने साइत असोज २७ गते बुधबार बिहान ११ बजेर ३५ मिनेटमा शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
 
यस वर्ष पश्चिम फर्केर झन्डा फेर्नु राम्रो हुने मानिएको छ । कात्तिक १ गते आइतबार पचली भैरबको यात्रा परेको छ । कात्तिक ३ गते मङ्गलबार फूलपातीका दिन बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत त्यसै दिन बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । फूलपाती भित्र्याउन भने साइतको आवश्यकता नपर्ने अध्यक्ष गौतमले बताए ।
 
कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ । कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ । ‘त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको छ,’ अध्यक्ष गौतमले भने ।
 
कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा रहेको छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम रहेको छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर ५५ मिनेटको साइत उत्तम भएको पनि अध्यक्ष गौतमले स्पष्ट पारे । शास्त्रीय मान्यताअनुसार सामान्य मानिसलाई टीकाप्रसाद ग्रहण गर्न साइत नचाहिने पनि उनले जानकारी दिए । 
 
विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्राका लागि कात्तिक ५ गते बिहान ११ बजेर १ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिले जनाएको छ । खड्ग यात्राको साइत कात्तिक ५ गते विजयादशमीकै दिन ११ बजेर ५५ मिनेटमा राम्रो रहेको छ । 
 
दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई कात्तिक ९ गते सोमबार समाप्त गर्नुपर्नेछ । त्यस दिन बेलुकी ८ बजेर १३ मिनेटदेखि पूर्णिमा तिथि लाग्ने र मध्यरातमा पनि पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा ९ गते नै मनाउनुपर्ने शास्त्रीय विधि रहेको समितिको ठहर छ । पूर्णिमा व्रत भने कात्तिक १० गते मङ्गलबार परेको छ । आकाशदीप दान र कात्तिक स्नान आरम्भ पनि कात्तिक १० गते मङ्गलबार नै सुरु गर्नुपर्नेछ । 
 
यस वर्ष आठ रात नौ दिनको नवरात्र परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तोे योग परेको हो । नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो । 
 
चैतको नवरात्रभन्दा ठूलो पर्वका रुपमा मनाइने भएकाले शरद ऋतुको आश्विन शुक्ल पक्षमा पर्ने दसैँलाई बडादसैँ पनि भन्ने गरिन्छ । 
 
दसैँका लागि समितिले निकालेको साइत विभिन्न व्यक्ति र संस्थाले आफूले निकाले झैँ गरी सञ्चारमाध्यममा प्रवाह गर्ने गरेकाले सरकारको आधिकारिक निकायका रुपमा रहेको समितिका माध्यमबाट भनिने साइतको मात्र जिम्मेवारी लिइने अध्यक्ष गौतमले सबैमा जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ