arrow

प्राधिकरणको २७ अर्ब खर्च, तर एउटै घर बनेन

logo
प्रकाशित २०७४ वैशाख ३ आइतबार
reconstruction-authority.jpeg.jpeg

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट भूकम्पपीडितको निजी आवास निर्माणमा झन्डै २८ अर्ब रुपैयाँ खर्च भएको छ । 

तर, गैरसरकारी संस्थामार्फत वितरित अनुदानबाट मात्र चार सय २० भूकम्पपीडितले घर निर्माण सकेर छानो लगाएका छन् ।

प्राधिकरणको २४ चैतसम्मको विवरणमा भूकम्पपीडितको निजी आवास निर्माणमा मात्रै गैरसरकारी संस्थाको सहित २७ अर्ब ७३ करोड ११ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । 

निजी आवास निर्माण कार्यविधिअनुसारको तीनै किस्ता जम्मा चार सय २० घरपरिवारले बुझेका हुन् । चालू आर्थिक वर्षमा पुनर्निर्माणका लागि एक खर्ब आठ अर्ब विनियोजन भएको छ ।

आवास निर्माणका लागि तीन किस्तामा तीन लाख रुपैयाँ दिने प्राधिकरणको कार्यविधि छ ।

घरको जगका लागि पहिलो किस्ता ५० हजार, घरको गारो लगाएपछि दोस्रो किस्ताको एक लाख ५० हजार र छाना लगाउन अन्तिम किस्ताको एक लाख रुपैयाँ दिने कार्यविधि छ ।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले तेस्रो किस्ता बुझ्ने कम भए पनि निराशालाग्दो अवस्था नरहेको दाबी गरे ।

‘अहिलेसम्म घर बनेको संख्या न्यून देखिए पनि निराश हुने स्थिति छैन । अबको तीन महिनाभित्र यो संख्या धेरै बढ्नेछ,’ भुसालले भने, ‘बर्खाअघि सबैले तेस्रो किस्ताको रकम लैजान्छन् । सबैको घर बर्खाअघि नै बनिसक्नेछ ।’

पहिलो र दोस्रो किस्ताको रकम धेरै निकासा भएकाले खर्च विवरण धेरै देखिएको प्राधिकरणले जनाएको छ । 

भूकम्प अतिप्रभावित १४ जिल्लाका ५ लाख ४२ हजार ५ सय ४५ परिवारले पहिलो किस्ता ५० हजार रुपैयाँ लगेको प्राधिकरणको विवरण छ । 

पहिलो किस्तामा २७ अर्ब १२ करोड ७२ लाख ५० हजार रुपैयाँ खर्च भएको तथ्यांक छ । 

प्राधिकरणबाट २६ अर्ब ७० करोड २६ लाख ५० हजार र गैरसरकारी संस्थाबाट ४२ करोड ४६ लाख रुपैयाँ वितरण भएको थियो ।

तर, दोस्रो किस्ता तीन हजार सात सय ४६ ले बुझेका छन् । दोस्रो किस्तामा ५६ करोड १९ लाख रुपैयाँ वितरण भएको थियो । 

यसमध्ये प्राधिकरणबाट १२ करोड ४३ लाख ५० हजार रुपैयाँ र गैरसरकारी संस्थाबाट ४३ करोड ७५ लाख ५० हजार रुपैयाँ वितरण भएको छ । 

प्राधिकरणका सह–प्रवक्ता डा भीष्मराज भुसालले दोस्रो किस्ता लिनेको संख्या न्यून किन भयो भन्नेबारे विश्लेषण भइरहेको बताए ।

प्राधिकरणका तर्फबाट तोस्रो किस्ता रकम लिने शून्य छ । ‘तेस्रो किस्ताको रकम प्राधिकरणले अहिलेसम्म पनि दिन सकेको छैन । तर, एनजिओले दिएका छन्,’ प्राधिकरणका सह–प्रवक्ता डा भुसालले भने, ‘यसको अर्थ प्राधिकरणबाट अनुदान लिएर अहिलेसम्म निजी आवास बनेका छैनन् । एनजिओबाट अनुदान लिनेहरूले मात्र आवास बनाएका छन् ।’

गैरसरकारी संस्थाले कहाँ कति घर बनाए ?
पुनर्निर्माण प्राधिकरणका अनुसार गैरसरकारी संस्थाद्वारा मकवानपुरमा २ सय ८९ घर निर्माण गरिएका छन् । 

दोलखामा एक सय ५ र नुवाकोटमा २६ घर निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

गैरसरकारी संस्थाद्वारा कति अनुदान वितरण ?
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले भूकम्पपीडित ८ हजार ४ सय ९२ घरपरिवारलाई पहिलो किस्ताको अनुदान वितरण गरेको छ । 

पहिलो किस्तामा ५० हजारका दरले ४२ करोड ४६ लाख रुपैयाँ वितरण भएको छ । गैरसरकारी संस्थाले २ हजार ९ सय १७ परिवारलाई दोस्रो किस्ता वितरण गरेको तथ्यांक छ । 

एक लाख ५० हजारका दरले वितरण गर्दा दोस्रो किस्तामा ४३ करोड ७५ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । 

तेस्रो किस्ता भने चार सय २० परिवारले लगेको र एक लाखका दरले चार करोड २० लाख रुपैयाँ वितरण भएको छ ।

अहिलेसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट निजी आवास निर्माणमा ९० करोड ४१ लाख ५० हजार रुपैयाँ अनुदान वितरण भएको छ ।

प्राधिकरणको २७ अर्ब खर्च तर, एउटै घर बनेन

प्राधिकरणले ५ लाख ३४ हजार ५३ भूकम्पपीडित परिवारलाई पहिलो किस्तामा ५० हजारका दरले २६ अर्ब ७० करोड २६ लाख ५० हजार आवास निर्माणको अनुदान वितरण गरेको छ ।

दोस्रो किस्तामा ८२९ घरपरिवारलाई एक लाख ५० हजारका दरले १२ करोड ४३ लाख ५० हजार खर्च भएको छ । 

तेस्रो किस्ता भने प्राधिकरणले अहिलेसम्म वितरण गरेको छैन । अहिलेसम्म २६ अर्ब ८२ करोड ७० लाख प्राधिकरणले निजी आवास निर्माणका लागि खर्च गरेको छ । 

तर, तेस्रो किस्ता वितरण नभएकाले प्राधिकरणको कार्यविधिअनुसार कसैको पनि घर निर्माण पूरा भएको छैन ।(नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ